६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकअन्तर्गतको बैंक सुपरीवेक्षण विभागका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले केन्द्रीय बैंकको निर्देशन पालना नगरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित)को दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र कालीमाटी शाखाले स्वीकृत गरी सो प्रतितपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोभिसरी नोट जारी गरी बेनिफिसरीबाट बैंकले कुल ४१ करोड ३६ लाख रुपैयाँबराबरको बिल पर्चेज गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको म्याचुरिटी डेट बारम्बार थप गरी २०७९ चैत मसान्तसम्म इभर ग्रीन गरी असल कर्जाकै रुपमा देखाई केन्द्रीय बैंकबाट जारी एकीकृत निर्देशनविपरीत कार्य गरेको पाइएको छ । यस्तै आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्वबापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको, एकीकृत निर्देशनको निर्देशन नं. १ (१) तथा क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ बमोजिम पुँजीकोष गणना गर्दा केही कर्जाहरुको जोखिम भारित सम्पत्तिलाई कम देखाई गणना गरेको लगायत कैफियतका आधारमा राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाहीस्वरुप सचेत गराएकोे छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ । प्राइमले एकीकृत निर्देशन २०७९ को निर्देशनबमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र २०७८ चैत महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकोले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको राष्ट्र बैंकले जनाएको छ । प्रचलित कानुन र केन्द्रीय बैंकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएकोले बैंकको सञ्चालक समितिलाई पनि राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ ।
कुमारी बैंकले पनि राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । कुमारी बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको हो । राष्ट्र बैंकबाट जारी ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलबभत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन’को व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलबभत्ता र सुविधा दिनेगरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी दुई करोड तीन लाख भुक्तानी दिने निर्णय गरेकोले कुमारी बैंकको सञ्चालक समितिलाई पनि राष्ट्र बैेंकले कारबाही गरेको छ । राष्ट्र बैंकले सो रकम ३५ दिनभित्र असुलउपर गर्न सञ्चालक समितिलाई निर्देशन दिएकोमा रकम असुलउपर भएको जनाएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेडलाई पनि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । एक प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी÷गराई उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी÷गराई भुक्तानी भएकोले राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं ६÷८० को बुँदा ८ (ख)मा भएको व्यवस्था उल्लंघन भएको देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त कैफियतमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०० को उपदफा (२) बमोजिम राजेन्द्रकुमार खेतानलाई १० लाख जरिबाना गरिएको राष्ट्र बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंक (साबिक लक्ष्मी बैंक लि.)बाट प्रवाह भएको कर्जा बैंकका सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकले राष्ट्र बैंकबाट जारी गरेको एकीकृत निर्देशन, २०८० अनुसार वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा व्यवस्था गर्न नसकेको र बमोजिम शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्णरुपमा लागू गर्न नसकेकोले कारबाही गरिएको राष्ट्र बैंकको जनाएको छ । राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को बुँदा नं. १ (क) र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९९ को बुँदा नं. १ (क) बमोजिम सचेत गराएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकबाट जारी भएकोे ‘एकीकृत निर्देशन, २०८०’को पूर्ण पालना नगरेपछि कारबाहीमा परेको छ । एक्सेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को बुँदा न.१(क) र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९९ को बुँदा न. १(क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया