Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजैविक विविधतामा कोरोनाको कहर

जैविक विविधतामा कोरोनाको कहर


विश्वनाथ खरेल
संसारभर फैलिएको कोरोना संक्रमणको महामारीले अर्थतन्त्रका अलावा जैविक विविधताका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र सन् २०२० मा ३ प्रतिशतले संकुच हुने आंकलन गरेको छ भने नेपालको आर्थिक वृद्धि दर २ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । मुलुकमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

भूपरिवेष्ठित देशका मान्छे समुद्र देख्दा रमाउदछन् अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाउदछन् । त्यसैगरी गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथजस्ता स्थल पवित्र भू–स्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मान्छेभित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरुभूमिमा बसोबास गर्ने मान्छे हिमाल हेर्न नेपाल आउँदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विविधता, प्रकृति, वनस्पती, जनावर, चराहरू आदी हेर्न नेपाल आउँछन् । तसर्थ नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरू आउँदैन थिए पनि होला । त्यस अर्थमा पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ । यसरी पर्यटकीय रूपमा अत्यन्त सम्भावना भएको हाम्रो देश विश्वमै २५औं स्थानमा छ । यहाँ छोटो दूरीमा धेरै भौगोलिक संरचना, भिन्न–भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड, तराई र हिमाली क्षेत्रमा उत्तर दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक विविधतामा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ ।

नेपालमा समुद्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाइ आठ हजार आठ सय ४८ मिटरको सगरमाथा छ । नेपालमा दुई सय सात प्रजातिका स्तनधारी, आठ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, एक सय प्रजातिका सरिसृप र एक सय ८५ प्रजातिका माछा, छ सय ५३ जातका पुतली, तीन हजार नौ सय ६६ भन्दा बढी रातिउडने पुतली, पाँच हजार बढी कीरा, दुई सय प्रजातिका माकुरा र छ हजारबढी फूल फूल्ने वनस्पति, चार सय ७१ प्रजातिका झ्याउ, एक हजार आठ सय २२ प्रजातिका ढुसी र तीन सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नै ३० वटाभन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका तीन सय ६३ भन्दा बढी प्रजाति छन् ।

सम्पूर्ण युरोपको भू–भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये दुई सय प्रजातिको खेती गरिन्छ नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । नेपालमा ६० हजार पाँच सय ६१ हेक्टर जमीन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ ।

पृथ्वीको अस्तित्व जोगाउनका लागि वनस्पति संरक्षण गर्नु अनिवार्य छ । वनस्पति मात्र यस्ता सजीव हुन् जसले सौर्य ऊर्जालाई रासायनिक ऊर्जामा रूपान्तरण गरेका हुन्छन् । यो प्रकाश संश्लेषण प्रक्रिया हो । यदि, वनस्पति नहुँदा हुन् त सौर्य ऊर्जा पारिस्थितिक प्रणालीमा खाद्य सञ्जालको रूपमा जान सक्दैनथ्यो । यसर्थ नीतिगत तथा कानुनी हिसाबले नेपाल सरकारले राष्ट्रिय वन नीति २०७५, राष्ट्रि यवातावरण नीति २०७६ र राष्ट्रियजलवायु परिवर्तन नीति २०७६ कार्यान्वयनमा ल्याएको छ । यसैगरी, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७३, वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ पनि कार्यान्वयनमा आइसकेको छ । १५औं योजनाको आधारपत्र (२०७६/७७–२०८०/८१) मावन तथा जैविक विविधताको संरक्षण, पुनःस्थापना र दिगो उपयोग गरिने उल्लेख गरिएको छ ।

नेपाल सरकारले स्वीकृत गरेको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) को कार्यान्वयनको समीक्षासहित जैविक विविधतासम्बन्धी छैटौं राष्ट्रिय प्रतिवेदन जैविक विविधता महासन्धिको सचिवालयमा पेस गरिएको छ । यसरी जन्मदेखि मृत्युसम्म विभिन्न मानव संस्कारमा वनस्पतिका विविध भाग जस्तैः फूल, फल, बीउ, बोक्रा, काठ, जरा आदि प्रयोग हुँदै आएको छ  । यसर्थ वनस्पतिले नै यस धर्तीमा जीवित वातावरणको सिर्जना गरिरहेका छन् । वनस्पतिको विनाशको कारण मौसम परिवर्तन, हरित गृह ग्यास उत्सर्जन, विश्व तापमान वृद्धि र जलवायु परिवर्तनलगायतका असर पर्दछन्  । आर्थिक विकास र वातावरणको अन्योन्याश्रित सम्बन्धबाट नै दिगो वातावरण कायम गर्न सकिन्छ ।

दिगो वातावरण सँगसँगै दिगो विकास अगाडि बढ्न सक्दछ । यसको ठोस कार्यान्वयन हुनु अनिवार्य छ । होइन भने विकासका नाममा धेरै विनाश हुन सक्दछ । त्यसैले, वातावरणमैत्री विकासका गतिविधिहरू मात्र सञ्चालन गरिनुपर्दछ । जैविक प्रविधि नीति, २०६३ ले जैविक प्रविधिलाई देश विकास र वातावरणीय संरक्षण एवं जनकल्याणको सशक्त आधारको रूपमा प्रतिस्थापन गरी गरिबी निवारणमा योगदान दिने लक्ष्य लिएको छ । नीतिले बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार, जैविक सुरक्षा, जैविक निगरानी तथा जैविक नैतिकता जस्ता विषयहरूलाई पनि सुनिश्चितता प्रदान गर्ने उल्लेख गरेको छ ।

समग्रमा भन्नुपर्दा जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वको २५औं र एसियाको ११औं स्थानमा पर्ने अध्ययनले देखाएको छ । मूलतः विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि दर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत रहने अनुमान गरेको छ । कोरोना महामारीका कारण जैविक विविधताको क्षेत्रमा पर्न सक्ने असर केलाउने हो भने काष्ठ तथा गैरकाष्ठ वन पैदावारको उत्पादन घट्ने, बन्दाबन्दीको अवधि मावन, वन्यजन्तुको संरक्षणमा चुनौती थप हुन सक्ने, वन संरक्षण व्यवस्थापनमा वन समूहको गतिविधि र परिचालन न्यून हुने, पर्यापर्यटनमा कमी हुने, रोजगारीमा कमी आउने आदि देखिन्छ । यसैको कारणले गर्दा अहिले विश्वभरि कोरोना भाइरसले तहस नहस स्थिति उत्पन्न गराएको छ । यसको संरक्षणमा युवालाई परिचालन गरी संरक्षण संस्कार वृद्धि गर्न सके जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण कदम हुनेछ ।

देश जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ । अतः देशमा एक सय १८ प्रकारका पारस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय पाइन्छ । देशको कुल भूभागको ४४ दबमलव ७४ प्रतिशत क्षेत्र वन तथा झाडी बुट्यानले ढाकेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x