Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदक्षिण एसियाली महिलाहरूको सम्मेलन नेपालमा

दक्षिण एसियाली महिलाहरूको सम्मेलन नेपालमा


काठमाडौं । दक्षिण एसियाली महिलाहरूको सम्मेलन नेपालमा हुने भएको छ । ‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरणलाई मुख्य विषय बनाएर सो सम्मेलन गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय विकास संस्था, ललितपुर, दक्षिण एसियाली महिलाहरूको सञ्जाल, नयाँ दिल्ली, भारत र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले संयुक्तरूपमा आयोजना गर्न लागेको सम्मेलन आइतबारदेखि मंगलबारसम्म होटल हिमालय, कुपन्डोल ललितपुरमा हुनेछ । सम्मेलनले दक्षिण एसियाभरका महिलाहरूले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठ्यारोको विषयलाई लक्षित गरेको छ । यसमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास रहेका छन् । साथै, लघु, साना र मध्यमस्तरका व्यवसायहरूलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तनजस्ता समसामयिक विषयलाई समेट्न खोजेको छ ।

यस सम्मेलनको मुख्य उद्देश्य दक्षिण एसियाभित्रका विशेष गरी ग्रामीण पर्यटन व्यवसायअन्तर्गतका महिलाहरूको आर्थिक सशक्तीकरण, डिजिटल प्रविधिसँग सम्बन्धित सेवा सुविधाहरू, क्षमता विकास, आयस्रोतको वृद्धि, लैङ्गिक समानता र प्रतिस्पर्धात्मक सोचलाई प्रविधि र विश्व बजारसँग समन्वय गर्नका लागि एउटा अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ । सम्मेलनले दक्षिण एसियाली महिलाहरूलाई एउटै सञ्जालमा राखेर उनीहरूको अनुभव आदानप्रदान गरी ग्रामीण महिलाहरूलाई रोजगारीको अवसर सिर्जना गराउने एउटा पुलको भूमिका निर्वाह गर्नेछ । सम्मेलनमा महिला उद्यमीहरूका सफलताको कथा प्रस्तुत गरिनेछ ।

सम्मेलनले दक्षिण एसियाली महिलाद्धारा सञ्चालित लघु, साना र मध्यमस्तरका व्यवसायहरूको प्रवद्र्धन गर्ने, लैङ्गिक डिजिटल ग्यापलाई कम गर्न पुलको रूपमा काम गर्ने र महिलाहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउन सहयोग गर्ने अपेक्षा राखिएको छ । सम्मेलनमा दक्षिण एसियाका लघु, साना र मध्यमस्तरका महिला उद्यमी व्यवसायीहरू, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अनुसन्धानकर्ताहरू, वित्तीय संस्थाहरू, प्रविधि प्रदायक संस्थाहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, कर्पोरेट क्षेत्र, युवा तथा विद्यार्थी, विकास एजेन्सीहरू, सञ्चारकर्मी र नागरिक समाजको सहभागिता रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया