Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘विषयको गहिरो अध्ययन र जानकारीविना कर्मचारी हिरासतमा लिनु दुःखद्’

‘विषयको गहिरो अध्ययन र जानकारीविना कर्मचारी हिरासतमा लिनु दुःखद्’


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले ‘विषयको गहिरो अध्ययन र जानकारीविना कर्मचारी हिरासतमा लिनु अत्यन्त दुःखद् भएको बताएको छ । परिसंघले केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कर्जा प्रवाहमा भएको अनियमितताको आशंकामा केही बैंकका कर्मचारीहरूलाई पक्राउ गरेपछि परिसंघले विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

परिसंघले विज्ञप्तिमार्फत भनेको छ, केही दिनदेखि कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेसाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको कार्यप्रति यस परिसंघ गम्भीर आपत्ति प्रकट गर्दछ,’ परिसंघले भनेको छ ।

बैंकका गतिविधिहरू नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ । बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ र हुँदै आएको पनि छ । व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितो सम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।

तर धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् । यस्ता कार्यले देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेको सन्दर्भमा आफ्नो मातृभूमिप्रति समर्पित हुँदै आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको बैंकिङ क्षेत्रको स्तरोन्नतिसहित समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पु-याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौं,’ परिसंघले भनेको छ ।

No description available.

नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरूकै तुलनामा सबल र सक्षम छन्, यो नेपालका बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरूले नै प्रमाणित गरेका छन् । यसो हुनुमा यस क्षेत्रमा कार्यरत काबिल कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेको छ । बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु न्यायसंगत हुँदैन । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, विनाधितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तर्राष्ट्रिय समुदायको बीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ, परिसंघले भनेको छ ।

तसर्थ, कर्जा प्रवाहजस्तो नियमितरूपमा गरिने कार्यको अन्तिम टुङ्गो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्नेजस्ता कार्य नगर्न सिबिफिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ परिसंघले विज्ञप्तिमार्फत भनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया