मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा चरम लापरबाही गर्ने दुई जनालाई उन्मुक्ति दिने प्रयास
‘तत्कालीन प्रोजेक्ट/कन्स्ट्रक्सन मेनेजर र साइट इन्चार्जको गम्भीर लापरबाही देखियो’
काठमाडौँ । २०७० पुस १७ गतेबाट सिन्धुपाल्चोकको भोटेकोशी नदीमा निर्माण सुरु गरिएको १०२ मेगावाट जडित क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् गृह अर्थात् पावर हाउसमा पानी ल्याउने सुरुङबाट पानी चुहिएपछि अहिले मर्मतको काम जारी छ । उक्त सुरुङको ब्रेक थ्रु (छिचोल्ने काम) २०८० साल साउन १२ गते भएको थियो । उक्त आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषसँग आयोजनाले २०६८ मंसिर २२ गते ऋण सम्झौता गरेको थियो । त्यसपछि पनि विविध कानुनी र अन्य प्रक्रिया पूरा गरेर २०७० सालबाट मात्र निर्माण थालिएको हो ।
आयोजना निर्माणको क्रममा सात हजार एक सय २६ मिटर लामो र पाँच दशमलव सात मिटर ब्यासको सुरुङ निर्माण गरियो । उक्त सुरुङमा मुहानबाट पावर हाउसतर्फ पानी पठाएपछि ढुंगाखानी भन्ने स्थानबाट पानी चुहिएको थियो । सुरुङमा पर्ने अन्य ठाउँका मूलमा पनि पानी बढेपछि परीक्षण गर्दा सुरुङ चुहिएको पुष्टि भएको थियो । उक्त सुरुङमार्ग गत साउन १२ गते छिचोलेपछि ढलान (लाइनिङ)ंको काम गरेर गत पुस अन्तिम साता पानी पठाएर ‘वेट टेस्टिङ’ (परीक्षण) गर्दा माघ तेस्रो साता पानी चुहिएको पत्ता लागेको थियो । पानी हालेर परीक्षण गर्ने क्रममा बाह्रबीसे नगरपालिका–६ को ढुङ्गाखानी नजिकैको क्षेत्रबाट पानी लिकेज भएको थियो भने उक्त ढुंगाखानी आसपासका अन्य ठाउँमा पनि पानीको मूल बढेको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले २०८० फागुन ८ गते सूचना प्रकाशन गरी जानकारी गराएपछि सुरुङबाट पानी चुहिएको पुष्टि भएको थियो । चुहिएपछि अहिले सुरुङमा मर्मत जारी राखिएको छ र पानी हालिएको छैन ।
आयोजनाका प्राविधिकहरूका अनुसार ७ किमिभन्दा लामो सुरुङमध्ये मुहानदेखि ४ देखि ५ किमि क्षेत्रको स्थानीय बोर्डरल्यान्ड नजिकैको भू–भागबाट पानी बाहिर निस्केको हो । उक्त स्थानमा आयोजनाले सुरुङ बनाउनुअघि ढुंगा निकाल्ने खानी रहेको थियो । सोही ढुंगाखानीबाट पानी चुहिएको छ । सुरुङको पाँच सय मिटरभन्दा लामो भागमा पानी चुहिएको छ । पानी चुहिएपछि आयोजनाको सुरुङ निर्माण नै गुणस्तरहीन कि डिजाइनमै कमजोरी हो भन्ने प्रश्न उठेको थियो । तर, अहिलेसम्मको परीक्षणको क्रममा सुरुङ निर्माणको काममा लापरबाही गरिएको कारण पानी चुहिएको देखिएको छ । कमजोर भू–भागमा सुरुङ निर्माणको क्रममा गुणस्तरीय सामग्री प्रयोग गरेर काम गर्नुपर्नेमा तत्कालीन प्रोजेक्ट तथा निर्माण मेनेजर र साइट इन्चार्जको गम्भीर लापरबाहीको कारण परीक्षणकै क्रममा पानी चुहिएको हो । तर, तत्कालीन प्रोजेक्ट तथा निर्माण मेनेजर र साइट इन्चार्ज भने अहिलेको व्यवस्थापनलाई दोष देखाएर आफूहरू उम्कने प्रयासमा छन् ।
सुरुङ निर्माण गर्दा को थिए प्रोजेक्ट/निर्माण मेनेजर र साइट इन्चार्ज ?
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले २०७४ साल असोज २९ गते नेपाल विद्युत् प्राधिकरणको नवौँ तहमा कार्यरत सिभिलतर्फका उपप्रबन्धक सूर्य नाथ भुत्र्याललाई मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण महाशाखा प्रमुख तोकेर पठाएको थियो । उनलाई के–के काम गर्ने भनेर सोही नियुक्तिका साथ पत्र थमाइएको थियो । निर्माण महाशाखा प्रमुख भुत्र्याललाई कम्पनीले फेरि २०७७ साल मंसिर २३ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि मध्य भोटेकोशी जलविद्युत् आयोजनाको प्रमुखको जिम्मेवारी पनि दिएको थियो । यी पदको अर्थ उक्त जलविद्युत् आयोजनाको सम्पूर्ण नेतृत्व भुत्र्यालले पाए । त्यसपछि २०७८ साल साउन ३ गतेको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको २४८औँ बैठकले भुत्र्याललाई त्यसको भोलिपल्ट अर्थात् साउन ४ गतेदेखि नै आयोजनाको रिक्त दशौँ तहको आयोजना प्रमुखको जिम्मेवारी दिएको थियो ।
भुत्र्याललाई आयोजना प्रमुख पदमा नियुक्ति दिँदा कम्पनीको नीति नियम एवं परिपत्रको परिधिमा रही काम गर्नू र गराउनू भनिएको थियो । तर, भुत्र्यालले आफ्नो जिम्मेवारीको ठीक विपरीत ठेकेदार कम्पनी र केही राजनीतिक दलका नेतासँग मिलेमतो गरेर आयोजनाको भित्री भाग अर्थात् सुरुङमा भइरहेको निर्माणमा लापरबाही गरिदिए । त्यसकै परिणामस्वरुप अहिले सुरुङबाट पानी चुहिएको छ । त्यसको कहिलेसम्म मर्मत पूरा हुन्छ यसै भन्न सकिने अवस्था छैन । ‘यदि जलविद्युत् आयोजनाको निर्माणको सम्पूर्ण जिम्मेवारी पाएका प्रमुखले लापरबाही नगरेको भए अहिले आयोजनाले विद्युत् उत्पादन गरिसकेको हुनेथियो’, प्राधिकरण उच्च स्रोतले आर्थिक दैनिकसित भन्यो, ‘सुरुङबाट पानी चुहिनुमा अहिलेको नेतृत्व होइन निर्माणको क्रममा संलग्न अधिकारीहरू नै प्रमुख दोषी हुन् ।’
भुत्र्यालले मात्र होइन सात वर्षअगाडि नै साइड इन्चार्जको नियुक्ति लिएका सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले पनि आफ्नो कर्तव्य पूरा नगरी ठेकेदार र स्थानीय केही राजनीतिक दलका नेताहरूसँग मिलेर आयोजनाविरुद्ध षड्यन्त्र गर्दा अहिले सुरुङबाट पानी चुहिन पुगेको मध्य भोटकोशी जलविद्युत् कम्पनी लिमिटेडका अधिकारीहरूको बुझाइ छ ।
यदि तत्कालीन आयोजना प्रमुख र साइड इन्चार्जले राम्रोसँग काम हेरेर कमजोर भू–भाग भएको ठाउँमा गुणस्तरीय सामग्री प्रयोग गरेर काम गर्न लगाएको भए अहिले आयोजनाले बिजुली उत्पादन गरेर बजारमा धमाधम बिक्री गरिरहेको हुनेथियो । तर, भुत्र्याल र पराजुलीको बदमासी र आयोजनाप्रतिको गद्दारीको कारण अहिले मध्य भोटेकोशी जलविद्युत् कम्पनीको नेतृत्व आयोजनाको मर्मत गरेर बसिरहन परेको छ । कम्पनीका एक अधिकारीका अनुसार साइट इन्चार्ज पराजुलीको काम त निर्माणको क्रममा २४ सै घण्टा निगरानी गर्नुपर्ने थियो । तर, उनले पनि आफूले पाएको अधिकार र कर्तव्य बिर्सिएर राजनीतिक दलका केही नेताहरूको झोले बनिदिँदा आयोजनाको बदनामी बढेको छ ।
सुरुङ निर्माणमा बदमासी गरेका भुत्र्याल र पराजुलीले कम्पनीको सञ्चालक समितिको अनुमतिविना नै स्थानीय केही राजनीतिक दलका खास–खास व्यक्तिलाई व्यक्तिगत लाभ दिने तरिकाले माग राख्न लगाउने र उक्त माग पूरा गराउन कम्पनीलाई दबाब दिने गरेका थिए । कम्पनीको नीतिविपरीतका माग पूरा गर्नका लागि स्थानीय केही व्यक्तिलाई उचाल्ने कामसमेत भुत्र्याल र पराजुलीले गरेपछि आयोजनाभित्रैबाट विरोध भएको थियो । आयोजनाभित्रैबाट विरोध भएपछि भुत्र्यालले आफूलाई उक्त जिम्मेवारीबाट हटाएर प्राधिकरणमै फिर्ता गर्न २०८० साल माघ १९ गते निवेदन दिएका थिए तर मध्य भोटेकोशी कम्पनीले भने त्यसको तीन महिनापछि अर्थात् २०८१ वैशाख १२ गते मात्र निवेदन दर्ता गरेर प्राधिकरणमा फिर्ता गरेको थियो । पराजुली भने अहिले मध्य भोटेकोशी भन्दा माथिल्लो स्थानमा निर्माण भइरहेको कम्पनीमा काम गर्न गएका छन् । आफूले भने प्राधिकरणमा फिर्ता जान पाऊँ भनेर निवेदन पेस गर्ने भुत्र्याल भने अहिले आफूलाई कम्पनीले हटाएको हल्ला गरिरहेका छन् ।
सुरुङ निर्माणको क्रममा बदमासी गर्ने भुत्र्याल र पराजुलीलाई कारबाही गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व उनीहरूप्रति अहिले नरम भएको छ । ‘आयोजनाको सुरुङ हेर्ने जिम्मवारी जसलाई दिएको हो उसलाई कारबाही गर्नुपर्नेमा प्राधिकरणको नेतृत्व मौन बस्नु भनेको उनले गैरजिम्मेवार काम गरे पनि उन्मुक्ति दिन खोज्नु हो । जोगाउन खोज्ने र लापरबाही गर्ने दुवैलाई कानुनी दायरामा नल्याएसम्म अन्य आयोजनाहरूमा पनि यस्तो अराजकता र अनुशासनहीनता बढ्ने छ’, आयोजनाका एक अधिकारीले भने । उक्त आयोजनाको परामर्शदाताको रूपमा ट्रयाक्टेबल इन्जिनियरिङ (जर्मन) रहेको छ भने ठेकेदार कम्पनीको रूपमा सिभिल र हाइड्रो मेकानिकलतर्फ ग्वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्सट्रक्सन ब्युरो, चाइना, इलेक्टो मेकानिकलतर्फ एन्ड्रिज हाइड्रो प्राइभेट लिमिटेड, भारत र २२० केभी प्रसारण लाइनतर्फ ऊर्जा एसी जेभी गरी तीनवटा ठेकेदार कम्पनीले कार्य गरिरहेका छन् । सो आयोजनाको टेस्ट टनेल र डाइभर्जन टनेल हिमालहाइड्रो कन्सट्रक्सन लिमिटडले सम्पन्न गरेको थियो ।
आयोजनाको आन्तरिक प्रशासनिक अव्यवस्था, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोनालगायतका समस्याले निर्माणमा ढिलाइ भएको हो । निर्माणमा ढिलाइ भएपछि यसको लागत बढेको छ । २०६८ मा कुल लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेकोमा अहिले १९ देखि २० अर्ब पुग्ने अनुमान रहेको छ । आयोजनाको लागानीकर्ता चिलिमे विद्युत् कम्पनी, विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, स्थानीय बासिन्दा, निजी कम्पनी तथा प्रभावित बासिन्दा रहेका छन् ।उक्त जलविद्युत् आयोजनामा सन् २०२१ अप्रिलदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएर राम गोपाल सिवाकोटीलाई पठाएपछि कामले तीव्रता लियो र सन् २०१४ को अप्रिलदेखि सुरु भएर सात वर्षमा जेनतेन ३० प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाले पछिल्लो करिब पौने तीन वर्षमा शतप्रतिशत अर्थात् निर्माण नै पूरा गरिदिएको हो ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्ये प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १–१ प्रतिशत सेयर छ ।४९ प्रतिशत साधारण सेयरधनी समूह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव ५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३ दशमलव ५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत)को सेयर छ । साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
- ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
- कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
- बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
- ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया