मार्चमा होइन, असार पन्ध्रलाई महिला मुक्ति दिवसको रूपमा मनाउनुपर्छ
काठमाडौं । एक शताब्दीसम्म नेपालीले विद्यालयको कस्तो हुन्छ देख्न पनि पाएनन् । यो शताब्दी भनेको राणा शासन हो । केही सीमित राणाका र उनका आसपासका मान्छेहरूले पढ्न पाएका हुन्थे । केही सीमित पण्डित खलकहरूले बनारसमा गएर चण्डी आदि पढ्थे । कतिले गाउँमा नै सीमित मान्छेहरूमा अक्षरहरूसम्म सिक्न पाएका हुन्थे । त्यो पनि सीमित खानदानी वर्गका मान्छेहरूले मात्र हिउँदे धुले सिकाइमा गाउँका पण्डित आदिबाट । पुरुषहरूको यो अवस्था थियो भने महिलाको झन् के हालत थियो भन्ने सोझै अनुमान गर्न सकिन्छ ।
किनभने छोरीहरूले पढ्नु हुँदैन भन्ने मान्यता व्याप्त थियो त्यसबेला सत्ता र जनतामा । छोरीहरूले सानैमा बिहे गर्ने उमेर मिलेको होस् कि नहोस्, देखेको होस् कि नहोस्, सौता होस् कि नहोस्, सामाजिक आर्थिक हैसियत मिलेको होस् कि नहोस्, बाबुआमाले कन्यादान दिएर अन्माइदिए पुग्यो । जसरी हुन्छ छोरीले घर खाए भयो भोकै खाओस् कि रुँदै खाओस् माइतीको इज्जत नफालोस्, घरको इज्जत नफाले पुग्यो । अझ डरलाग्दो अवस्था त के थियो भने कलिली बालिका किशोरी उमेर छिप्पिएको विवाहित वा विदुरसँग अनमेल विवाह गरिदिएका हुन्थे । बुढो लोग्नेका छिटो मृत्यु भएपछि बाल विदुवाहरूले सानासाना छोराछोरी छोडेर आगो दन्किएको पतिको चितामाथि जिउँदै जलेर मर्नुपर्न हृदय विरादक सतीप्रथाजस्तो कुप्रथा पनि थियो धर्म र परम्परको नाममा ।
जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ, भनिन्छ । यस्तो घेरा राणा शासनमा पनि थियो देखियो । अर्थात् नराम्रोमा पनि राम्रो भेटियो । राणाहरूका धेरै नराम्रा कामहरूमा केही राम्रा कामहरू पनि भेटिन्छन् । राणा शासन स्थापना गर्ने जङ्गबहादुरले सुगौली सन्धिबाट गुमेको भूभागमध्येबाट पश्चिम तराईको बाँके, बर्दिया र कञ्चनपुर जिल्ला पुनः नेपालमा फिर्ता आउनु त्यो ऐतिहासिक महत्वको काम थियो । त्यस्तै, जङ्गबहादुरले नेपालको तराईको सिमानामा पिलर राखेर नेपालको सिमानालाई व्यवस्थित गरेको पनि नेपालको हितको ऐतिहासिक महत्वको काम थियो । जसलाई जङ्गे पिलर भनिन्छ ।
त्यस्तै, राणा शासनले गरेको अर्को महत्वको ऐतिहासिक काम थियो माथि उल्लेख गरिएको हृदय विरादक सती प्रथाको अन्त्य गर्नु । यसको जस राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई दिनुपर्छ । चन्द्र शमशेरले सतीप्रथा अन्त्य गरेका थिएनन् भने भन्न सकिन्नँ कति लामो समयसम्म महिलाहरू पतिको लाससँगै कहिलेसम्म जिउँदै जलिरहेका हुन्थे । चन्द्र शमशेरलाई मानवता विरोधी अझ महिला विरोधी बालबच्चा विरोधी यस्तो कुप्रथा अन्त्य गरेकोमा इतिहासले धन्यवाद दिनैपर्छ । कुनै नराम्रो शासन भनेर त्यो शासनमा भएका राम्रा कामको प्रशंसा गर्न कन्जुस्याँइ गर्नुहुँदैन । आज यही सतीप्रथाको अन्त्यलाई दिनुपर्ने महत्व नेपाली समाज र खास गरी नेपाली महिलाले समेत नदिनु आफैँमा आश्चर्य हो ।
सती प्रथा कहिलेदेखि प्रचलनमा आयो भन्ने कुनै ऐतिहासिक तिथिमिति छैन । ऋग्वेदमा सती प्रथालाई आत्महत्या भनेर निन्दा गरेको पाइएको छ । यस हिसाबले हेर्दा वैदिक कालमा पनि सती प्रथा रहेछ भन्ने बुझिन्छ । सती प्रथा बढी हिन्दु समाजमा प्रचलित भएको पाइएको छ । सती प्रथा बढी राजपरिवार तथा राजनीति परिवार वा खानदानी परिवारमा भएको देखिन्छ ।
सती प्रथा अनिवार्य थिएन भन्ने बुझिन्छ । सती नजादा पनि हुने गरिएको पनि पाइन्छ । लिच्छवि कालका नामी राजा मानदेवले आफ्ना बुबाको मृत्युमा सती जान तयार भएकी आफ्नी आमालाई सती जानबाट रोकेका थिए भनेर इतिहासमा पाइन्छ । यसबाट जाहेर हुन्छ कि सती नजान पनि सकिन्छ यो अनिवार्य थिएन । तर सती नजानेलाई समाजले अधर्मी पापी भनेर लाञ्छित गर्ने भएकाले धेरै सती जान बाध्य पारिएका हुन्थे । कट्टर धार्मिक समाजको मानसिकता नै त्यस्तो थियो । हेर्दाभन्दा सती प्रथालाई धार्मिक भनिए पनि वास्तवमा यो धार्मिक प्रथा नभएर पापी प्रथा नै थियो । कहिलेकाहीँ समाज पापलाई पनि धर्म भनेर भ्रममा हिँड्दो रहेछ भन्ने यसलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
नेपालमा मल्ल राजाहरूको पालामा सती प्रथाले विकाराल रूप लिएको देखिन्छ । अहिलेका मान्छेहरूलाई फेसबुक टिकटक युट्युबजस्ता सामाजिक सञ्जालको नसा लागेजस्तै त्यसबेलाका राजा महाराजाहरूलाई रानी बटुल्ने नसा चढेको हुँदो रहेछ । उनीहरूले धेरै रानीहरू बटुल्ने कामलाई गौरव र बहादुरी ठान्थे । विवाहित नै धेरै रानी चाहिने । त्यसपछि अनेक ल्याएका हुने । विवाहितलाई विवाहिते र विवाह नगरी ल्याएकालाई ल्याइते आदि भन्थे । यिनीहरू सार्वजनिक भएका होलान् । सार्वजनिक नभएकाहरूलाई भित्रेनी भन्ने चलन रहेछ । यस किसिमले धेरे रानीहरू हुन्थे । अनि राजा मर्दा यी सबै रानीहरूले सती जानुपर्ने । मल्लकालमा कुनै राजाका त एकतीस जना रानीहरू सती गएको इतिहासमा पढिएको थियो । हरेक रानीका एक दुईजना सुसारे र राजाका सुसारे समेतले सती जाँदा त एकैपटक महिलाको हुल नै सती जानुपर्ने हृदय विदारक अवस्था देखिन्छ । मल्लकालमा पनि कतिपय रानीहरूलाई भने सती जानबाट रोकेको पनि पाइएको छ ।
मल्लकालपछि शाहकालमा पनि सती जाने प्रथा यथावत् भएको पाइन्छ । पृथ्वीनारायण शाहको मृत्युमा पनि उनका रानी तथा सुसारेहरू सती गएको पाइन्छ । बरु उनका जेठा छोरा प्रतापसिंहको मृत्युपछि उनकी रानी राजेन्द्रलक्ष्मीलाई छोरा रणबहादुर दुई वर्षका बालकलाई छोडेर सती जानबाट देवर बहादुर शाहले रोकोको पाइन्छ । राजेन्द्रलक्ष्मीले छोराको नायबी भएर शासन पनि गरिन् । त्यसबेला नेपाल एकीकरण जोगाउने र केही बढाउने काम समेत उनले गरिन् ।
पछि सती प्रथालाई राजखानदानमा राजनीति दउपेजमा समेत हेर्न थालियो । कुन रानीलाई सती पठाउँदा राजनीति फाइदा र कुनलाई नपठाउँदा बेफाइदा हेरेर पनि राजनीति हिसाब किताब गरेर सती पठाउने र बचाउने काम समेत भएको पाइएको छ । भारदार वा शक्तिमा बसेकाले यसो गरेका छन् । भिमसेन थापाले पनि यो काम गरेको पाइन्छ । आपूmलाई कमजोर पार्न सक्ने रानीहरूलाई उनले सती पठाएका छन् भने आफ्नो शक्ति बढाउन साथ दिने रानीलाई सती जानबाट रोकेर सतीमा राजनीति गरेका छन् ।
राणा शासनको उदय भएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले सती प्रथालाई अलिक लचिलो बनाउने कानुन बनाएको पाइन्छ मुलुकी ऐनमार्फत् । यो ऐन १९१० सालमा जारी भएको थियो । जसमा कसले सती जान मिल्ने कसले जान नमिल्ने भनेर उल्लेख गरेको पाइन्छ ।
छिमेकी भारतमा पनि सती प्रथाले व्यापकरूप लिएको थियो । धर्म, परम्परा र सामाजिक मान्यतासँग जोडिएको अन्धविश्वास सजिलै अन्त्य हुन सक्ने थिएन । यो कुप्रथालाई कानुन बनाएर अँग्रेजले पनि रोकिसकेको थियो । यसबाट पाठ सिकेर पनि हुन सक्छ आफैँले महसुस गरेर पनि हुन सक्छ प्रधानमन्त्री चन्द्र शमशेरले सती प्रथालाई नेपालबाट सदाको लागि अन्त्य गर्ने कानुन बनाएर कडा हुकुम जारी गरे ।
प्रधानमन्त्री चन्द्र शमशेरले १९७७ साल असार १५ गते नेपालबाट सती प्रथाको अन्त्य गरको अर्थात् सती प्रथालाई सदाको लागि प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् । यो घोषणाले धेरै किशोरकिशोरी युवतीहरूको विधुवाहरूको जीवन बाँचेको छ । वास्तवमा यो महिलाहरूको लागि ठूलै मुक्तिको दिवस हो र हुनुपर्ने हो । नेपाली महिलाहरूले असार १५ गतेलाई ठूलै महिला मुक्ति दिवसको रूपमा मनाउनुपर्ने थियो । हृदय विरादक अकालको अन्यायपूर्ण अस्वाभाविक र कहालीलाग्दो मृत्युबाट महिलाहरूले मुक्ति पाएको दिनलाई नेपाली महिलाले वास्तवमै धुमधामको साथ महिला मुक्ति दिवसको रूपमा मनाउनुपर्ने थियो । विडम्बना अहिले धेरै नेपाली महिलाहरूलाई सती प्रथा अन्त्य भएको मिति र साल समेत थाहा छैन । नेपाली महिलाहरूलाई मार्च ८ थाहा छ तर असार १५ थाहा छैन । असार १५ हिलोमा लतपतिन मात्रै थाहा छ । तर जिउँदै जल्नबाट जोगिएको दिन थाहा छैन । फागुन २५ गते अर्थात् मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने नेपाली महिलाहरूले असार १५गते राष्ट्रिय महिला मुक्ति दिवसको रूपमा मनाउनुपर्छ ।
हामी सबै नेपाली महिलाहरूले असार १५ मा दही च्युरामा रमाउँदै धान दिवस भन्दै सत् िप्रथाबाट नेपाली महिलाहरूले मुक्ति पाएको दिन भनेर महिला मुक्ति दिवसको रूपमा पनि मनाउनुपर्छ । अकालबाट मुक्ति पाउनु वास्तवमै ठूलै मुक्ति होइन र ? असार १५मा सती प्रथाबाट मुक्ति पाएको खुशियालीमा दहीच्युरा खाँदै धान रोप्दै धान दिवससँगै महिला मुक्ति दिवस पनि मनाउँदा के बिग्रन्छ ? यो दिन बिदा त नमागौँ तर विशेष दिनको रूपमा मनाऔँ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया