Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविदेशी र नेपाली मुद्रा अवमूल्यनको तुलना

विदेशी र नेपाली मुद्रा अवमूल्यनको तुलना


काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै माथिल्लो विन्दुमा पुगेको छ । वैशाख ४ गते १ अमेरिकी डलरको बिक्री मूल्य एक सय ३३ दशमलव ८३ रुपैयाँ कायम भएको छ । यस अगाडि चैत्र २२ मा एक डलर को एक सय ३३ दशमलव आठ र चैत्र २३ मा एक डलरको एक सय ३३ दशमलव ८१ रुपैयाँ पुगेको थियो । भारतमा भारतीय मुद्रा कमजोर हुनु र भारतमा आयातमा वृद्धिको कारण यसो भएको हो । पछिल्ला केही दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेको विनिमय दरलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ताको विषय बनेको छ । जब हामी विदेशी व्यापारमा असन्तुलन पूरा गर्ने उद्देश्यका लागि विदेशी सञ्चिति कायम गर्ने कुरा गर्छौं भने हाम्रो अर्थ व्यापारको सामान्य ढाँचाबाट उत्पन्न हुने असन्तुलन हो । विगत केही महिनादेखि नेपाली रुपैयाँ लगातार अवमूल्यन भइरहेको छ ।

दुई फरक मुद्रालाई एक–अर्काेसँग विनिमय गराउन निर्धारित हुने दरलाई विनिमय दर भनिन्छ । अझ सरल भाषामा भन्दा यो एक राष्ट्रको मुद्रालाई अर्को राष्ट्रको मुद्राको आधारमा गरिने मूल्यांकन हो । विदेशमा यात्रा गर्न निस्कँदा त्यहाँ खर्च गर्न सोही देशको मुद्रा खरिद गर्नुपर्ने हुन्छ । यो प्रक्रिया कुनै वस्तु खरिद गरेजस्तै हो । सिद्धान्ततः एउटै वस्तुको बिक्री मूल्य फरक–फरक देशमा पनि एकै हुनुपर्छ । किनकि एउटा देशको मुद्राको जन्मसिद्ध मूल्य अर्को देशकोसँग व्यवस्थित गर्ने काम विनिमय दरले गर्छ ।

एउटा मुद्रालाई अर्को मुद्रासँग विनिमय गर्ने दुई तरिका छन् । एउटा फिक्स्ड पेग्ड रेट (स्थिर विनिमय दर) र अर्काे फ्लोटेड रेट (परिवर्तित विनिमय दर) । विनिमय दरको निर्धारण र व्यवस्थापन गर्ने काम हरेक राज्यको केन्द्रीय बैंकले गर्छ । विश्वका प्रमुख मुद्राको मूल्यको आधारमा विनिमय दरको निर्धारण गरिएको हुन्छ । परिवर्तित विनिमय दर बजारको माग र आपूर्तिको आधारमै निर्धारण हुन्छ । यस्तो दरलाई अर्काे शब्दमा ‘सेल्फकरेक्टिङ’ अर्थात् आफैँ सच्चिने दर पनि भन्न सकिन्छ । किनभने, बजारको आपूर्ति र मागमा आउने विविधताले यस्तो दर आफैँ सच्चिन्छ । एउटा साधारण वास्तविकतामा कुनै पनि मुद्रा पूर्णतः स्थिर वा परिवर्तित भइरहँदैन । स्थिर दर कायम गरिएको राष्ट्रमा बजारको दबाबले कहिलेकाहीँ यस्तो दर परिवर्तन गर्न पनि बाध्य बनाउन सक्छ । कहिलेकाहीँ स्थानीय मुद्राले स्थिर गरिएको अर्काे मुद्राभन्दा छुट्टै मूल्य प्रतिबिम्बित ग¥यो भने कालोबजारी बढ्न सक्छ । यस्तो समयमा केन्द्रीय बैंकले आधिकारिक बजारबाहिर कायम भइरहेको आफ्नो मुद्राको मूल्यअनुसार नैसो मुद्राको अवमूल्यन गर्न वा अधिमूल्यन गर्न बाध्य हुन्छ । केन्द्रीय बैंकको सो कार्यले कालोबजारी कम गर्न वा रोक्न सजिलो हुन्छ ।

परिवर्तित दर कायम गरिएको राष्ट्रमा समेत कहिलेकाहीँ केन्द्रीय बैंकले स्थिरता कायम गर्न र मुद्रास्फीति कम गर्न बजारमा हस्तक्षेप गर्न सक्छ । यद्यपि, विश्व परिवेशमा केन्द्रीय बैंकहरूले बिरलै यस्तो कार्य गरेको पाइन्छ । हालै अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनले मुलुकको अर्थतन्त्र र चालू आर्थिक वर्षको वृद्धिदरमा असर पर्ने देखिन्छ । नेपाल आयातमा आधारित अर्थतन्त्र भएकाले अमेरिकी डलरको तुलनामा आन्तरिक मुद्राको अवमूल्यनले पनि आयात महँगो हुने र मुलुकको मुद्रास्फीतिमा असर पर्नेछ ।

केही समय अघिसम्म नेपालमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन तीव्र गतिमा भइरहेको छ । यो निरन्तर अवमूल्यन प्रक्रिया नेपाली मुद्रास्फीति दर, ब्याजदर वा नेपालको जीएनपीमा वृद्धिको कारण होइन । किनभने नेपाली रुपैयाँ भारतीय मुद्रामा पेग गरिएको छ । विनिमय मूल्य ह्रास भन्नाले विनिमय दरमा आएको ह्रास हो,अर्थात् एक मुद्राको बाह्य मूल्य अर्को मुद्राको सन्दर्भमा ।

नेपाली बजारमा अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने र सुनको मूल्य घट्दा डलरको भाउ बढ्ने गरेको विगत रहेको थियो । तर अहिले सुन र डलरको मूल्यसँगसँगै बढ्दा त्यसको सिधा असर नेपालको अर्थतन्त्रमा परेको बताइन्छ । विश्वव्यापी वित्तीय बजारको मन्दीले विगतमा विश्व कोरोनाको कारण आर्थिक मन्दीतर्फ उन्मुख रहेको अवस्थामा रहेको संकेत दिएपछि देशको मुद्रासँग जोडिएको भारतीय रुपैयाँ दबाबमा परेपछि नेपाली रुपैयाँको विनिमय दर झरेको छ ।

हाल नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो  । नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको बताउँछन् । विश्वव्यापीरूपमा पछिल्लो समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर हुने गरेको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको यो गिरावटले आयातमा आधारित नेपाली अर्थतन्त्रलाई जोखिममा पार्नेछ । हाम्रो अर्थतन्त्र निर्यातमुखी भए अमेरिकी डलर बलियो हुनु नेपालको लागि अवसर हुने थियो । नेपालको अर्थतन्त्र धेरै मात्रामा आयातमा निर्भर भएकाले अमेरिकी डलरको तुलनामा कमजोर रुपैयाँले हाम्रो अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

कमजोर मुद्राले आयात महँगो र निर्यात साटो बनाउँछ । हाम्रो आयात बढ्ने तर निर्यात घट्ने प्रवृत्ति देखिएको छ । यसले अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब पनि सिर्जना गर्छ । त्यसैगरी, अमेरिकी डलरमा तिर्नुपर्ने विदेशी ऋणको ब्याज र साँवा चुक्ता गर्दा मुलुकले घाटा व्यहोर्नेछ । विनिमय मूल्य ह्रासले बासिन्दाहरूका लागि घरेलु वस्तुहरू र सेवाहरू सस्तो बनाउँछ र आयात महँगो बनाउँछ । अवमूल्यन भनेको कुनै पनि आधिकारिक आदेशद्वारा बाह्य मूल्य अर्थात् मुद्राको एकाइको विनिमय दर घटाउनु हो । यो या त सबै देशको मुद्रा वा सुनको सम्बन्धमा वा केही चयन गरिएका देशहरूको मुद्रासँग सम्बन्धित हुन सक्छ ।

दक्षिण एसियाका मुद्राहरू तीव्र दबाबमा परेका छन् र अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेका छन् । सैद्धान्तिकरूपमा भन्नुपर्दा नेपाली मुद्राको वर्तमान अवमूल्यनको तत्काल प्रभाव निर्यातको विस्तार र आयातको संकुचनमा प्रतिबिम्बित हुन्छ, जसले गर्दा भुक्तानी सन्तुलनको प्रतिकूल अवस्थालाई कम गर्ने प्रवृत्ति हुन्छ । अवमूल्यनका प्रभावहरू पत्ता लगाउन केही अर्थशास्त्रीहरूको विचारमा देशको निर्यातको लागि बाह्य मागको लोचको जाँच गर्न आवश्यक छ, जुन देशको निर्यातको लागि लोकप्रिय माग हो, जसलाई लोचको दृष्टिकोण भनिन्छ ।

नेपालको विशेष परिवेशमा माग लोचले काम गर्दैन । यस सन्दर्भमा यो भन्न सकिन्छः अवमूल्यनको सफलता आयातको लागि आन्तरिक मागमा निर्भर हुनेछ र निर्यातको लागि गैर–घरेलु माग एकदम लोचदार हुनुपर्छ, जुन नेपालको सन्दर्भमा बाञ्छित हदसम्म लागू हुँदैन र अवमूल्यनले केही भुक्तानी सन्तुलन वस्तुहरूमा प्रतिकूल प्रभाव पार्छ । जस्तै विदेशी ऋणको भुक्तानीको लागि जब यी राष्ट्रिय मुद्रामा व्यक्त हुन्छन् ।

समग्रमा भन्नुपर्दा नेपाली निर्यातलाई परिमाणमा गति दिनुपर्नेछ भने आयातमा ह्वात्तै घटाउनुपर्छ जुन उपभोग्य वस्तु, विकास र निर्माण सामग्रीको बढ्दो आयातका कारण सम्भव छैन । यसरी नेपाली गरिब जनताले यो अवमूल्यनको पीडा भोग्नुपर्नेछ ।

उच्च मुद्रास्फीति, मुद्रा आपूर्तिमा विस्तार, विस्तारकारी मौद्रिक नीति एवं लगानीको लागि पर्याप्त रकम बजारमा प्रवाह भएमा आम मानिसको उपभोेगमा वृद्धि हुने, यसबाट मूल्यवृद्धि हुने, विदेशी सामग्रीको उपभोग बढ्दा आयातका लागि बढी विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ । यसले मुद्राको क्रयशक्ति घटाउँछ र विदेशी लगानी न्यून परिचालन हुने र भइरहेको लगानी पनि फिर्ता जाने अवस्था आउँछ । यस्तो अवस्थामा देशको अर्थतन्त्र क्रमशः कमजोर हुँदै जान्छ । इन्धनमा भएको मूल्यवृद्धि र अत्यधिक खपतका कारण अमेरिकी डलरको माग बढेर भारतीय बजारमा भारतीय मुद्राको अवमूल्यन भएको हो ।

खर्बौं रुपैयाँको व्यापार घाटा व्यहोरिरहेको समयमा निर्यात बढाउनका लागि नेपालले भारतीय रुपैयाँसँगको आफ्नो विनिमय दर अवमूल्यन गराउनुपर्ने चर्चा केही समय यता निकै गर्मागर्मीरूपमा चलिरहेको छ । तर अधिकांश अर्थविद्हरूले भने अवमूल्यन गर्दा फाइदाभन्दा घाटा धेरै हुने चेतावनी दिने गरेका छन् । निर्यात गर्न सकिने वस्तुहरू नै नेपालसँग धेरै नभएको हुनाले, विदेशीको लागि नेपाली वस्तुको भाउ सस्तो भए पनि खास निर्यात बढ्न नसक्ने अवस्था छ । खानेकुरादेखि पेट्रोलसम्म विदेशी आयातमा भरपर्ने नेपालीहरूको निम्ति त्यो महँगी निकै पीडादायक बन्न सक्छ ।

समष्टिमा डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा सुधार आउँदा देशको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । तर ऋण सहयोग सावाँ ब्याज भुक्तानी, आयातको भुक्तानी, विदेशी लगानीकर्ताहरूले मुनाफा लैजाँदा, विदेश अध्ययन गर्न जान लागेका विद्यार्थीहरू, भ्रमण र स्वास्थ्य उपचारका लागि विदेश जाँदा डलर साट्नु पर्दा भने नेपालीलाई ठूलो नोक्सानी व्यहोर्नुपर्ने भएको छ ।

समग्रमा, निर्यात गर्न सकिने वस्तुहरू नै नेपालसँग धेरै नभएको हुनाले, विदेशीको लागि नेपाली वस्तुको भाउ सस्तो भए पनि खास निर्यात बढ्न नसक्ने अवस्था छ । खानेकुरादेखि पेट्रोलसम्म विदेशी आयातमा भरपर्ने नेपालीहरूको निम्ति त्यो महँगी निकै पीडादायक बन्न सक्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया