Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा उष्ण लहर अझै बढ्ने खतरा

भारतमा उष्ण लहर अझै बढ्ने खतरा


नयाँदिल्ली । भारतको इतिहासमा सबैभन्दा लामो उष्ण लहर (लु) देखा परेको छ । सोही कारण जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् । मौसमविद्हरुले सोमबार नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन् ।

उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ भएको मौसम विज्ञान विभाग (आईएमडी)का प्रमुख मृत्युञ्जय महापात्रले दैनिक इन्डियन एक्सप्रेससँगको अन्तरवार्तामा उल्लेख गरेका छन् ।

यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा बिस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ । यद्यपि महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउनसक्ने चेतावनी दिए ।

सावधानी वा रोकथामका उपायहरू अपनाइएन भने उष्ण लहरहरू बढी बारम्बार, लामो र कडा हुने उनले बताए । भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । अहिले भने भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

मानव गतिविधि, बढ्दो जनसङ्ख्या, औद्योगीकरण र यातायात संयन्त्रले कार्बन मोनोअक्साइड, मिथेन र क्लोरोकार्बनको एकाग्रता बढाइरहेको महापात्रले उल्लेख गरे । वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले उष्ण लहरहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गएको देखाउँछ ।

पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९ दशमलव दुई डिग्री सेल्सियसको उच्च रेकर्डमा पुगेको छ । तापक्रम वृद्धिसँगै देशवासीले गर्मीबाट राहत खोज्दा विद्युत् ग्रिडमा आठ हजार तीन सय दुई मेगावाटको उच्च रेकर्डको माग पुगेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x