Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटन प्रवर्द्धनमा जात्राको महत्व

पर्यटन प्रवर्द्धनमा जात्राको महत्व


काठमाडौं । भक्तपुर जिल्ला, बागमती प्रदेशअन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन विसं २०५३ साल चैत्र १४ गते तत्कालीन बोडे, नगदेश, चपाचो, बालकुमारी र दिव्येश्वरी गाउँ विकास समितिलाई एक आपसमा गाभी बनाइएको पाइन्छ । तत्कालीन अवस्थामा स्थानीय निकायको रूपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधानबमोजिम स्थानीय तहको रूपमा गठन हुँदा नौ वटा वडा कायम भएको पाइन्छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौं महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्छन् ।

वि.सं. २०७८ सालको जनगणनाअनुसार यस नगरपालिका क्षेत्रमा परिवार संख्या ३१ हजार नौ सय ६६, जम्मा जनसंख्या एक लाख १९ हजार सात सय ५६ जसमध्ये महिला ५९ हजार १० र पुरुष ६० हजार सात सय ४६ रहेका छन् । ११ दशमलव ४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहबाट १३ सय २६ मिटरको उचाइमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कुल भूभागको (एक सय १९ वर्ग किमि) नौ दशमलव छ प्रतिशत भूभाग ओगटेको छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम एक डिग्री सेल्सियसदेखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गर्छ । यो सहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । यसै सन्दर्भमा नयाँ वर्षको आगमनमा यहाँ मनाइने प्रख्यात बिस्काः जात्राको बारेमा यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

दक्षिणबाराही गण जात्रा: सूर्यविनायक नगरपालिकाको क्वाछेँस्थित दक्षिणबाराहीको नेतृत्वमा वैशाख १ गते राती (तीन बजेतिर) हुन्छ । चान्हसिया जात्रा भनेर पनि चिनिने यस जात्रामा दधिकोट, हिञ्चोकस्थित हरसिद्धि र थिमि, यमाटोलस्थित अजिमासहित तीन वटा खटको सहभागिता रहन्छ । यो जात्रा बालकुमारी कुहाँ बिज्याकेगु अर्थात् थिमिको नगरदेवता बालकुमारीलाई स्थानीय लायकुबाट क्वलाखुस्थित बालकुमारी मन्दिरमा प्रदर्शन गर्न लगिने जात्रा सम्पन्न भएलगत्तै प्रारम्भ हुन्छ । दक्षिणबाराही गुठीको पालो परेको घरबाट प्रारम्भ हुने यस जात्रा नगरको विभिन्न स्थानहरूको परिक्रमापश्चात क्वोलाखु पुगेर सम्पन्न हुन्छ ।

सिद्धिकाली गण जात्रा: सिद्धिकाली गणको जात्रा वैशाखको १ गते साँझ सुरु हुन्छ । कुटिंचिवाबाट इनाएक्वमा रहेको मन्दिर परिसरमा सिद्धिकालीको खट ल्याइन्छ । यहाँ हात्ती महाँकालका कोसिना गणेश, चपाचोबाट विश्वविनायक, इनाय्लाछीका राज गणेश, चोडेबाट निलवर्ण गणेश, शिवाटोलबाट सिद्धिगणेश, दिगुलीका दिगुगणेश र गाँचाननीका गाँचाननी गणेशलाई आ–आफ्नो ठाउँबाट जात्रा गरी इनाय्क्वमा ल्याउँछन् । चपाचोको विश्वविनायकलाई भने इनाय्क्वको प्रवेशद्वार ध्वाखाबाहिर बिसाइन्छ । विश्वविनायक र सिद्धिकालीका नागवाहन सहअस्तित्वमा रहन नहुने र भएमा ठूलो विपत्ति आइलाग्छ भन्ने किंवदन्तीहरू छन् ।

सिद्धिकाली जात्रामा नाटेश्वरको बरदान भएको मानिने मूःधिमेको नेतृत्वमा कम्तीमा तीन पटक मन्दिर परिसरमा खटहरू परिक्रमा गराइन्छ । त्यसपछि जात्रा गरी भित्री सहरतिर जान्छन् । जनश्रुतिअनुसार सिद्धिकाली नाग बाहनमाथि विराजमान हुन्छिन्, त्यही भएर देवी नागबेली चालमा अघि बढ्छन् । खट कुटिंचिवाः, कुम्हानानी, तुलनानी, नासनानी, चपाचो, स्वङ्गापुख, दुवाफल्चा, कुटुननी, भुलाँखेल, हात्तीमहाँकाल र अन्तमा कुटिंचिवाः पुग्छ जहाँ सिद्धिकाली रातभर विराजमान गराइन्छ । अन्य खटहरूलाई आ–आफ्नो मन्दिर अगाडि विराजमान गराइन्छ । भक्तजनहरू रातभर दैवी शक्तिको जयजयकार गर्दै दीप प्रज्वलन गर्दै देवीको दर्शन गर्छन् ।

विष्णुवीर गण जात्रा: यो जात्रा सुंगाटोलस्थित विष्णुवीरको नेतृत्वमा वैशाख १ गतेको साँझ (५ बजेतिर) सुरु हुन्छ । बाय्सिंसिया जात्रा भनेर चिनिने यो जात्रा सुंगाटोलबाट प्रारम्भ भई नगरको विभिन्न स्थानको परिक्रमापश्चात क्वलाखु टोलमा पुगेर सम्पन्न हुन्छ । सुंगाटोलस्थित विष्णुवीर मन्दिर परिक्रमा गरी कय्कुताँ जाने क्रममा विष्णुवीरलाई लास लगेझै सी बाजा बजाएर जात्रालुहरू मलामी गएसरी टोपी फुकालेर भावुक मुद्दामा जाने गर्छन् । कय्कुताँस्थित पोखरी डिलमा पुगेपछि पुनः धिमेबाजा बजाएर हर्षोल्लासका साथ जात्रा सुरु गरिन्छ । त्यहाँबाट इनाएलाछी, दिगुटोल हुँदै द्वंदः, भुलांखेल, बागः तुंथि, वाःननिबाट दक्षिणपूर्वको भागमा सञ्चालन हुने यस जात्रामा पर्सिक्व गणेश (पर्सिक्व टोल), भादे गणेश (वामुने टोल), थास्वः गणेश (क्वलाखु टोल) र गांताः गणेश (तछुटोल)को सहभागिता रहन्छ । दताः गणेश (बथुटोल) भने विष्णुवीरको गण जात्रामा नपरे पनि इच्छाअनुसार जात्रामा सहभागिता रहने चलन छ ।

सिद्विगणेश बाय्लिसिया जात्रा: मध्यपुर थिमि बिस्का जात्राअन्तर्गत नगदेश क्षेत्रमा सिद्धि गणेशको जात्रा हुन्छ । सिद्धिगणेश जात्रा वैशाख १ र २ गते दुई दिन सञ्चालन गरिन्छ । वैशाख १ गते बेलुका (९ बजेतिर) को जात्रालाई बाय्लिसिया जात्रा भनिन्छ । यो जात्रा स्थानीय लाछिटोलबाट प्रारम्भ हुन्छ । नगदेश लायकू प्रतिनिधिले सिद्धिगणेशलाई धनिचास्वां (एक प्रकारको फूल) र सिन्दूर चढाएपछि सुरू हुन्छ । यो जात्रा नगदेशका विभिन्न टोलहरूको परिक्रमा पछि लाछिटोल पुगेर सम्पन्न हुन्छ । सिद्धिगणेशको खटलाई लाछीमा बिसाएपछि भक्तजनहरू १०८ दीप प्रज्वलन गरी रातभर जाग्राम बस्छन् ।

सिद्विगणेश सुथसिया जात्रा: सिद्धिगणेशको अर्काे जात्रा वैशाख २ गते बिहानबाट प्रारम्भ हुन्छ । यस जात्रामा अघिल्लो दिनझै नगदेशका विभिन्न टोलको परिक्रमा गराई सिद्धिगणेशलाई बाहाखा बजार, भीमसेनचोकबाट थिमिको मूलसडक हुँदै क्वलाखु टोल पुराइन्थ्यो । यहाँ बालकुमारी जात्रा प्रारम्भ गराएर सिद्धि गणेशलाई थिमिको विभिन्न स्थानको परिक्रमा गरेर बाहाखा मिलरोड हुँदै सानच्व पुराइन्थ्यो । सिद्धिगणेशको स्वागतार्थ यहाँ प्रतीक्षारत निलबाराहीसँगै तिगनीको तःधंटोल पुगेर तिगनीको विभिन्न स्थानहरूको परिक्रमापश्चात दुईटै खट नगदेश लगिन्थ्यो र नगदेशको विभिन्न टोल घुमेर न्याःगाःस्थित द्यःछें प्राङ्गणमा पुगेर सिद्धि गणेश जात्रा सम्पन्न हुने गर्थ्यो ।

हाल सिद्धिगणेशको जात्रा १ गतेझै नगदेशका विभिन्न टोलमा मात्रै परिक्रमा गराउनुका साथै नगरपालिका बाहाखा बजार र सिउचाक्वोमा पनि परिक्रमा गराइन्छ । यसरी गणेशको खट ‘देशे मरु भ्याले’ सु–सजित सिद्धिगणेशको द्यःछें अगाडि विराजमान गराई जात्रालुलाई फूल प्रसाद दिएर जात्रा गरिन्छ ।

बालकुमारी जात्रा: क्वोलाखु टोलमा यःसिं ठड्याएपछि (यःसीं ठड्याउने प्रचलन अचेल हराइसकेको छ) औपचारिक रूपमा बिस्का जात्रा प्रारम्भ हुन्छ । चैत्र मसान्त बालकुमारीको मूल गहना (किंकिपाः) क्वोलाखुस्थित बालकुमारी मन्दिरमा भित्र्याएपछि खटजात्रा प्रारम्भ हुन्छ । थिमि बिस्का जात्रामा बालकुमारी जात्रामा जात्राको रूपमा लिइन्छ । यसलाई सुथसिया जात्रा भनिन्छ । वैशाख २ गते बिहान (८ बजेतिर) प्रारम्भ हुने यस जात्रामा थिमि क्षेत्रका दक्षिणबाराही गण, सिद्धिकाली गणलगायत २३ देवीदेवताको खटहरूको सहभागिता रहन्छन् । यी सबै खटहरू र नगदेशको सिद्धिगणेश क्वलाखु टोलमा भेला भएलगतै लायकुका प्रतिनिधि (नायोपःमा)ले सिउ (बालकुमारीमा बलि दिएको बोकाको मूल प्रसाद) र सिन्दुर चढाएर जात्रा प्रारम्भ गर्छ । नगदेश सिद्धिगणेश उपस्थितिपछि मात्रै बालकुमारी जात्रा प्रारम्भ गरिने प्रचलन रहे पनि केही वर्षदेखि सिद्धिगणेश थिमी आउने परम्परा रोकिएपछि सिद्धिकालीलाई सिउ दिएर चढाएपछि जात्रा सञ्चालन हुने गर्छ ।

बालकुमारी मन्दिरको अगाडि रहेको सत्तलबाट नायोपःमाले सिन्दुर चढाएर पालैपालो खट उचाल्न अनुरोध गर्छन् । अरु खट उचालेसँगै विष्णु दक्षिणबाराहीका खटलाई उचालेर थास्मा गणेशको मन्दिरसँगै बाटो छेक्ने गरी राख्छन् । जसले गर्दा बालकुमारीलाई सिधैमाथि लाय्कूमा लानबाट छेक्छन् । बालकुमारीको खटलाई बालकुमारी मन्दिर परिक्रमा गराउन लगेको बेला विष्णुवीर र दक्षिणबाराही गणसहित दिगुटोलस्थित प्रचण्ड भैरवको परिक्रमा लायकुको ढोकामा विराजमान गराइन्छ । जसले गर्दा बालकुमारी लायकुमा प्रवेश नगरी दिगुटोलस्थित प्रचण्ड भैरवको परिक्रमामा जाने गर्छ । बालकुमारी दिगुटोलमा गएको मौकामा विष्णुवीर र दक्षिण बाराहीलाई बालकुमारी मन्दिर परिक्रमा गराई पुनः लाकूको प्रवेशद्वारमा बिसाउने गरिन्छ । बालकुमारी लाय्कूमा प्रवेश नगरी बालकुमारी ल्याउने गर्छ । यसरी दिगुटोलको भैरव मन्दिरदेखि क्वोलाखुटोलको बालकुमारी मन्दिरसम्म तीनपल्ट परिक्रमा गराई बालकुमारीलाई लायकु प्रवेश गर्न दिइन्छ । यसरी बालकुमारीको लायकु प्रवेशसँगै जात्रा पनि सम्पन्न गरिन्छ । यसपछि सबै खटले बालकुमारी खटलाई परिच गरी आ–आफ्नो क्षेत्रमा पूजा थापेर पालो परेको गुठियारको घरमा लग्ने गरिन्छ ।

यदि वैशाख २ गते शनिबारको दिन परेको खण्डमा विष्णुवीर गण र दक्षिणबाराही गण दधिकोट, क्वाछेंस्थित दक्षिणबाराही मन्दिर दर्शन गर्न जानुपर्ने प्रचलन छ । यसअघि वैशाख १ गतेको राती बालकुमारी प्रतिमा र खटलाई थिमि लायकुबाट क्वोलाखु टोलस्थित बालकुमारी मन्दिरमा लगेर प्रदर्शनीमा राखिन्छ । यो स्थानीय भाषामा बालकुमारी कुहाँ बिज्याइगु भनिन्छ ।

जिब्रो छेड्ने जात्रा: वैशाख २ गतेको दिन बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । तान्त्रिक भिमदत्त कर्मचार्यले नगरवासीलाई दुःख दिइरहेका ख्याकलाई आफ्नो विद्यामा फसाएर सोही ख्याकलाई नगरपरिक्रमा गराइएको, कसैले नदेखिने गरी भागीजाला भन्ने डरले खुट्टामा आवाज आउने गरी घुंघरू बाँधिदिएको, अझ मनलाई अत्यास पार्न उक्त ख्याकलाई बलेको महादीप र त्यसमा काठको गह्रौं भारी बोकाएर जिब्रो छेडाएको किंबदन्ती रहेको छ ।

यस जात्रामा जिब्रो छेड्ने व्यक्ति र जिब्रो छेडाउने सियो बनाउने नकर्मी विशेष सम्मानको साथ बाजा बजाएर लःस कःस गरी पाँचो गणेशस्थित पाटीमा ल्याइन्छ । जहाँ जिब्रो छेडेर जात्रा सुरु गरिन्छ । बत्ती बलेको महादीप बोकी जिब्रो छेडेका मानिस बोडेका विभिन्न टोलको परिक्रमा गरेर महालक्ष्मी मन्दिर अगाडि सुइरो झिकिन्छ । सो सुइरो महालक्ष्मी मन्दिरको उत्तरमा रहेको गणेश मन्दिरमा ठोकिने चलन छ । यसरी जिब्रो छेड्ने जात्रा सम्पन्न हुन्छ ।

खट जात्रा: वैशाख २ गते बिहान पाँचो क्षेत्रमा पाँचो गणेश, भुरिखा गणेश, हाँसिमला गणेश, न्हू नीलबाराही, पुलां नीलबाराही, महालक्ष्मी भैरव र कालिका माई र कुमारीको खट क्रमशः लाइनमा लगाइन्छ । जिब्रो छेड्ने जात्रा सुरु भएर जिब्रो छेडेको व्यक्ति नगर परिक्रममा गएपछि प्रधान नाइकले सबै खटमा सिन्दुर चढाइन्छ । त्यसपछि महालक्ष्मीबाहेक सबै खटलाई कुमारी मन्दिर परिसरमा पु¥याएर तीन पटक मन्दिरको परिक्रमा गरी खटलाई क्रमशः पाँचो ढोकामा ल्याइन्छ, जहाँ महालक्ष्मीको खटले नगर जाने बाटो अवरुद्ध गर्छ । विगतमा महालक्ष्मीको खटमा कुमारीलाई मात्र रोकिन्छ र कुमारीले महालक्ष्मीको फूल लिएर प्रवेशद्वारमा प्रवेश गर्न सक्ने भए पनि अहिले ढोकाभित्र प्रवेश गर्नका लागि सबै देवदेवताहरूको खट महालक्ष्मीको खटमा पटकपटक ठोक्किने गरेका छन् ।

पाँचोको ध्वाखामा पुनः प्रवेश गरेपछि सबै खटहरू पाँचोबाट–बान्चा–लायकु–विष्णुघाट–महालक्ष्मी ब्रह्मननी–खाँसी–द्यःबु–न्हूमंला खपला–दथुननी सिचुननी–क्वय्छेँ–तराँलिवि हुँदै लाछीमा ल्याइन्छ । अन्य खट बोडे नगरमा परिक्रमा गर्ने गरे पनि महालक्ष्मीको खट सिधै लाछीको डबलीमा लैजाने चलन छ । जिब्रो छेड्ने व्यक्तिले महालक्ष्मी मन्दिरमा गणेशको खट नपुगेसम्म जिब्रोबाट सियो निकाल्न नमिल्ने र गणेशको खट आइसकेपछि महालक्ष्मी मन्दिर परिसरको गणेश मन्दिरमा सियो निकाली किला ठोक्ने गर्छ ।

नगर परिक्रमापश्चात सबै खटहरू लाछीमा तोकिएको ठाउँमा विराजमान गराउँछन् । सबै खट लाछी परिसरमा पुगेपछि गुर्जुले पाठ पढेर पूजा गर्छन् क्रमशः पाँचो गणेशदेखि कालिकामाईलाई धिमेबजाएर पालो परेको गुठी घरमा ल्याइन्छ । तर कुमारी देवी प्रत्येक वर्ष कुमारी द्यस्छैंमा लगिन्छ । देवी देवताको लसकुस गर्ने बेलामा हरेक देवी देवतालाई कुमारीको खटले आ–आफ्नो घरमा पु¥याउन जाने गरिन्छ । कुमारी खटको लसकुस अन्य खटको तुलनामा भव्य हुने गर्छ । स्थानीय मानिसहरू कुमारी खट सँगसँगै हातमा धुप बालेर कुमारीकै द्यःछेंमा पुर्याउन जाने गर्छन् यसरी बोडेमा खट जात्रा समाप्त हुन्छ ।

यःसी ठड्याउने: विक्रम संवत्को नयाँ वर्षको पूर्वसन्ध्यामा बोडेको महालक्ष्मी मन्दिर परिसरमा यस्सी (काठको खम्बा) ठड्याउने गरिन्छ । यःसिंमा कपडाका ३२ हात लामो हलिंपत्ता झुण्ड्याइन्छ जसलाई सर्पको जोडी (नाग र नागिन)को प्रतिनिधित्व मानिन्छ ।

रथ पुजा र द्यः म्हु बनेगु: वैशाख १ गते थिमि, नगदेश, बोडे र तिगनीमा जात्रा गरिने खटहरूमा पूजा गर्न जानेलाई रथ पूजा वा द्यः म्हु वानेगु पनि भनिन्छ । यो जात्रा हरेक वर्ष बोडेका विभिन्न टोल र समूहले आयोजना गर्ने गर्छ । बिस्का जात्रामा बोडे, नगदेश, थिमि र तिगनीमा जम्मा ३२ वटा खट जात्रा गरिन्छ । रथ पूजामा धिमे बाजा, बासुरी र पछिमा बाजा बजाएर परम्परागत पोसाकमा लामबद्ध भएर सबै खटहरूलाई प्रसाद चढाउँछन् । सो कार्यको सुरुवातमा आयोजक टोलबाट ठूलो भागमा प्रसाद चढाउँछ । जसमा प्रायः ठूला पातको थालीमा सेवई, रोटी, खजुरी, पुरी आदि मिठाई हुन्छन् । मुख्य प्रसादलाई पछ्याउँदै अन्य व्यक्तिहरूले पनि आफ्नो व्यक्तिगतरूपमा इच्छाएको प्रसाद चढाउँछन् हिन्दु धर्ममा सबैभन्दा पहिले गणेश देवताको पूजा हुने भएकाले बोडेको पाँचो गणेशबाट सुरु हुने र सबै ठाउँको परिक्रमा गरी बाँकी रहेका सबै प्रसाद कुमारीको खटमा अर्पण गरेर यो पूजा लाछीटोलमा समापन गरिन्छ । यस रथ पूजाको मुख्य आकर्षण भनेको परम्परागत पोसाक र परम्परागत लोक संगीतको माध्यमबाट मानिसहरूले आफ्नो संस्कृति झल्काउनु हो ।

चान्हेसिया जात्रा: बोडेमा चान्हेसिया जात्रा वैशाख १ गते मध्यरातमा सुरु हुन्छ । यो जात्रा लाछिटोलबाट कालिका माई भनेर चिनिने कुमारीको खट उठाएपछि सुरु हुन्छ । कुमारी देवीको सम्बन्धित गुठीले कुमारी देवीको लागि दशकर्म गर्दछन्, त्यसपछि पूजा गर्छन् । पूजापछि चिलाख र धिमे बाजाको साथमा जात्रा सुरु हुन्छ । लायकु टोलमा खट पुगेपछि नकर्मीको घरबाट चटामारी चढाइन्छ । जात्रालुहरूले यसलाई समातेर प्रसादको रूपमा खान्छन् । त्यसपछि खट बोडेको कुमारी मन्दिरमा लगिन्छ । खटलाई माथिबाट कुमारी मन्दिरतर्फ लैजाँदा धिमे बाजाले असाध्यै रमाइलो ठूलो आवाजमा सङ्गीत बजाइन्छ । यसरी ओरालो लाग्दा कुमारी देवी ओरालोमा रुँदै गएको भन्ने किंवदन्ती छ । यस्तो भइरहेको बेला कुमारी देवीको खटको पछाडिबाट लिपि कपडालाई गुठीका मानिसहरूले गोप्यरूपमा निकाल्छन् खट कुमारी मन्दिर परिसरमा पुगेपछि तीन पटक मन्दिरको परिक्रमा गरी कुमारी मन्दिर अगाडि खटलाई विश्राम गराइन्छ । जब सबै दर्शकहरू फर्किन्छन् फेरि गुपचुपरूपमा गुठियारहरूले दशकर्म गर्छन् र त्यसपछि मध्यरातमा खट फेरि बोडेमा लगिने प्रचलन छ ।

अतः नव वर्षको प्रारम्भमा माथि उल्लेखित जात्राहरूमार्फत पर्यटन प्रवद्र्धन गरी मध्यपुर थिमिलगायत नेपालकै समग्र आम्दानी टेवा पु¥याउन सकिने ठूलो सम्भावना छ । यी जात्राहरूलाई नेपाललगायत विश्व बजारमा प्रभावकारीरूपमा प्रचारप्रसार गर्नसकेपर्यटन आगमनमा वृद्धि गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया