Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा

बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा


काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार व्यावसायिकरूपमा सञ्चालन गरिने भएको छ । वैशाख १ गतेबाट आंशिकरूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि कमर्सियल अपरेसनमा ल्याइने भएको हो ।

कम्पनीलाई कमर्सियल अप्रेसन टीयुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टीयूभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टीयूभी नर्थ इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । करिब एक वर्षअघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई कमर्सियल अप्रेसन टीयूभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिए ।

लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, (टीयूभी सर्टिफिकेट) प्राप्त भएको शर्माले जानकारी दिए । सम्पूर्ण तयारी पूरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेको उनले बताए । केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्नपर्छ भन्ने मान्यता बन्दीपुर केबलकारमार्फत पूरा हुने भएको छ ।

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार सात सय मिटर दूरी सात मिनेटमा पार गर्न सकिनेछ । यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रियस्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो । त्यस्तै, बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्डरेन जोन, ३३कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङलगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।

बन्दीपुर हिलको कुल लागत छ सय २९ करोडमध्ये हालसम्म चार सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजनाअनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटेल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । त्यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबी गरिएको दुई सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ ।

केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोन्डला रहेका छन् । प्रतिघण्टा पाँच सय जना यात्री बोक्न सक्ने क्षमता रहेको सो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राती ११ बजेसम्म चल्नेछ । केबलकारले साँझ ५ बजेदेखि राति ११ बजे सम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी समेत छ । तर केबलकारको सो सेवा लिन भने एक वर्षसम्मको समय लाग्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x