Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदेशमा यस्तो मियो बनाऊ

देशमा यस्तो मियो बनाऊ


 काठमाडौं । मियो आँगनको बीचमा गाडिने खाबोको नाम हो । उहिले उहिले परालमा बाँकी टाकी धान झार्न मिओ वा यस्तो खाबोमा दुई चार वटा गोरु लस्करै बाँधेर वरिपरि घुमाइन्थ्यो । परालहरू आँगनभरि छिरलिएको हुन्थ्यो । गोरु बिहानभरि वा दिनभरि घुमाएपछि धान आँगनमा झर्थ्यो र यसको सदुपयोग गरिन्थ्यो । गोरु घुम्नका लागि अनिवार्यरूपमा मिवको आवश्यकता हुन्छ । मियोविना दाइँको सम्भावना हुँदैन ।

कसैले भनेको नमान्ने मानिसलाई गाली गर्दा आज पनि विनामियोको दाइँ भन्ने चलन छ । नेताले भनेको कार्यकर्ताले नमान्ने, शीर्ष नेताले भनेको मझौला र तलका नेताले नमान्ने भएमा पनि विनामियोको दाइँ भन्ने आख्यान ठ्याक्क मिल्न जान्छ । आजभोलि नेताको कार्यकर्ताले कि त चाहिनेभन्दा बढी चाकडी चाप्लुसी गर्ने कि विरुद्धमै लाग्ने प्रवृत्ति छ । प्रायः पद, पैसा र अनेक प्रलोभनका कारण नेताको पछि लाग्ने र चाकडी गर्ने प्रवृत्ति हाबी भएको छ । यसैले नेताहरूले पनि आफ्ना वरिपरि मानिस घुमाउन साम, दाम, दण्ड, भेद सबै कुरा प्रयोग गर्छन् । चाहे ती कांग्रेस हुन वा कम्युनिस्ट नेता हुन् । मानिसहरू आफ्नो वरिपरि घुमाउने यो मात्र एउटा विधि हो । विचार–सिद्धान्त हात्तीको देखाउने दाँत मात्र हो । यसको परिणामस्वरूप हरेक पार्टीभित्र विभिन्न गुट उपगुट निर्माण भएका छन् । भइरहने देखिन्छन् ।

मानिलिऊँ नेता मियो हुन् र अरू मानिसहरू गोरुहरू हुन् । यस मानेमा मझौला र तल्लो तहको नेता र बाँकी कार्यकर्ता पनि लाक्षणिकरूपमा गोरुजस्ता भए । यसले गर्दा देश र समाजमा तमाम विकृति र विसंगतिहरूको सिर्जना भएको छ । यसको समाधान के हो त ? हामीलाई मियो चाहिँदै नचाहिने हो त ? समाजमा मियोको आवश्यकता छ कि छैन ? अहिलेको अहम् महत्वको सवाल यही हो ।

नेताहरू चुनाव जित्न, पदमा पुग्न, मन्त्री प्रधानमन्त्री हुन अनेकौँ प्रकारका झूटो आश्वासन दिएर पनि मानिसहरूलाई आफ्नो बसमा पार्न र वरिपरि घुमाउन ठूलै कोसिस गरिरहन्छन् । शीर्ष नेताहरू राज्यको ढुकुटी समेत खर्च गरेर पनि यस्तो कर्म गर्छन् । यही मियोको वरिपरि घुमाउने र घुम्ने कसरतको कारण वरिपरि घुम्नेलाई विशेष छुट पनि छ । यसैको कारण भ्रष्टाचार, अनियमितता ढिलासुस्तीजस्ता अनेकौं प्रकारका विकृति र विसंगति भित्रिएको भन्न सकिन्छ । हाम्रो राजनीतिक संस्कृति र राज्य व्यवस्थाको कुरूप तस्वीर यसरी नै बन्न गएको छ । यहाँ अनेकौं मियोहरू छन् र अनेकौं घुमुवाहरू पनि छन् । यही व्यक्तिका वरिपरि मानिस घुम्ने प्रवृत्ति हाम्रो समाज र देशको लागि अफापसिद्ध भएको छ ।

यो ब्रह्माण्डमा सूर्यको वरिपरि ग्रहहरू घुम्छन् । हाम्रो पृथ्वी पनि सूर्यको वरिपरि आफ्नो कक्षमा रहेर घुम्ने गर्छ । यस्तै, पृथ्वीको वरिपरि चन्द्रमा घुम्ने गर्छ । यसरी हाम्रो सौर्यमण्डलमा सूर्यको वरिपरि पृथ्वी घुमे जसरी घुम्ने नौ वटा ग्रहहरू छन् । यी ग्रहहरू घुम्ने आफ्नो बाटो छ । यिनीहरू घुम्ने बाटोलाई कक्ष भन्दछन् । आफ्नो कक्षमा रहेर यिनीहरूले सूर्यको वरिपरि घुम्छन् । उपग्रहहरूले पनि ग्रहको वरिपरि घुम्छन् । यसरी घुम्ने ग्रहरूलाई मेरो वरिपरि घुम्नु भनेर सूर्यले अह्राएको छैन । ऊ घुमाउवाहरूलाई कुनै विशेष सहुलियत पनि दिँदैन । न उपग्रहहरूलाई ग्रहहरूले यो बाध्यता खडा गर्छन् । न त यस्ता ग्रह उपग्रहहरूले म तेरो वरिपरि घुम्दिनँ भनी अटेरपना देखाउँछन् । नघुमेमा यिनीहरूको अस्तित्व रहँदा पनि रहँदैन । यसैले निश्चित नियममा आफ्नो कक्षमा रहेर यी पिण्डहरू अबिरल घुमिरहन्छन् । आफ्नो स्वत्व प्राप्त गर्न वा अस्तित्व राख्न यिनीहरूले सूर्यको वरिपरि घुम्नु नै पर्छ । यो घुमाइमा पनि गुरुत्वाकर्षण बलको आफ्नै नियम छ ।

नियम मूल्य, मान्यता र अनुशासनको के–कति महत्व छ ? भन्ने कुरा यस उदाहरणबाट हामी सहजरूपले बुझ्न सक्छौं । संविधान, नीति नियम ऐन कानुन पहिलो कुरा त जीवन उपयोगी हुनुपर्छ । दोस्रो कुरा यो वैज्ञानिक हुनुपर्छ । यसै मापदण्डअनुसार बनेको नीतिनियम सबैलाई समानरूपले लागू हुनेछ । एक अर्काविरुद्ध प्रयोग हुने छैन । विकृति विसंगतिविरुद्ध भने प्रयोग हुनु नै आवश्यक छ ।

यो विश्व ब्रह्माण्ड नै एउटा निश्चित नियमका कारण अस्तित्वमा छ र चलायमान भइरहन्छ । माथिको उदाहरणबाट नीति नियमको महत्वबारे हामीले बुझिसक्यौं । यसैले पार्टीका नेता कार्यकर्ताहरू नीति नियमको वरिपरि घुम्ने हो ।

अजर अमर भन्ने कुरा नीति नियमहरू मात्र हुन् । यसैले नेताको वरिपरि घुम्ने होइन । नेताको वरिपरि घुम्दा नेताले गल्ती गर्दा सबैले गल्ती गर्नुपर्ने हुन्छ । नेता खराब भए भने देश भड्खारोमा डुब्छ । शीर्ष नेतादेखि कार्यकर्तासम्म सबैले नीति नियमलाई पछ्याएर अघि बढे सबै कुरा मिल्दै जानेछ । कोही कसैको गुनासो आउँदैन । अन्तर्विरोधहरू र समस्याको सामाधान गर्न पनि सजिलो हुन्छ ।

मानव समाजको इतिहासलाई हेर्ने हो भने कबिला गणहरू, समूहहरू हुँदै हाम्रो समाज समुदायमा विकास भएर यहाँसम्म आइपुगेको हो । खेतीपातीको युग र व्यक्तिगत सम्पत्तिको सुरुवात भइसकेपछि समाज वर्गीयरूपमा विभाजन भयो । समाज वर्गीय भइसकेपछि दुई वर्गको बीच अन्तर्विरोधहरू देखापर्यो । वर्गीय समाजमा विकराल समस्याहरू देखिन थाल्यो । यही अन्तरविरोधहरूको हल गर्ने काम पार्टीहरूले गर्नुपर्ने हो । पहिले त सामन्तवादलाई तह लगाउन पुँजीवादी र जनवादी तथा समाजवादी पार्टीहरू अस्तित्वमा आए । यसैले जुन–जुन उद्देश्यका लागि पार्टीहरूको उदय भएको हो त्यो । त्यो उद्देश्यमा पुग्न पार्टीभित्र नीतिगत पौँठेजोरीको नित्तान्त आवश्यक छ । जो जसले लोभ र मोहका कारण विकृति विसंगतिहरूसँग सम्झौता गर्छन् । वास्तवमा उनीहरू नेता हुन् वा कार्यकर्ता जोसुकै भए पनि परम्पराका दास मात्र हुन् । हामीले ठूला क्रान्ति गरेर आएको शक्ति पनि देख्यौँ । उठ्न खोजेको तर त्यही हराइरहेको शक्ति पनि देख्यौं । हामी घरपरिवारमा छौं । घरमा भएको विकृति विसंगतिविरुद्ध घरमै संघर्ष गर्ने हो । आ–आफ्नो पार्टीभित्रै विकृति विसंगतिविरुद्ध निर्मम संघर्ष गर्नु आजको आवश्यकता हो । यसो गर्दा विभिन्न पार्टीभित्रका इमानदार कार्यकर्ताबीच तादम्यता पनि देखिन सक्छ । यसले समाजमा एउटा छुट्टै माहोल सिर्जना गर्छ । विकृति विसंगतिहरू हराएर जानेछन् । वास्तवमा पार्टीभित्र नीतिनियमहरू नमान्ने गुटहरूको आवश्यकता छैन । नीतिगत नियमहरू अनुशरण गर्ने र गर्न बाध्य बनाउने समूहहरू र शक्तिहरूको भने नित्तान्त जरुरी भइसकेको छ । यदि शीर्ष तहबाटै नीति नियमको उल्लङ्घन हुन्छ भने औंला ठड्याउने तागत कार्यकर्तासँग पनि हुनुपर्छ । कार्यकर्तादेखि नेतासम्म नीतिमा चल्ने पार्टी मात्र उदीयमान सूर्यजस्तै हुनेछ । सूर्य सारा बोट बिरुवा र प्राणी जगतको प्राणको रक्षक र सृष्टिको अजीव शक्ति हो । यसैले सूर्यलाई हत्केलाले छेकेर छेकिन्न भन्ने कहावत त्यसै बनेको होइन । नीतिनियमहरू सूर्यजस्तै हुन् । यसमा ठूलो ताकत हुन्छ । जसलाई पालना गर्नु सबैको कर्तव्य हो ।

नीतिनियमहरू पार्टीहरूको र नेता कार्यकर्ताहरूका कक्षजस्तै हुन् । जसरी आफ्नो कक्षमा रहेर ग्रहहरूले सूर्यको वरिपरि परिक्रमा गर्छन् । यस्तो कक्षको वरिपरि घुम्दा पार्टीहरूले दीर्घजीवन प्राप्त गर्छन् । यसरी आफ्नो कक्षमा घुमेकाले सूर्य फुटेर दुई टुक्रा भयो रे । कुनै बुध र शनि ग्रह अर्कै सूर्यलाई घुम्न थाले रे भन्ने तपाईंले कहिल्यै सुन्नुभएको छ ? ‘ग्रहहरू दुई छुट्टाछुट्टै सूर्यको वरिपरि घुम्न थाले । कुन–कुन ग्रह कुन–कुन सूर्यको वरिपरि घुम्न थालेछन् ?’ भन्ने समाचार कुनै समाचारपत्रले आजसम्म छाप्न परेको छैन । कमसेकम हाम्रो जीवनकालमा यो सुनिने छैन । पार्टीहरूका टुटफुट र गुटहरूले हामीलाई सधैं झस्काइरहन्छन् । यस्तो नहोस् भन्नका लागि संविधान, नीतिनियम, ऐन कानुन बनाउनु परेको हो । त्यसलाई पालना गर्न अनुशासन र कर्तव्यको व्याख्या गर्नुपरेको हो ।

नीतिनियमहरू मानिसका जीवनलाई सहज र सहुलियत दिनका लागि हो । परिष्कृत र स्तरीय जीवन जिउनका लागि हो । जुत्ता हेरेर खुट्टा काट्नुपर्ने नीतिनियमको कुनै आवश्यकता छैन । हाम्रा अदालतहरू जनमुखी देखिँदैनन् । जनतालाई दुःख दिने नीतिनियम र अदालतको कुनै काम छैन । अदालतभित्रको ढिलासुस्ती र न्यायाधीशको मनोमानीले श्रमजीवी जनताको मनोबल गिराएको छ । पार्टीभित्रको मनोमानी चल्ने संस्कारले अग्रगामी चरित्रको खुट्टा तानिरहेको छ । यस्तो संस्कारलाई परास्त नगरेसम्म केही हुनेवाला छैन ।

आत्मनिर्भर अर्थतन्त्र, असंलग्न परराष्ट्र नीति, जीविकोपार्जनमुखी शिक्षा नीति आदि बलियोसँग लागू गर्न सकियो भने मात्रै हामी अगाडि बढ्न सक्छौं । देश अगाडि बढ्न सक्छ । यसैले नीतिनियम प्रत्येक घरमा बन्नुपर्छ । पार्टीहरू चलायमान हुन प्रष्ट नीति नियम आवश्यक छ । राज्य सञ्चालन हुन पनि संविधान ऐन कानुन जनमुखी र वैज्ञानिक हुनु अनिवार्य छ । मुख्य कुरा त श्रम, सम्पत्ति र सत्ताको सन्तुलन हुनु आवश्यक छ । यदि जनमुखी र अवैज्ञानिक संविधान, नियम कानुन भएमा यसलाई संशोधन गर्नु आवश्यक छ ।

तपाईं कस्तो बाटो हिँड्न चाहनुहुन्छ ? तपाईं कस्तो कार्यकर्ता तयार गर्न चाहनुहुन्छ । तपाईं राम्रो भाषण गर्न चाहनुहुन्छ । राम्रो भाषण गर्ने कार्यकर्ता पनि बनाउन चाहनुहुन्छ । तर व्यवहार राम्रो गर्न चाहनुहुन्न भने तपाईंहरूका आफ्नै व्यवहार र काम आपसमा तालमेल हुँदैनन् । यसो भयो भने दुनियाँले तपाईंको मूल्याङ्कन सकारात्मक गरिरहेका हुँदैनन् । तपाईं सबैलाई ढाट्न सक्नुहुन्छ । तर व्यवहारले तपाईंको सक्कली अनुहार देखाइरहेकै हुन्छ । यसकारण हाम्रो आफ्नै व्यवहार आफूलाई मूल्याङ्कन गर्ने कसी बनेर उभिएकै छ । यो कुराको हेक्का राख्न जरुरी छ ।

साम्राज्यवाद आज नयाँ अनुहारका साथ उभिएको छ । उहिले हाम्रो छिमेकी मुलुक भारतमा दुई सय वर्ष शासन गर्ने अंग्रेजी साम्राज्यवादले दक्षिण एसियालाई खर्लप्पै निलेको थियो । उपनिवेशहरूका जनता उत्पीडित र पीडित थिए । अंग्रेज साम्राज्यवादका विरुद्ध सम्पूर्ण उत्पीडित जनता आन्दोलित थिए । यसैले साम्राज्यवादको विरोध गर्न कम्युनिस्ट नै भइरहनुपर्छ भन्ने छैन । महात्मा गान्धी पनि त अंग्रेज विरोधी नै थिए । आधुनिक विश्वमा साम्राज्यवाद भूमण्डलीकृत पुँजीवादको रूपमा खडा छ । यसको पनि मुख्य उद्देश्य पहिलेको भन्दा अझ बडी नाफा कमाउनु हो । हाम्रोजस्तो विकासोन्मुख देशहरूमा यसले टाउको उठाउँनै नदिने अवस्था सिर्जना गरिरहेको छ । यसैले हाम्रा नीति नियममहरू स्वाधीन र स्वाभिमानलाई बचाउने खालको हुनुपर्छ । स्थिरतालाई पक्षपोषण गर्ने खालको हुनुपर्छ ।

विडम्बना हाम्रा देशका ऐन, कानुन, नीतिनियमहरू पुँजीवादी देशका जस्ता पनि चुस्त दुरुस्त, व्यावहारिक र वैज्ञानिक छैनन् । यसलाई हामीले मनन् गरेर कहिले अगाडि बढ्ने ? प्रश्न सधैंसधैं खड्किरहेकै छ । यसैले देशमा बलियो मियोको खाँचो महसुस भएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया