Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा प्राधिकरणको प्रभातफेरी

बीमा प्राधिकरणको प्रभातफेरी


काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट बिहान ७ बजे सुरू भएको प्रभातफेरी र्याली बीमासम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न वर्गलाई लक्षित गरी गाउँ–गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ ।’

बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने उल्लेख गर्दै अध्यक्ष सिलवालले निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको बताए । अध्यक्ष सिलवालले भने, ‘सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिमविरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारलगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास छ ।’

नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्य कपिलदेव ओलीले प्राधिकरण, बीमकलगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न वर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए ।

प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकलगायत कर्मचारीहरूका साथै नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ, बीमा सर्भेयर संघ र पेसागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।

पुरस्कार तथा प्रमाणपत्र वितरण
नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिता र बीमासम्बन्धी निबन्ध प्रतियोगिताका विजयीहरूलाई सोमबार पुरस्कार, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणका कर्मचारीहरूबीच भएको महिला र पुरूषतर्फका फुटबल प्रतियोगिताहरूमा विजयी खेलाडीहरूलाई पदक तथा ट्रफी वितरण गरे । अध्यक्ष सिलवालले सातवटै प्रदेशमा भएको बीमासम्बन्धी निबन्ध प्रतियोगितामध्ये बागमती प्रदेशबाट प्रथम स्थान हासिल गरेका प्रतियोगीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

अध्यक्ष सिलवालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दोसल्ला ओढाइ सम्मान गरे ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x