Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुसको कमाइको लगानीमा हार्डवेयर व्यवसाय

घुसको कमाइको लगानीमा हार्डवेयर व्यवसाय


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणमा राजनीतिक नियुक्ति पाएपछि रातारात उनको परिवारका सदस्य अकुत सम्पत्तिको मालिक बनेको पाइएको छ । उक्त अकुत सम्पत्तिको स्रोतव्यक्ति भने कार्यकारी निर्देशक घिसिङ नै हुन् ।

घिसिङले २०७३ भदौ २७ गते प्राधिकरणमा पहिलो पटक कार्यकारी निर्देशक पदमा नियुक्ति पाएका थिए । उक्त पदमा नियुक्ति पाउनेबित्तिकै उनले पारिवारिक कम्पनी टेन्डल हार्डवेयर कम्पनी खोलेका थिए र बनेपापूर्वका सबै हाइड्रोपावर कम्पनीमा उनले बनेपामा आफ्नो भाइहरूको नाममा खोलेको हार्डवेयर कम्पनीबाट निर्माण सामग्री दबाबपूर्वक सप्लाई गर्नेगरेका थिए ।

अहिले उक्त हार्डवेयर कम्पनीले पाँचखाल र काठमाडौंको बौद्ध महांकालमा शाखा खोलेर कारोबार गर्दै आएको छ । उक्त कम्पनीको राजस्व छलीको आशंकामा २०७५ सालमै राजस्व अनुसन्धान विभागले छापा मारेर सिल गरेको थियो तर तीन महिनापछि घिसिङले राजस्वमा अधिकारीहरूसँग कुरा मिलाएर सिल खोलेका थिए ।

त्यसपछि उक्त हार्डवेयरले पाँचखाल र काठमाडौंमा शाखा बिस्तार गरेको थियो । तीन करोड रुपैयाँ लगानीमा उक्त हार्डवेयर खोलेको देखाइए पनि २२ रोपनी जग्गामा फैलिएको बनेपामा रहेको कार्यालयबाट मात्रै अर्बौँ रुपैयाँको कारोबार हुनेगरेको छ ।

दोहोरो बहीखाता तयार पारेर संगठितरूपमा राजस्व छली गर्दै सञ्चालित उक्त हार्डवेयर कम्पनी कुलमानको घुसको कमाइको लगानीमा खुलेको बताइएको छ । पहिलो कार्यकाल सकिएपछि उनी दोस्रो पटक २०७८ साल साउन २७ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि लामा कन्ट्रक्सनको १२ प्रतिशत सेयर खरिद गरिएको छ । चार अर्ब ४६ करोड क्रेडिट रेटिङ भएको कम्पनीको १२ प्रतिशत सेयर कुलमानका दाइ गणेश घिसिङको नाममा किनिएको छ ।

क्रेडिट रेटिङअनुसार ५३ करोड ६० लाख रुपैयाँ कारोबार हुनुपर्नेमा नौ करोड ६० लाख रुपैयाँ खरिदबिक्री भएको देखाएर करछली गरेको देखिएको छ । कुलमान प्राधिकरणमा दोस्रो कालका लागि कार्यकारी निर्देशक भएपछि भतिज अरुणको नाममा लामा कन्स्ट्रक्सनको सेयर खरिद भएको छ । यो संयोग मात्र होइन, गणेश घिसिङसँग उक्त सेयर खरिद गर्ने रकम जुटाउने स्रोत अहिलेसम्म भेटिएको छैन । उक्त रकम पनि कुलमानको नाजायज कमाइ रहेको आशंका गरिएको छ ।

कुलमान प्राधिकरणमा कार्यकारी निर्देशक हुनुअघि चिलिमे हाइड्रोपावर कम्पनीको प्रमुख भएका थिए र त्यहीबाट उनले अतिरिक्त कमाइको यात्रा सुरु गरेका थिए । ‘डेडिकेटेड फिडर’ तथा ‘ट्रंक लाइन’ बिजुलीको बक्यौता रकममा ६१ जना व्यापारीसँग गरेको भित्री कारोबारको अतिरिक्त आम्दानी समेत घिसिङले यसैगरी परिवारका विभिन्न सदस्यको नाममा सम्पत्ति जोड्न खर्च गर्दै आएका छन् । विभिन्न आयोजनाका पीपीए गर्दा घुसको दररेट तोकेर रकम उठाइएको कुरा बेलामौकामा प्रकाशमा आउने गरेको थियो । विभिन्न आयोजना निर्माणमा आएका कमिसन र प्रसारण लाइन बनाउन लिनेगरिएका प्रतिशतको कालो कमाइ समेत कुलमानले त्यसैगरी विभिन्न आयोजनामा परिवारका नाममा लुकाएर लगानी गर्नेगरेका छन् ।

कुलमानले गरेका भ्रष्टाचारका एक–एक घटनाका १६ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिसकेका छन् तर सत्ताको मुख सुँघेर छानबिन गर्ने बानी परेको अख्तियारले अहिलेसम्म कुलमानले गरेका भ्रष्टाचारका बारेमा परेका उजुरीलाई छानबिनको दायरामा ल्याउन आवश्यक ठानेको छैन र उसले फायल पालेर राखेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x