Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब ३१ अर्ब

बैंकिङ प्रणालीमा निक्षेप ६२ खर्ब ३१ अर्ब

संस्थागत निक्षेपको हिस्सा साढे ३५ प्रतिशत


काठमाडौं । बैंकिङ प्रणालीमा एक दिनमा १६ अर्ब निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ २७ गते ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २८ गते घटेर ६२ खर्ब ३१ अर्ब रुपैयाँमा झरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ५५ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा सात खर्ब १६ अर्ब रुपैयाँ निक्षेप छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा ५१ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूले ४५ खर्ब ४२ अर्ब रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ प्रणालीमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव दुई प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था छ । यसआधारमा बैंक तथा वित्तीय संस्थासँग अहिले चार खर्ब ७५ अर्ब रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता छ ।

बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर दुई दशमलव ९५ प्रतिशत कायम छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने सात दशमलव आठ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब आठ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव तीन प्रतिशत अर्थात् तीन खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव आठ प्रतिशतले बढेको छ । २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच प्रतिशत, २९ दशमलव एक प्रतिशत र ५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, २५ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौ प्रतिशत थियो ।

कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव सात प्रतिशत छ । २०८० वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव तीन प्रतिशत थियो । चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब २५ अर्ब २४ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब ५३ अर्ब १७ करोड रुपैयाँले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पाँच दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव तीन प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव नौ प्रतिशत र ३६ दशमलव एक प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार दशमलव सात प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव नौ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह छ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

तरलता व्यवस्थापनका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट जेठ ३२ गते (आज) शुक्रबार ३० अर्ब रुपैयाँ तान्ने भएको छ । आज अपराह्न १२ बजेसम्म बोलकबोलको माध्यमद्वारा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

परिपक्व हुने अवधि १४ दिन तोकिएको उक्त उपकरणको सावाँब्याज भुक्तानी असार १४ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्नसक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्न सकिने जानकारी राष्ट्र बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x