राजाको शासन कालसम्म सुन्दर, शान्त र आत्मनिर्भर नेपाल कांग्रेस र कम्युनिस्टले शासन गर्नथाले यता गरिब, विरुप, विकालाङ्ग, परनिर्भर, मगन्ते अवस्थामा पुगेको छ । मुलुकको स्रोत साधान लुटेर र जनता चुसेर कांग्रेस र कम्युनिस्टका नेताहरु नव सामन्त बनेका छन् । मुलुकको अवस्था यति विकाराल बनिसक्यो कि कुनै पनि युवापुस्तामात्र होइन स्कुले बालबालिकासमेत छिटै मुलुक छाडेर बाहिर जाने मनस्थितिमा छन् । देशका उद्योग धन्दा, कलकारखाना ठप्प छन् । बेरोजगारी समस्या विकराल छ । यस्तो अवस्थामा देशको भविष्य नदेखेर नै सबै विदेशिने अवस्थामा पुगेका हुन् ।
नेपालमा लोकतन्त्र र गणतन्त्र जनताका लागि आएन सीमित नेता, उनका सीमित कार्यकर्ता र आसेपासेलाई मात्र आयो । आम जनताका लागि यो सेतो हात्तीबाहेक केही बनेन । देश र जनताका लागि काम गर्छु भन्ने व्रmान्तिकारी कुरा गर्ने नेताहरु सबै सत्ताका दलाल बने । उनीहरु जसरी भए पनि सत्तामा पुग्ने र देश लुट्ने अनि आफू धनी बन्नेबाहेक अरु सोचेनन् जसले गर्दा नेताप्रति जनताको पूर्ण विश्वास गुमेको छ ।
अहिले गठबन्धन बनाएर कम्युनिस्टहरु सत्तामा छन् । कम्युनिस्टमा सत्ताकेन्द्रित मानसिकतामा यति जड भएर बसेको छ कि, तिनमा सत्ताबाहिर बस्न नसक्ने चरित्र हाबी भएको छ । जुन तह र तप्काको मत÷समर्थनमा नेताहरूले सत्ताको साँचो हात पारे, तिनको वर्गीय उत्थान उनीहरूको मुद्दा बन्नै सकेन ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । मुलुकमा राणा शासनविरुद्ध आन्दोलन चलिरहेकै बेला २००६ वैशाख १० गते (२२ अप्रिल) नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । उक्त अवसरमा नेकपा (एमाले)ले हीरक महोत्सव आयोजना गर्यो । समारोहमा विभिन्न कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू मात्रै होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सरिक भए । उनीहरुले सत्ताको भाषण बाहेक अरु केही गरेनन् । सत्ताबाहेक अरु सब कुरा बिर्सिसकेर नेताहरु ढोंगी बन्नु चिन्ताको विषय हो ।
अहिले कम्युनिस्टहरूप्रति औधि विकर्षण छ । हुन त यतिबेला सरकारको नेतृत्वमा कम्युनिस्ट पार्टीकै नेता छन् । गठबन्धनका मुख्य सहयात्री कम्युनिस्ट नै छन् । विभाजित भए पनि सबैको मत जोड्दा आज ठूलो राजनीतिक शक्ति कम्युनिस्ट नै हुन् । यथार्थ के हो भने ७५ वर्षे पाको नेपाली कम्युनिस्ट आन्दोलनप्रति आमजनको मोहभंग हुँदै गएको छ ।
नेपालमा साढे सात दशक लामो कम्युनिस्ट आन्दोलनले नेपालीलाई हिंसा, आतङ्क र आश्वासनबाहेक केही दिएन । कम्युनिस्टहरूको ‘क्रान्तिकारी’ छवि कसरी ढोंगी चरित्रमा बदलियो ? मुक्तिकामी योद्धा कहलिएका कम्युनिस्टहरू किन खलपात्र बन्दै छन् ? वामपन्थी प्रभाव रहेको नेपाली समाजमा यस्ता प्रश्न उठिरहन्छन् ।
कार्ल माक्र्सले करिब १७५ वर्षअघि समाजवाद हुँदै साम्यवादी व्यवस्थाको परिकल्पना गरेर कम्युनिस्ट घोषणापत्र लेखेपछि त्यसले कम्युनिस्टहरू संगठित हुन थालेका हुन् । त्यही आयातित राजनीतिक दर्शनबाट प्रभावित भएर नेपाली कम्युनिस्टहरू पनि संगठित हुँदै आए ।
नेपाली कम्युनिस्टहरूले संगठन निर्माणको मुख्य आधार समाजको तल्लो तहका विपन्न जनताका जनजीविकाका मुद्दालाई बनाए । तिनले प्रगतिशील राष्ट्रवादको नारा बोके । २०४६ को ऐतिहासिक जनआन्दोलनअघि नेपाली कम्युनिस्टहरूका लागि संघर्षको चरण थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा भएका आन्दोलनमा कम्युनिस्टहरूले काँधमा काँध मिलाए । राणा शासनविरुद्ध आन्दोलन चलेकै बेला नेपाली कम्युनिस्टहरू संगठित भए । २०४६ को जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त पहलमा भएको थियो । २०६३ मा सम्पन्न दोस्रो जनआन्दोलनमा पनि नेपाली कांग्रेससँगै एमाले, माओवादी लगायतका कम्युनिस्टहरू सक्रिय सहभागी भए ।
लोकतान्त्रिक आन्दोलनसँगै नेपाली कम्युनिस्ट पनि लोकतान्त्रिकीकरण भए । जनवादी सत्ता स्थापनाका लागि दशक लामो हिंसाको राजनीति गरेको माओवादी पनि अन्ततः लोकतान्त्रिक प्रक्रियामा मिसियो । तर जब सत्ता यात्रा सुरु भयो, त्यसपछि कम्युनिस्ट राजनीतिको स्खलन हुन थाल्यो ।
२०४६ सालको आन्दोलनपछि कांग्रेससँगै एमालेको सत्ता यात्रा सुरु भयो । ०६३ को दोस्रो जनआन्दोलनपछि माओवादीले पनि सत्ताको स्वाद लियो । यो साढे तीन दशकमा स–साना कम्युनिस्ट घटकका एकाध नेताले सत्ताको स्वाद चाखे पनि मूलतः दुई ठूला कम्युनिस्ट पार्टी पटकपटक सत्तामा पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो पटक सरकारको नेतृत्वमा छन् ।
एमाले अध्यक्ष केपी दुई पटक प्रधानमन्त्री भए । हाल एमालेबाट विभाजित भएर नेकपा एसमा संगठित माधव नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री भइसके । माओवादीमै छँदा बाबुराम भट्टराई पनि एक पटक प्रधानमन्त्री भए । पहिलो कम्युनिस्ट प्रधानमन्त्रीचाहिँ मनमोहन अधिकारी हुन्, जो ०५१ को मध्यावधि निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा नौ महिना अल्पमतको सरकारको नेतृत्वमा रहे । अनेक पटक कम्युनिस्ट नेताहरू सत्तामा पुगे । तर मनमोहनबाहेक अरुले देश र जनतकाले सम्झने एउटा पनि काम गर्न सकेनन् ।
पहिले ‘सत्ता बाहिर बस्दा पानीबिनाको माछा जस्तो’ भनेर कांग्रेसको आलोचना हुन्थ्यो । २०४६ सालको परिवर्तनपछिको संसदीय अभ्यासमा गिरिजाप्रसाद कोइरालामा जसरी पनि सत्तामै पुग्ने जुन प्रवृत्ति हुर्कियो, अहिले कम्युनिस्टका शीर्ष नेतामा त्यही रोग छ ।
कम्युनिस्टहरू सत्तामा पुगेपछि दुर्गन्धित भएका छन् । राष्ट्रिय सम्पत्तिको दोहन तिनको मुख्य अभीष्ट बन्दै गएको छ । नातावाद, परिवारवाद र आसेपासे पोस्ने तिनको कार्यसूची बन्न थालेपछि कम्युनिस्टहरूप्रति आमजनको विश्वास धुमिल हुँदै गएको हो । प्रधानमन्त्री प्रचण्ड परिवारवादमा लिप्त छन् । आसेपासे र बिचौलिया ट उनको रोजाइमा छन् । यो प्रवृत्ति अरू प्रधानमन्त्रीहरूमा पनि नदेखिएको होइन । यद्यपि दाहाल यसमा अझ अगाडि देखिए ।
कम्युनिस्ट नेताहरूको वर्ग फेरिएको छ । निम्न मध्यवर्गीय पारिवारिक पृष्ठभूमिबाट कम्युनिस्ट राजनीतिमा छिरेका नेताहरू अभिजात्य वर्गमा परिणत भएका छन् । एउटै पार्टीभित्र एकथरी मालिक र अर्काथरी दास वर्ग छ । व्यक्तिगत सम्पत्तिलाई पार्टीकरण गरेर राजनीतिक संघर्षमा लागेका कम्युनिस्टहरू सत्ता यात्रापछि अस्वाभाविक हिसाबले धनी बनेका छन् । कम्युनिस्ट नेताहरूको जीवनशैली न्यूनतम आवश्यकतामा चित्त बुझाएर बस्ने खालको छैन । कम्युनिस्ट नेताहरूको घर, गाडी, सम्पत्ति, तिनको दैनिक रवाफ कुनै सामन्तभन्दा कम छैन । कम्युनिस्टहरू ‘नवसामन्त’ मा रूपान्तरित भए ।
दलाल पुँजीवादको चंगुलमा परेका कम्युनिस्ट नेताहरूको उठबस संघर्षकालीन सहयोद्धासँग होइन, बिचौलियाहरूसँग बढी छ । बिचौलियाको पहुँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको शयनकक्षसम्मै पुगेको छ । आर्थिक अनियमितता र भ्रष्टाचारका प्रकरणहरूमा कम्युनिस्ट नेताहरू चुर्लुम्म डुबेका छन् । राजनीतिक, आर्थिक सबै दृष्टिले नेतृत्व अपारदर्शी छ ।
हुन त यी प्रवृत्ति कम्युनिस्ट पार्टी र तिनका नेतामा मात्रै हुर्केको होइन, समग्र राजनीतिमै यसखाले चरित्र हाबी छ । लोकतान्त्रिक आन्दोलनको नेता कांग्रेसभित्र लोकतन्त्रको अवस्था झन् कमजोर छ । यद्यपि समाज रूपान्तरणको अवसर पाएका कम्युनिस्ट नेताहरू चुक्दा वामपन्थी जनमतको बाहुल्य भएको नेपाली समाजमा नैराश्य थपिएको छ ।
अहिले पनि एमाले, माओवादी र एमालेबाटै चोइटिएको एकीकृत समाजवादी लगायतको सत्ता गठबन्धन छ । यो गठबन्धनमा राजनीतिक संस्कार, मूल्य, मान्यता, आदर्श केही छैन, बरु यी सबै सत्ता अवसरवादमा चुर्लुम्म डुबेका छन् । कम्युनिस्ट राजनीतिले जनजीविकाको मुद्दामा हस्तक्षेपकारी भूमिका खेल्दै, सादगी र नमुना जीवनयापन गरेर प्रगतिशील राष्ट्रवादको झन्डा फहराउन सक्ने अवसर गुमाएको छ । पटक पटक लोकतन्त्र स्थापना भए पनि यो प्रणाली कमजोर छ, संस्थागत हुन सकेको छैन ।
नेपाली लोकतन्त्र ‘नेताको, नेताद्वारा, नेताका लागि गरिने शासन व्यवस्था’ मा परिणत भएको छ । लोकतन्त्रको आवरणमा जसरी राजनीतिक नेतृत्वले निर्बाध विचौलियातन्त्र, गुटतन्त्र, व्यक्तितन्त्र, परिवारतन्त्र, आसेपासेतन्त्र चलाइरहेको छ, यहाँनेर जनता, तिनका समस्या, मुद्दा सबै गौण छन् ।
आजको यथार्थ के हो भने जनताले आश गरेका कांग्रेस र कम्युनिस्ट कसैले पनि देश र जनतको पक्षमा काम गर्न सकेनन् । जसका कारण देश नै नरहने अवस्थामा पुगिसक्यो । त्यसैले देश बचाउन अब नेपालमा राजासंस्था पुनस्र्थापनाको विकल्प छैन ।
क्याटेगोरी : बिबिध, बिशेष, विचार / ब्लग
ताजा अपडेट
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया