लकडाउनमा पनि ९५ करोडको वैदेशिक लगानी भित्रियो
प्रवीण राउत
काठमाडौं, असार ३
लकडाउनको अवधिमा मुलुकको उद्योग क्षेत्रमा ९५ करोड २० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आएको छ । कोभिड १९ को परिस्थितिमा समेत भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँचवटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी रकम उद्योग विभागबाट स्वीकृत गरिएको विभागले जनाएको छ । पाँच मुलुकका लगानीकर्ताहरुले १२ वटामध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा ८ वटा उद्योग स्थापना गर्न ७५ करोड २० लाख प्रतिबद्धता जनाएका छन् । त्यसपछि क्रमशः पर्यटन उद्योगमा ३ वटा उद्योग स्थापना गर्न १५ करोड र सूचना प्रविधिमा एउटा उद्योग स्थापना गर्ने पाँच करोड लगानी प्रतिबद्धता जनाएका छन् । ती मुलुकका लगानीकर्ताहरुले उद्योग स्थापनाका लागि काठमाडौं, भक्तपुर, ललितपुर र सुनसरी छनौट गरेका छन् ।
विभागका अनुसार उद्योग स्थापनासँगै पाँच सय तीन जनाले रोजगारी पाउनेछन् । विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले यस्तो असामान्य परिस्थितिमा एफडीआई आउनु खुसीको कुरा भएको बताए । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी आउन नसके पनि लगानी आउनु राम्रो भएको उनको भनाइ छ । उनले भने, ‘हालको लगानी स्वीकृत भएको भने विदेशी प्रत्यक्ष रुपमा नआई विदेशी लगानीकर्ताका नेपालस्थित प्रतिनिधिहरुले गराएका हुन् । कार्यालय पनि सञ्चालनमा रहेको थियो । सोही कारण लगानी स्वीकृत गराउन कुनै समस्या भएन ।’
अहिले पनि लगानी स्वीकृतका लागि तीन÷चारवटा निवदेन परेको बताउँदै उनले भने, ‘नेपाली प्रतिनिधिहरु लगानी स्वीकृत गराउने आउने क्रमले निरन्तरता पाएको छ ।’
महानिर्देशक सिटौलाले पाँच मुलुकमध्ये सबैभन्दा बढी लगानी स्वीकृत गर्नेमा चीनका लगानीकर्ता रहेको बताए । चीनका लगानीकर्ताले सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रमा गरी आठवटा उद्योग स्थापना गर्न ७५ करोड २० लाख लगानी स्वीकत गरेका छन् । जसमध्ये उनीहरुले सेवा क्षेत्रमा पाँचवटा उद्योग स्थापनाका लागि ६० करोड २० लाख, पर्यटन क्षेत्रमा दुईवटा उद्योग स्थापनाको लागि १० करोड र सूचना प्रविधि क्षेत्रमा एउटा उद्योग स्थापना गर्न पाँच करोड लगानी स्वीकृत गराएका छन् । यस्तै उद्योग स्थापनासँगै तीन सय ८६ जनालाई रोजगारी दिने बताइएको छ ।
त्यसैगरी भारतीय र मलेसियाका लगानीकर्ताले क्रमशः सेवा र पर्यटन क्षेत्रमा एउटा उद्योग स्थापना गर्न पाँच/पाँच करोड लगानी स्वीकृत गराएका छन् । उनीहरुले उद्योग स्थापनासँगै क्रमशः ३९/१८ जनालाई रोजगारी दिने बताएका छन् । सिंगापुरका र नेदरल्याण्डका लगानीकर्ताले सेवा क्षेत्रमा एउटा उद्योग स्थापना गर्ने भन्दै क्रमशः पाँच/पाँच करोड लगानी स्वीकृत गराएका छन् । उनीहरुले उद्योग स्थापनासँगै क्रमशः २५/३५ जनालाई रोजगारी दिने बताएका छन् ।
विदेशी मात्र नभएर सो समयमा स्वदेशी लगानीकर्ताहरुले समेत उद्योग स्थापना गर्ने भन्दै विभागबाट लगानी स्वीकृत गराएका छन् । सोही समयमा स्वदेशी र विदेशी लगानीकर्ताहरुले १६ वटा उद्योग स्थापना गर्ने भन्दै १३ अर्ब ९८ करोड ५३ लाख लगानी स्वीकृत गराएका छन् । उनीहरुले सबैभन्दा बढी लगानी तीनवटा ऊर्जामूलक उद्योग स्थापना गर्ने भन्दै ११ अर्ब २४ करोड लगानी स्वीकृत गराएका छन् । त्यसैगरी सातवटा उत्पादनमूलक उद्योगको लागि एक अर्ब ५४ करोड ९३ लाख, सेवा र पर्यटनमूलक उद्योग क्रमशः तीन/तीनवटाका लागि क्रमशः ८९ करोड ६० लाख र ३० करोड लगानी स्वीकृत गरिएको छ । उद्योग स्थापनासँगै १६ वटा उद्योगमार्फत नौ सय ८१ जनालाई रोजगारी दिने भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया