रक्सी र सुर्तीले तहसनहस हुँदै नेपाली घरबार
काठमाडौं । हाम्रो नेपालमा अत्यधिक रुचाइने वस्तु हो, मादक पदार्थ रक्सी । चाहे त्यो विदेशबाट आयातीत ब्राण्डेड रम, जिन, ह्विस्की होस् वा घरेलु मदिरा मदिरा वा ठर्रा । सदियौँदेखि विशेष पर्वमा केही क्षण रमाइलोका लागि प्रयोग हुँदै आएको मान्न सकिन्छ । तर जथाभावी मदिराको सेवन गरेर घरबार नै तहसतहस पार्नेको पनि कमी छैन यहाँ । थोरै पिएमा औषधी र धेरै पिएमा विष पनि भनिन्छ मदिरा, कुनै–कुनै झोल औषधीहरूमा अल्कोहलको मात्रा मिसाइएको पनि हुन्छ । मदिरा तथा सुर्तीजन्य पदार्थको लतमा फसेपछि मान्छेले त्यसलाई हतपत्त छोड्न सक्दैन । दिनमा घरिघरि रक्सी पिउनेलाई ‘चौबीसघण्टे’ उपनाम पनि दिइएको हुन्छ । त्यस्तै घरिघरि चुरोट पिउनेलाई अंग्रेजीमा ‘चेन स्मोकर’ भनिन्छ । घरिघरि खैनी वा गुट्खाको फाँको मार्नेलाई चाहिँ के भनिन्छ थाहा छैन । यो असभ्य तथा नराम्रो बानी भएकाहरू नेपालमा धेरै भेटिन्छन् । रक्सी धोकेर घरमा आई श्रीमती कुट्नेहरूको पनि कमी छैन हाम्रो देशमा ।
गाउँघर होस् वा सहर रक्सीको मातमा खुट्टा लर्खराउँदै बाटोमा हिँडेको र कोहीकोही बाटोको किनारमै ढलेको अवस्था धेरैले देखेको हुनुपर्छ । न्यून आय भएकाहरूले पनि रक्सी, चुरोट तथा खैनीका लागि दैनिक धन नाश गरेको पाइन्छ । धन मात्र होइन कि ज्यान समेत जाने गरी यस्ता कुलतमा फसेको सामान्यरूपमा हेरिने गरेको छ । सरकारले भन्सार, अन्तःशुल्क तथा अन्य कर यस्तै हानिकारक वस्तुहरूबाट निकै उठाउने गरेको छ । चुरोटको बट्टामा देखिने फोक्सो सडेको फोटोको खिल्ली उडाउँदै चुरोटको धुवाँ उडाइरहेका छन्, सुर्ती चपाइरहेका छन् युवाहरूदेखि वृद्धवृद्धासम्मकाले । सार्वजनिक स्थलमा धुम्रपान र मद्यपान नगर्ने गरी सरकारले लगाएको बन्देजको खिल्ली उडाउँदै अम्मलीहरूले बाटोमै मद्यपान र धुम्रपान गरेको दृश्यहरू देख्न पाइन्छ ।
पहिलेपहिले पुरुषहरू मात्र यस्तो कुलतमा फसेका हुन्थे भने हालका दिनहरूमा महिला पनि त्यस्ता कुलतहरूमा अग्रसर भएको पाइन्छ । बरु नाङ्गो खुट्टा हिँड्न तयार हुन्छन् तर रक्सी तथा सुर्तीजन्य पदार्थ आवश्यक ठान्ने गरिन्छ । सहर बजारका बाटोहरूको छेउछाउमा दृष्टि लगायो भने यथेस्ट मात्रामा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरू यत्रतत्र छरिएको देख्न सकिन्छ, जुन सहर बजारको लागि अशोभनीय ठानिन्छ । ढलहरूका मुखमा पनि यस्तै खोस्टाहरूले बुजिएको हुन्छ । जसले गर्दा वर्षायाममा ढलहरू फुटेर सहरका बाटाहरू जलमग्न हुने र त्यसै दुर्गन्धित पानीमा जुत्तासहितका खुट्टा डुबाउँदै वारपार गर्नुपर्ने सामान्य कुरा भइसकेको छ ।
अशिक्षितहरू मात्र होइन शिक्षितहरू पनि मदिरा तथा सुर्तीजन्य पदार्थका पारखी हुन्छन् । धनीमानीलाई त खासै फरक नपर्ला तर कुलतमा फसेका सर्वसाधारणको घरपरिवारको भने बिचल्ली हुने गरेको छ । आफ्ना बालबालिकालाई पोषणको आवश्यक छ भन्नेतिर ध्यान नै नदिई अभिभावक नै मदिरा तथा सुर्तीजन्य पदार्थ सेवनका लागि मरिमेट्ने गरेको देख्न सकिन्छ । यो विकराल समस्या गाउँमा नभएर सहरमा पनि व्याप्त छ । कुलतमा पर्नाले धनको नाश मात्र होइन ज्यानको नाश त हुन्छ हुन्छ बालबच्चाको मनोविज्ञानमा समेत नकारात्मक असर पर्न जान्छ । जसले गर्दा उनीहरूको पढाइलेखाइमा गम्भीर प्रभाव पर्न जाने निश्चित नै छ । घरमा खान नपुग्ने अनाजलाई रक्सी बनाउन चाहिँ पुग्छ, यो अत्यन्त गम्भीर विषय हो । छोराछोरीको लुगा फाटेको र श्रीमती रोगले ग्रसित हुँदाहुँदै त्यतातिर ध्यान नदिएर श्रीमान् रक्सी अनि सुर्तीजन्य पदार्थ नगद नभए उधारोमा भए पनि किनेर सेवन गर्नमै उद्यत देखिन्छन् । यो पक्कै पनि चेतनाको अभावकै कारणले हो भन्न सकिन्छ ।
जिल्लास्थित सानाखाले बजारतिर गएर हेर्ने हो भने बाटोको छेउछाउ र खोल्साखाल्सी अनि पाखाहरूमा रक्सीका बोत्तल यत्रतत्र फालेको देख्न सकिन्छ । टुटेफुटेका बोतलका टुक्राहरू पनि जहाँत्यहीँ देखिन्छ, जो पैदल यात्रुहरूका लागि जोखिमयुक्त ठानिन्छ । सुर्तीजन्य पदार्थका कारण देखिने असभ्यताका त कुरै छोडौँ एउटा हातमा छिनिएको चप्पल अर्को हातमा रक्सीको बोत्तल उचालेर लर्खराउँदै हिँड्नेहरू पनि देख्न सकिन्छ हाम्रो देशका गाउँ तथा बजारमा ।
हाल एउटा भिडियोले सामाजिक सञ्जालमा ब्यापकता पाएको छ । एक युवतीले पलाक्दै गर्छिन्–
(भारतीय मुद्रामा)
बदाम किलोको ९०० गुट्खा किलोको ५०००
काजु किलोको ८०० सिगरेट किलोको ४०००
घिउ किलोको ८०० सुर्ती किलोको २०००
स्याउ किलोको १०० सुपारी किलोको ६००
दूध लिटरको ५० मदिरा लिटरको ७००
यहाँ उल्लिखित वस्तु तथा मूल्यमा मात्र होइन कि आफ्नो स्वास्थ्यप्रति पनि विशेष ध्यान दिनु जरुरी छ । हानिकारकभन्दा स्वास्थ्यवर्द्धक वस्तुहरू निकै सस्तो छ भन्ने कुरा यसबाट प्रष्ट छ। अब हामिले स्वास्थ्य विगार्ने कि सपार्ने भन्नेतिर मनन गर्नु नै विवेकी कुरा हुन आउँछ। जसले रोग निम्त्याउँछ त्यतातिर जोड दिने र रोग प्रतिरोधात्मक खाद्यवस्तुतिर जोड नदिने हो भने अवश्य पनि क्षतिबाहेक अरू केही हुँदैन ।
कुनै–कुनै जातिविशेषको चाडपर्वमा मदिरा नभै हुँदैन, संस्कृति र परम्पराले त्यो मागेकै हुन्छ । कहिलेकाहीँ रमाइलोका लागि ठीक्क मात्रामा मदिरापान गर्नु सामान्य मानिन्छ । तर जीउज्यान नै जोखिममा पारेर धेरै मदिरा पिउनु र असभ्यता प्रदर्शन गर्नुचाहिँ पक्कै पनि राम्रो काम होइन । त्यसैले पहिले आफू कसरी सभ्य बन्ने, समाजलाई कसरी सभ्य बनाउने र समग्रमा देशलाई विदेशीहरूका सामु कसरी सभ्य देखाउने भन्नेतिर लाग्नुपर्ने देखिन्छ । हाम्रो देशमा आउने पर्यटकहरूको नजरमा पनि गिर्नु राम्रो होइन । त्यसैले आफ्नो र समज अनि देश इज्जत बचाउनुपर्छ ।
पहिले–पहिले जिल्लाका सदरमुकामहरूमा हाकिमहरू हरेक शुक्रबार जम्मा हुने, भाले काट्ने अनि स्थानीयस्तरमा उत्पादिन जौँ, कोदो, चामल, मकै, गहुँ आदिको रक्सी किनेर वा उपहार स्वीकारेर पिउने र रमाइलो गर्ने चलन थियो । त्यो चलन अहिले हराएको छ । किनकि सदरमुकामहरूमा अहिले रेस्टुरेन्ट, मदिरालय अर्थात् ठेट शब्दमा भट्टीहरू बग्रेल्ती खुलिरहेका छन् । हाकिमहरू मात्र होइन बेलुका–बेलुका त्यहाँ व्यापारी, समाजसेवीसमेत धेरैको जमघट हुन्छ । गाला र आँखा राताराता हुँदासम्म पनि पिइनैरहन्छन् गन्यमान्य व्यक्तिहरू पनि । उता क्वार्टर र घरमा श्रीमती र छोराछोरीहरूले घरका मुली मान्छे कहिले आउनुहोला र सँगै खाना खाउँला भन्दै पर्खिबसेका हुन्छन् । तर मुली मान्छे पेट टन्नै भरेर आउँछन् र श्रीमतीलाई धक्का मार्दै ओछ्यानमा पल्टिन्छन् । छोराछोरीहरू ट्वाल्ल हेरेको हेर्यै हुन्छन् ।
सहरमा कलेज तथा स्कुल पढ्ने विद्यार्थीहरूको हातमा पनि सल्किरहेको चुरोट देख्न सकिन्छ । त्यो चुरोटले संवेदनशील अंग जलिरहेको छ भन्ने हेक्का उनीहरूमा त हुन्छ । तर लापरबाहीका कारण स्वास्थ्यमा नराम्रो असर परिरहेको हुन्छ । ठूला मान्छेले भुराभुरीहरूलाई चुरोट सल्काउन लगाउने चलन पनि कताकतै भेटिन्छ, जुन कुरा राम्रो होइन । सल्काउँदासल्काउँदै लत बस्न बेर लाग्दैन ।
मेलाहरूमा रक्सी पिएर टोलटोलबीचका र गाउँगाउँबीचका युवाहरूमा भिडन्त हुने चलन त पहिलेदेखि नै छ । कसैको टाउको फुटेको देखिन्छ, कसैको नाकबाट रगत बगिरहेको हुन्छ भने कसैको टाउकोमा टुटुल्को उठेको देखिन्छ भने एकआपसमा छाडा शब्दहरूको वर्षा पनि भइरहेको हुन्छ । आखिर पाइने केही पनि होइन असभ्यता प्रदर्शनबाहेक । त्यसैले समय परिवर्तनशील छ, समयले सभ्यताको माग गरिरहेको छ । त्यसैले असल बानीहरू अंगीकार गर्नु जरुरी छ । सभ्य समाजका लागि सभ्य संस्कार उचित शिक्षा दीक्षा अनि चेतनाको बास भएमा मानिसमा सद्विचार सद्वयवहारले स्थान पाउँछ र समाज पनि सभ्य बन्छ ।
पहिले–पहिले विदेशी मदिरा नपाउने र स्थानीय अनाजबाट बनेको मदिरा यति गिलास र उति गिलास भनिन्थ्यो । हाल यति पेग र उति पेग भन्ने चलन छ । कसैकसैले त शब्द नै बिगारेर प्याक भन्दै आएका छन् । मदिरा र सुर्ती स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा पाउँदापाउँदै सरकारले नै कुनै बखत स्थापना गरेको वीरगञ्ज चिनी कारखाना लिमिटेडले रम, जिन, ह्विस्कीलगायतका मदिरा र जनकपुर चुरोट कारखाना लिमिटेडले आशा, गैँडालगायतका चुरोट उत्पादन गर्थे । हाल यी सरकारी औद्योगिक प्रतिष्ठानहरू बन्द अवस्थामा छन् । धेरै पहिलेदेखि नै मदिरा र सुर्तीजन्य पदार्थ विदेशबाट आयात हुँदै आएका छन् । जसले राम्रै बजार पाउँछन् तर जनस्वास्थ्यका लागि दुवै हानिकारक छन् । यसको नियन्त्रण र नियमन गर्नु अति नै जरुरी भएको छ । काठमाडौं महानगरपालिका र विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाएको समाचार त आएको थियो तर व्यवहारमा कत्तिको लागू भएको छ सहर डुल्दा तथा घुम्दा नै थाहा पाइन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page 2
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया