Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिक्षेपमा संकलनमा नौ दशमलव सात प्रतिशतले वृद्धि

निक्षेपमा संकलनमा नौ दशमलव सात प्रतिशतले वृद्धि


सुरेश राउत
काठमाडौँ, , जेठ २९
बैंकिङ क्षेत्रमा निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप नौ दशमलव सात प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १० दशमलव छ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६ दशमलव नौ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि चैत ११ गते लकडाउन घोषणा गरेको थियो ।

सो पश्चात् भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिएका छन् । जेठको तेस्रो सातासम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले उक्त अनुपातमा निक्षेप संकलन गरेका हुन् । ‘लकडाउन सुरु हुनुअघि बैैंकिङ क्षेत्रको कुल निक्षेप ३४ खर्ब ९४ अर्ब रुपैयाँको हाराहारीमा रहेको रहेकोमा उक्त निक्षेप जेठको तेस्रो सातासम्म आइपुग्दा बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको हो’, प्रवक्ता डा. भट्टले भने ।

राष्ट्र बैंकका अनुसार २०७६ चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३२ दशमलव दुई प्रतिशत र ४९ दशमलव दुई प्रतिशत अंश रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३३ दशमलव छ प्रतिशत र ४७ दशमलव तीन प्रतिशत रहेको थियो । २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव चार प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव दुई प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । वार्षिक विन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४ दशमलव तीन प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको २०७६ चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव एक प्रतिशत घरजग्गाको धितोमा प्रवाह भएको छ । यसबाहेक १३ दशमलव तीन प्रतिशत चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७५ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ प्रतिशत र १४ दशमलव एक प्रतिशत रहेको थियो ।

चालू आवको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १४ दसलमव आठ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२ दशमलव आठ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ दशमलव चार प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १४ दशमलव सात प्रतिशत र सेवा क्षेत्रतर्फ १९ दशमलव दुई प्रतिशतले कर्जा बढेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २४ दशमलव सात प्रतिशत, ओभरड्राफ्ट कर्जा सात दशमलव आठ प्रतिशत र ट्रष्ट रिसिट अर्थात् आयात कर्जा १५ दशमलव नौ प्रतिशतले बढेको छ । यसबाहेक डिमान्ड तथा चालू पुँजी कर्जा ११ दशमलव तीन प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) आठ दशमलव छ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा चार दशमलव चार प्रतिशत र हायर पर्चेज कर्जा शून्य दशमलव एक प्रतिशतले बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x