Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१० महिनामा २१ खर्बभन्दा बढी तरलता प्रशोचन

१० महिनामा २१ खर्बभन्दा बढी तरलता प्रशोचन


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कहिले पैसा नभएर समस्या झेल्नुपर्छ त कहिले कर्जाको माग नभएर । अहिले बैंकिङ प्रणालीमा प्रशस्तै पैसा छ तर कर्जाको माग न्यून छ । महँगीले बजार चलायमान बन्न नसक्दा चालू आर्थिक वर्षको सुरुदेखि नै आर्थिक गतिविधि न्यून थियो । मानिसहरूले लगानी गर्नेभन्दा पनि बैंकमा पैसा राखेर ब्याज खान सुरक्षित ठानिरहेका छन् । यही कारण वित्तीय प्रणालीमा निक्षेप बढ्न गई अधिक तरलताको स्थिति देखिएको छ ।

वित्तीय प्रणालीमा तरलता अभाव हुनु र अधिक तरलता हुनु दुवै अर्थतन्त्रका लागि राम्रो होइन । त्यसैले केन्द्रीय बैंकले तरलता अभाव हुँदा रिपोमार्फत बैंकिङ प्रणालीमा पैसा पठाउँछ भने अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्दछ । यसबाहेक निक्षेप संकलन उपकरण वा अन्य ऋणपत्र जारी गरेर पनि तरलता व्यवस्थापन गरिरहेको हुन्छ ।

लगातार एक वर्षसम्म अधिक तरलता देखिएकाले नेपाल राष्ट्र बैंकलाई हप्तैपिच्छे पैसा प्रशोचन गरिरहनुपरेको छ ।

बजारमा मूल्यवृद्धि उच्च हुँदा आम नागरिकको आम्दानीको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तुका लागि धेरै खर्च भएको छ । यसको असर अन्य क्षेत्रहरूको व्यापारमा पनि परेको छ । व्यापार नहुँदा राजधानीका मुख्य व्यावसायिक ठाउँका सटरहरू खाली हुने क्रम बढिरहेको छ । यसले बजार चलायमान बन्न नसकेको देखाउँछ । यसको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा परेको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप बढेको छ तर कर्जा बढ्न नसक्दा तरलता थुप्रिएको छ । अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले चालू आर्थिक वर्षको सुरुदेखि नै केही दिनको फरक पार्दै सात दिन र १४ दिन अवधिको निक्षेप संकलन उपकरण बिक्री गर्दै आएको छ । तर पनि अधिक तरलता अपेक्षाअनुसार नियन्त्रण हुन सकेको छैन । बजार शिथिल भएकै कारण बैंकहरू अहिले नयाँ कर्जा दिनेभन्दा पनि पुरानोे कर्जाको सावाँब्याज कसरी उठाउने भन्नेमा केन्द्रित छन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा २१ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीको तरलता प्रशोचन (बैंक तथा वित्तीय संस्थाहरूबाट रकम खिच्ने कार्य) गरिएको छ । ‘चालू आर्थिक वर्षको १० महिनामा स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत आठ खर्ब तीन अर्ब ५१ करोड गरी कुल आठ खर्ब चार अर्ब ७१ करोड (कारोबारमा आधारित) तरलता उपयोग हुँदा निक्षेप संकलन बोलकबोलमार्फत सात खर्ब ४४ अर्ब २० करोड र स्थायी निक्षेप सुविधामार्फत १३ खर्ब ८७ अर्ब ८५ करोड गरी कुल २१ खर्ब ३२ अर्ब पाँच करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो’, राष्ट्र बैंकले भनेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत खुद ३९ खर्ब ४४ अर्ब २२ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनामा विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर चार अर्ब ७६ करोड खुद खरिद गरी छ खर्ब ३२ अर्ब ७२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर चार अर्ब ७४ करोड खुद खरिद गरी छ खर्ब १९ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो । चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा अमेरिकी डलर तीन अर्ब २२ करोड बिक्री गरी चार खर्ब २८ अर्ब ४१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ८६ करोड बिक्री गरी पाँच खर्ब चार अर्ब ११ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाइ छ ।

सहुलियतपूर्ण कर्जाअन्तर्गत भने चालू आर्थिक वर्षको वैशाख मसान्तमा एक लाख २६ हजार एक सय ९१ ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको ९४ अर्ब चार करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७४ हजार नौ सय ४२ महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब ८७ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार एक सय ८६ ऋणीको एक अर्ब ८० करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x