Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजनीतिक पहुँचमा बीवाईडीको कर छली

राजनीतिक पहुँचमा बीवाईडीको कर छली


काठमाडौँ,चीनबाट आयात हुने बीवाईडी इलेक्ट्रिक गाडीले राजनीतिक वातावरण आफूअनुकूलको बनाएर कर छली गरेको घटनाक्रमहरुले देखाएको छ । लगातार कर छली गरेर गाडी भित्र्याएको समाचार बाहिरिएसँगै राजस्व अनुसन्धान विभागले छापा मारेर अनुसन्धान सुरु गरेसँगै बीवाईडीका गाडीहरु नेपाल ल्याउँदा लामो समयदेखि नै कर छली गरेर ल्याउने गरिएको पाइएको हो । चिनियाँ गाडी बिक्री गर्ने बीवाईडीको नेपालस्थित बिक्रेता कम्पनी साइमेक्स इंकले लामो समयको गृहकार्यपछि विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममा नै राजनीतिक पहुँचको आधारमा चलखेल गरी गाडीको आयात गरेको देखिएको हो । बीवाईडीले अन्य देशमा भन्दा नेपालमा बिक्री गरेको गाडीहरुको किलोवाट नै कम रहेको कागज बनाउँदै गाडी आयात गर्नेगरेको थियो । राजस्व अनुसन्धान विभागका अनुसार बीवाईडीजस्तो अन्तर्राष्ट्रिय ब्रान्ड भएको कम्पनीले नेपालको लागि मात्रै कसरी कम क्षमताको किलोवाट भएको गाडी बनायो भन्ने मूल प्रश्न रहेको र सोको अनुसन्धान भइरहेको छ । अर्थ मन्त्रालयमा नै सिधै पहुँच बनाएको बीवाईडी गाडी बिक्री गर्ने नेपालको कम्पनीले विद्युतीय गाडीमा कर लाग्दै छ भन्ने पूर्वसूचनाको आधारमा नै जेठ महिनामा आफ्ना गाडीहरु ठूलो संख्यामा भित्र्याएको थियो ।

बजेट भाषणअगाडि नै बीवाईडीले आफ्ना गाडीहरु अत्यधिक संख्यामा आयात गरेको र सोको जााचपाँस समेत बजेटअगाडि नै सक्न सिधै दबाब गएकै कारण रसुवागढी र तातोपानी नाकामा रातिसम्म भन्सार जाँचपासको काम भएको स्रोतले दाबी गरेको छ । जेठ पहिलो साता रसुवागढी भन्सार नाकाबाट चार सय ८८ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भएकोमा बीवाईडीका अटो थ्री मोडलका गाडी मात्रै तीन सय ३६ वटा भित्रिएका थिए भने जेठ महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै दुई हजार नौ सय ६९ वटा विद्युतीय गाडी नेपाल आयात भएको छ।किलोवाट आधारमा कर निर्धारण गर्दै आएको सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटपछि आएको आर्थिक विधेयक २०८१ मा यसअघिसम्म अन्तःशुल्क नभएको ५० किलोवाटसम्मको विद्युतीय गाडीमा पाँच प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरेको थियो भने १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क भएको ५१ देखि एक सय किलोवाटमा थप ५/५ प्रतिशत भन्सार शुल्क र अन्तःशुल्क बढाएको थियो । त्यस्तै २० प्रतिशत भन्सार शुल्क र २० प्रतिशत मात्र अन्तःशुल्क रहेको १०१ देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क कायम गरेको छ भने २०१ देखि ३०० किलोवाटका गाडीमा २० प्रतिशत भन्सार शुल्क कायम गरी १० प्रतिशत अन्तःशुल्क घटाएको थियो ।

आर्थिक विधेयकमा सरकारले ३०० किलोवाटभन्दा बढीमा भने २० प्रतिशत भन्सार शुल्क बढाएरर १० प्रतिशत अन्तःशुल्क घटाएको छ । चालू आर्थिक वर्षमा ११ हजार नौ सय आठवटा विद्युतीय गाडी भित्रिएकामध्ये चीनबाट आठ हजार तीन सय ७७ रहेका छन् । त्यसमा करिब तीन हजार गाडी बीवाईडीको मात्रै रहेको पाइएको छ । त्यसो त राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धान समेत सार्वजनिकरुपमा उठ्न थालेको कर छलीको विषयलाई विषयान्तर गर्न मात्रै रहेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार चिनियाँ पक्ष भनेर चिनिएका केही सत्तासीन राजनीतिज्ञको आडमा कम क्षमता भन्दै कर छली गरेर बढी क्षमताको भित्र्याएको बीवाईडी गाडीको सुरु भएको अनुसन्धान निष्प्रभावी बनाउन मौखिक निर्देशन नै आइसकेको बताइएको छ । कम किलोवाटको गाडी भन्दै बढी किलोवाटको गाडी भित्र्याएर कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानको विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा बीवाईडीका प्रतिनिधि समिर श्रेष्ठले बीवाईडीको गाडीसम्बन्धी जानकारी गुगलमा खोजेर लिन र भन्सारमा देखिएको समस्याको विषयमा राजस्वले आवश्यक अनुसन्धान गररहेकोले आफूहरुले थप केही नबताउने बताए ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x