Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथपिए २ सय १ संक्रमित, २३ सय जनामा कोरोना पुष्टि, ७६ वर्षीय वृद्धको मृत्यु

थपिए २ सय १ संक्रमित, २३ सय जनामा कोरोना पुष्टि, ७६ वर्षीय वृद्धको मृत्यु


काठमाडौं, जेठ २२
देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ७९ पुरुष र २२ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई हजार ३ सय पुगेको छ । यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार निधन भएको मन्त्रालयले जनाएको छ । उनी यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएको र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो ।

साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात् कोरोना संक्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ९ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै बुधबार मात्रै १२ जना संक्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पीसीआर विधिबाट चार हजार ९ सय २४ र आरडीटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए । हाल मुलुकभर एक लाख ५५ हजार ८ सय ६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना संक्रमण फैलिएकोे छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमित २ सय ७८ : यसैबीच, कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय ७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको बुधबार मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ संक्रमित पहिचान भएका हुन् ।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश/अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक संक्रमितको मृत्यु भइसकेको छ ।

जुम्लामा दुई सुरक्षाकर्मी र सुर्खेतमा स्थानीय विद्यार्थीलाई समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा संक्रमण फैलिन पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा अन्य सम्भावित संक्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

छ वर्षकी बालिकाले जितिन् कोरोना : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका बुधबार घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।

यही जेठ १२ र १७ गते दुई पटक पीसीआर गर्दा नकारात्मक परिणाम आएपछि गत सोमबार निजको शल्यक्रिया गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम खड्गाले बताए । शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्यलाभ भएकाले निजलाई बुधबार नै घर पठाइएको जानकारी उनले दिए ।

आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका : कोरोना संक्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ । मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड –१९ केसको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो । निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्यावस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्नेसम्बन्धी बुँदा समावेश गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड –१९ रोकथाम योजनाबमोजिम संक्रमितको संख्या दुई हजार नाघेर दोस्रो चरणमा प्रवेश गरेका अवस्थामा जनस्वास्थ्य विपद् अवस्था घोषणाको तयारी भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयले कोरोनाबाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x