Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा ५५ अर्ब संकलन, नौ अर्ब दाबी

सामाजिक सुरक्षा कोषमा ५५ अर्ब संकलन, नौ अर्ब दाबी


काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५५ अर्ब तीन करोड रुपैयाँ पुगेको सामाजिक सुरक्षा कोषले बताएको छ ।

पछिल्लो तीन महिनामा कोषमा योगदान रकमबापत पाँच अर्ब ३२ करोड रुपैयाँ थपिएको छ । बुधबारसम्म ५५ अर्ब तीन करोड रुपैयाँ योगदान रकम संकलन भएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को छ र सात महिनामा योगदानबापत क्रमशः ४८ अर्ब ५३ करोड १३ लाख रुपैयाँ र ४९ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ संकलन भएको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भने ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको थियो । वैदेशिक रोजगारीमा रहेका स्वदेशभित्र र बाहिर दुवै सदस्यले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ । यसैबीच गत आर्थिक वर्षसम्म योगदान रकमस्वरूप कोषमा ३५ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको थियो । मासिक एकदेखि दुई अर्ब रुपैयाँ योगदान रकम थप हुँदा रकममा वृद्धि भएको प्रवक्ता विवेक पन्थीले बताए । प्रवक्ता पन्थीले कोषमा योगदान रकममा वृद्धि भएसँगै योगदानकर्ता पनि वृद्धि हुने तथा दाबी रकम समेत बढ्ने जानकारी दिए ।

बुधबारसम्म १३ लाख ६५ हजार पाँच सय ९१ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनले बताए । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा उक्त रकम संकलन भएको प्रवक्ता पन्थीको भनाइ छ । स्थानीय तहको उल्लेख्यरूपमा सहभागितासँगै कोषमा योगदान रकम र योगदानकर्ताको संख्या वृद्धि हुँदै गएको छ ।

कोषले सातवटै प्रदेशका स्थानीय तहसँग सम्झौता गरी अघि बढ्ने क्रममा योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि हुँदै गएको हो । पछिल्लो समय कोषले गण्डकी प्रदेशका पाँचवटा जिल्लाहरू तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ र पर्वतका ३१ वटा स्थानीय तहहरूसँग सम्झौता गरेको थियो । सोभन्दा अघि फेदीखोला गाउँपालिकासँग कोषले सम्झौता गरेको छ । यसरी आबद्ध गराउने स्थानीय तहको संख्या समेत बढाउँदै लैजाने योजनामा कोष रहेको छ । सम्झौताको क्रममा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसँग सामाजिक सुरक्षा योजना सञ्चालन सम्झौता सम्पन्न गरेको प्रवक्ता पन्थीको भनाइ छ ।

समीक्षा अवधिमा कोषमा सूचीकृत रोजगारदाताको संख्या १८ हजार नौ सय ६२ जना रहेका छन् । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आकर्षण देखिन नसके पनि संख्या भने सूक्ष्मरूपमा निरन्तर बढिरहेको छ । सुरुवात समयमा भन्दा हाल कोषले प्रदान गर्ने सुविधाहरूलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः वृद्धि हुँदै गएको प्रवक्ता पन्थीले बताए ।

कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरूप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब छ करोड ४८ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १२ करोड १३ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १४ करोड ३८ लाख रुपैयाँ र अवकाश रकम सात अर्ब ७५ करोड २६ लाख रुपैयाँ दाबी गरेका छन् ।

समीक्षा अवधिमा नौ अर्ब आठ करोड २४ लाख रुपैयाँ योगदानकर्ताहरूले दाबी गरेका छन् । साउनदेखि माघसम्मको अवधिमा भने सात अर्ब ५९ करोड ८६ लाख रुपैयाँँ योगदानकर्ताले दाबी गरेका थिए । यसरी योगदान रकम संकलनमा वृद्धि भएजसरी नै दाबी भुक्तानी रकम समेत वृद्धि हुँदै गएको छ । कोषमा योगदान गरेबापत कोषले दिने सुविधाको लागि योगदानकर्ताले रकम दाबी गर्नु स्वाभाविक रहेको कोषमा अधिकारीहरू बताउँछन् । उनीहरूले योजनाअन्तर्गत रही रकम दाबी गरेको खण्डमा कोषले वितरण गर्दै आएको बताए । पछिल्लो समय स्वास्थ्य तथा औषधि उपचारको लागि दाबी गर्न आउनेको संख्या बढेको कोषले जनाएको छ ।

कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

समीक्षा अवधिमा १३ लाख ६८ हजार पाँच सय ९१ जना योगदानकर्ताहरू कोषमा आबद्ध भएका छन् । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सो संख्या ११ लाख ३९ हजार छ सय १० जना रहेको थियो । अघिल्ला आर्थिक वर्षहरूमा भने सो संख्यामा कमी रहेको थियो । आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ । कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ ।

बैकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वटा स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ । कोषले पछिल्लो समय ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो । सो निर्देशिकाअनुरूप योगदानकर्ताहरूले योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको थियो । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x