Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

आइएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता


काठमाडौं । आइएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ’एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्ससम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो सम्झौताअनुसार आइएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ अन्तर्राष्ट्रियस्तरमा भइरहेको अभ्यासअनुसार सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विचमार्फत ओपन एपीआई स्ट्यान्डर्ड फलो गरिने छ । आइएमई लिमिटेडमार्फत प्रदान गरिने एपीआईको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूका लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुनेछ  ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपीआई स्ट्यान्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आइएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यसमार्फत एपीआई इन्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफैं सिस्टम इन्टिग्रेसन प्रक्रियामा अगाडि बढ्न सक्ने छन् । रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ–नयाँ प्रविधिलाई पछ्यादै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

आइएमई लिमिटेडका बारेमा : आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यो कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । साथै, परम्परागत रेमिट्यान्स सेवा डिजिटाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले विगत पाँच वर्षदेखि आफ्नो डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकमार्फत नेपालको पहिलो भुक्तानी सेवाप्रदायकको रूपमा लाइसेन्स प्राप्त गरी आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ । यसअन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् । आइएमई पेले बैङ्किङ सुविधाबाट बञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया