नेपालमा सहरीकरणको अवस्था र स्थिति, कारण समस्या तथा सुझाव
काठमाडौं । साधारण शब्दमा हेर्दा सहर त्यो हो जहाँ मानिसहरूको मुख्य पेसा कृषिबाहेक अन्य द्वितीय र तृतीय व्यवसायको रूपमा हुन्छ । जो यातायात, प्रशासन, शिक्षा, चिकित्सा आदि विविध प्रकारका सामाजिक सांस्कृतिक कार्यहरूको केन्द्रविन्दु रहेको हुन्छ, जहाँ प्राकृतिक साधनहरूलाई स्वरूप गुणमा परिवर्तन गरी सामानको रूपमा प्रयोग गरिन्छ । अर्को शब्दमा घना आवादीको क्षेत्र नै सहर हो, जहाँ हरेक प्रकारका सुविधा प्राप्त हुन्छ । यस आधारमा हेर्दा सहर भन्नाले मानव निवासीहरूको त्यस प्रकारको स्थायी र सघन समूहलाई भनिन्छ, जहाँ गैरकृषि क्षेत्रको प्रधानता रहेको हुन्छ । सहरीकरण शब्दको उत्पत्ति ल्याटिन शब्दबाट आएको हो ।
सहरीकरणले त्यस प्रक्रियालाई संकेत गर्छ, जसको माध्यमबाट सहरको निर्माण हुन्छ । यसको अतिरिक्त सहरीकरणको अर्थ मानिसहरूद्वारा सहरी सभ्यतालाई स्वीकार गर्नु हो । लगभग हरेक देशमा गाउँबाट सहरतिर जनसंख्याको बसाइँसराइ हुन्छ । सहर शब्दले भूमिको उपयोग, सेवाको प्रावधान, स्थानीय अधिकार भवन र सडकहरूको विभिन्नरूपलाई देखाउँछ । सहरी क्षेत्रले घनत्व, आकार, अवस्था र यसको प्रयोग गर्ने तरिकालाई देखाउँछ ।
सहरीकरणमा परिवर्तन ल्याउने तत्वहरू भन्नाले विभिन्न प्रकारका सामाजिक, आर्थिक, प्राविधिक तथा भौतिक पक्षलाई समेत लिने गरेको पाइन्छ । प्राविधिक शक्तिले प्रारम्भिक सहरी क्षेत्रमा परिवर्तन ल्याउने काम गरेको हुन्छ । सुधारिएको प्रविधिसँगै सहरी जीवनलाई पनि क्रान्तिकारी तुल्याउँदै लगिएको हुन्छ । सहरमा प्रविधिकै कारण यातायातको सुविधाले काम गर्न मानिसहरू धेरै किलोमिटर टाढासम्म जान सक्ने वातावरण भएको हुन्छ । किनभने प्रविधिले दूरीलाई छोटो तुल्याउन मद्दत गरेको हुन्छ । सुन्दरता, स्वास्थ्य र भौतिक सुविधाहरू सहरी योजनाका धेरै महत्वपूर्ण तत्वहरू हुन् । सहरका भौतिक साधनहरू भवन, सडक र भूमि हुन् । भौतिक साधनलाई सामाजिक, आर्थिक र प्राविधिक तत्वहरूबाट पन्छिने कुरामा हेर्न सकिने छैन । प्राविधिक, आर्थिक, सामाजिक र भौतिक तत्वहरू सहरीकरणका प्रक्रिया परिवर्तन ल्याउने महत्वपूर्ण साधनहरू हुन् । प्राविधिक तत्वहरूले सहरी क्षेत्रमा उत्पत्तिका लागि एउटा आधारलाई प्रोत्साहित गर्छन् । सुधारिएको प्रविधिले सहरी जीवनमा क्रान्ति ल्याउँछ । सहरमा जनसंख्याको वृद्धि, ठूलाठूला भवनहरूको निर्माण, औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि, आधुनिक सुविधाको खोजी र विकास, घना र बाक्लो भई सहरले विगतको आफ्नो आधार स्थिति र स्वरूपमा परिवर्तन गर्दै आजभन्दा भोलि आफ्नो फैलावट बढाउने गर्छ ।
सहरको अवधारणा कहाँबाट कहिले र कसरी आयो भन्ने सन्दर्भमा खासै तथ्यगत प्रमाणहरू भेटिएको छैन । तथापी सहरीकरण प्रक्रिया मानव विकासको सभ्यतासँगसँगै जोडिएको पाइन्छ । ऐतिहासिक पृष्ठभूमिलाई दृष्टिगत गर्दा ईपू ६००० मा टिग्रिस र अफ्राटेस नदीको किनारामा मेसोपोटामिया सभ्यताको सुरुवात सँगसँगै सहरहरूको सुरुवात भएको पाइन्छ । मानव जब ढुंगे तथा जंगलीयुगबाट बिस्तारै खेतीपातीतर्फ लम्कन थाल्यो तब ऊ सुविधायुक्त र योग्य जग्गा जमिनतिर आकर्षित हुन पुग्यो । यसरी समथर, उब्जाउयुक्त र राम्रो हावापानी तथा सुविधा भएको ठाउँमा मानिसहरू एकत्रित हुने क्रममा सहरी क्षेत्रको विकास हुन पुगेको देखिन्छ ।
सहरीकरणको ऐतिहासिक प्रक्रियासम्बन्धी जी हर्ड र अन्यले तीन तहका बारेमा उल्लेख गरेका छन् । एउटा तह अठारौं शताब्दीमा जब मानिस सहरमा बस्न थाले त्यसबेलादेखि नै केही सहरी बस्तीको विकास भएको हो । दोस्रो तह भनेको औद्योगीकरणको व्यापक वृद्धिको अवस्था हो । तेस्रो अवस्था भनेको नगरीकरणको उच्च विकासको स्वरूप हो । जहाँ व्यक्ति र धनको केन्द्रिकृत भएको हुन्छ । यस्तै, अन्य संस्थाहरूको प्रचुर विकास भएको हुन्छ । युरोपमा सहरीकरण र ओद्योगिकीकरणको प्रक्रिया सँगसँगै विकास भएको पाइन्छ । वर्तमान समयमा अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकी देशहरूमा सहरी विकासको प्रक्रियाहरू तीव्र छ । यी स्थानहरूमा ग्रामीण बस्तीबाट दिन प्रतिदिन सहरी बस्तीमा मानिसहरू बढ्दो अवस्थामा आएको पाइन्छ । जसको एउटा प्रमुख कारक तत्व भनेको असन्तुलित विकास नै हो ।
सहरीकरण हुनुमा मुख्यतया निम्न कारणहरूलाई जिम्मेवारी मान्न सकिन्छ । (१) आर्थिक विकास (२) बसाइँसराइ (३) राजनीतिक र सामाजिक परिवर्तन (४) उच्चदरमा ग्रामीण जनसंख्यामा वृद्धि हुनु (५) आर्थिक ध्रुवीकरण । हालको अवस्थालाई दृष्टिगोचर गर्दा स्पष्टतः दुईरूपमा सहरीकरण हुन गएको पाइन्छ । (१) ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा हुन गएको जनचाप (२) क्रमिकरूपमा जनसंख्याको वृद्धि । नेपालमा सहरी विकास प्रक्रियाका कारक तत्वहरूमा जनताको बढ्दो महत्वाकांक्षाहरू, औँलो उन्मूलन र राजमार्गको निर्माण, अन्तर्राष्ट्रिय माग बढाउने उद्योगधन्दाहरूको विकास र विस्तार, पर्यटन स्थल र धार्मिक स्थलको अवस्थिति रहेका छन् । त्यस्तै, जिल्ला र क्षेत्रीय सदरमुकामको कारण नेपाल भारतीय सिमानामा रेल्वेको सुविधा, आन्तरिक सुरक्षा र सुविधा तथा नगरपालिकाहरूको स्तरवृद्धि भएका कारणहरूलाई लिन सकिन्छ । नेपाल दक्षिण एसियाली देशहरूको तुलनामा मात्र होइन, प्रायः सबै विकासोन्मुख देशहरूको दाँजोमा समेत कम सहरीकरण भएको मुलुक हो ।
सहरीकरणका विशेषताहरू : १. सुकुम्बासी र गरिबहरूको वृद्धि, २. पेसागत संरचनामा परिवर्तन, ३. भौतिक वातावरणमा परिवर्तन, ४. सहरी क्षेत्रमा जनघनत्वमा वृद्धि, ५. आधुनिक सेवा सुविधामा वृद्धि, ६. संस्कृति र परम्पराको आदानप्रदान, ७. मूल्यमान्यता, व्यवहार र संस्थागत व्यवस्थामा परिवर्तन, ८. गाउँबाट सहरतिर बसाइँसराइ गर्ने प्रवृत्ति, ९. नयाँ अवसर र चुनौतीहरूको सिर्जना, भौगोलिक क्षेत्रको विस्तार ।
सहरीकरणको वर्तमान अवस्था र स्थितिलाई हेर्दा वायु प्रदूषणबाट मानिसमा मानसिक थकाई टाउको दुख्ने, रुघाखोकी, टन्सिल, टीबी र छालासम्बन्धी विभिन्न रोगहरू लाग्छन् । वायुमण्डलमा धुलोका कणहरू धुँवाको मात्रा वृद्धि हुन्छ र फलस्वरूप आँखासम्बन्धी विभिन्न रोग लाग्नुको साथै दृष्य शक्ति पनि घट्छ । त्यस्तै, दूषित पानीबाट विभिन्न प्रकारका सरुवा रोगहरूजस्तै म्यादी ज्वरो, टाइफाइड, कमलपित्त, झाडावान्तालगायतका रोगहरू लाग्छन् । जल प्रदूषणबाट उत्पन्न हुने रोगहरूमा रुघाखोकी, निमोनिया र विभिन्न प्रकारका जुकाहरू पनि पर्दछ । विभिन्न मानवीय क्रियाकलाप प्रदूषणको कारणबाट भूमि प्रदूषण हुन्छ र भूमिको उर्वराशक्तिमा ह्रास आउँछ जसको कारण भोकमरी हुन्छ र बालबालिकाहरूमा कुपोषणको समस्या उत्पन्न गराउँछ ।
पहाड र हिमाली भेगबाट तराईको वातावरणमा परेको व्यापक बसाइँसराइको लागि निम्नलिखित कारणहरूलाई जिम्मेवार मान्न सकिन्छ : (क) पुनर्वास कार्यक्रमहरू (ख) उब्जाउ खेतीयोग्य जमिनको उपलब्धता (ग) रोजगारीका अवसरहरू (घ) तुलनात्मकरूपमा सञ्चार तथा यातायातका राम्रा सुविधाहरू । तराईमा मलेरियाको रोकथामपछि खेतीयोग्य जमिनको पर्याप्त उपलब्धता तथा तुलनात्मकरूपमा गतिलो आधारभूत सुविधा प्राप्त हुनाले पहाड तथा हिमाली भेगबाट बसाइँसराइसम्बन्धी गतिविधि बढ्यो । पहाड तथा लेकबाट तराईमा हुने बसाइँसराइसम्बन्धी यस्तो गतिविधिलाई ईस्वीको उन्नाइसौं शताब्दीको साठीको दशकमा सरकारद्वारा स्थापित पुनर्वास कार्यक्रमले सघाउ पु¥यायो । फलस्वरूप पहाड र लेकका बासिन्दाहरूको तराई क्षेत्रमा बसाइँसराइ बढेको देखिन आउँछ । नेपालमा विदेशीहरूको आप्रवासनबाट आर्थिक पक्षमा सकारात्मक र नकारात्मक प्रभाव पर्न गएको छ । नेपालमा भित्रिने आवासीहरूबाट आर्थिक पक्षमा सकारात्मकभन्दा नकारात्मक असर पर्न गएको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा आप्रवासनबाट नेपालीहरूको रोजगारीमा अतिक्रमण हुन गएको छ । देशमा दक्ष र अर्धदक्ष जनशक्तिको कमी आप्रवासीबाट पूर्ति हुनाले नेपालीहरूको कार्यक्षमता, कार्यदक्षता र सीपको विकासमा बाधा पुग्न गएको छ । आप्रवासी व्यापारीहरूको चहल पहलले नेपाली व्यापारीहरू विस्थापित भएका छन् । गैरकानुनी व्यापारको वृद्धि हुन गएको छ । देशभित्र पुँजी निर्माण हुन सकेको छैन । उद्योगधन्दा तथा व्यापारमा आप्रवासीहरूको पकडले व्यापार तथा उद्योग धन्दामा उनीहरूको एकाधिकार बढ्दै गइरहेको छ ।
नेपालमा कुल जनसङ्ख्याको ६६ दशमलव दुई प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गर्छन् । (स्रोतः जनगणना, २०७८) यसरी सहरी जनसङ्ख्या तीव्ररूपमा बढ्दै जाने र यसबाट प्रभाव पर्ने पक्षहरूमा खासगरी आर्थिक वृद्धि, रोजगारी सिर्जना, नवप्रवर्तन र सांस्कृतिक आदानप्रदानलगायतका सवालहरूमा निर्णायक केन्द्रको रूपमा रहने सहरहरूको अर्थ व्यवस्थाहरूको स्थिति आफ्ना बासिन्दाहरूमा लाभ प्रदान गर्न सक्ने हुन्छन् भन्ने विषय आजको बहस भएको छ । यसका लागि समावेशी तथा लचिलो सहरी विकास, जीवन्त आकर्षक स्थानसहितको पसलमाथि र अपार्टमेन्टहरू, अभिनव रेस्टुरेन्ट, हाइटेक हबलगायतका चौबीसै घण्टा गतिशील रहेको सहर, विद्यमान सामग्रीहरू एवम् वस्तुहरूको बाँडफाँट गर्दै, लिजिङ, पुनप्र्रयोग, मर्मत, नवीकरण गर्दै, रिसाइक्लिङ गर्दै उत्पादन र उपभोगको शृङ्खलामा रहन सक्ने किसिमको सर्कुलर अर्थव्यवस्थासहितको मानव केन्द्रित विकास प्राथमिकताका विषयहरू रहेका हुन्छन् ।
महानगरपालिकाको १७ प्रतिशत सहरोन्मुख क्षेत्र रहेको तथा दुई दशमलव तीन प्रतिशत ग्रामीण विशेषताको र ८० दशमलव सात प्रतिशत सहरी क्षेत्र रहेको तथ्यांकमा उल्लेख छ । गाउँपालिकाको दुई हजार चार सय १२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ । जबकि अधिकतम सहरोन्मुख छ सय ६४ वडामा ३६ दशमलव एक प्रतिशत र सहर केन्द्रित एक सय ३९ वडामा पाँच दशमलव नौ प्रतिशत जनसंख्या रहेको देखिन्छ । त्यस्तै, नगरपालिकाको २८ दशमलव चार प्रतिशत जनसंख्या सहरी क्षेत्रमा पाँच सय ९१ वडा करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा १२ सय ८५ वडा र अझै पनि २५ दशमलव चार प्रतिशत १२ सय ४४ वडा ग्रामीण क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ । उपमहानगरपालिकामा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत सहरी वर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ । नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख नै रहेको तथ्यांकले देखाउँछ । त्यसैगरी सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको संख्या धेरै तीन हजार छ सय ८५ छ । ती क्षेत्रमा कुल जनसंख्याको ३३ प्रतिशत बसोबास गर्ने देखिन्छ । (लेखक भक्तपुर बहुमुखी क्याम्पस सह–प्राध्यापक, अर्थशास्त्री हुन् ।)
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया