Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलागुऔषधको आपूर्तिकर्तालाई कडा कारबाही गर्न निर्देशन: उपप्रधानमन्त्री लामिछाने

लागुऔषधको आपूर्तिकर्तालाई कडा कारबाही गर्न निर्देशन: उपप्रधानमन्त्री लामिछाने


काठमाडौँ । ‘प्रमाण स्पष्ट छः रोकथाममा लागनी गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बुधबार विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।

‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उनले लागुऔषध दुर्व्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले दुर्व्यसनीमा फसेकालाई सुध्रन मौका दिइने तथा बिक्री वितरणमा संलग्नलाई कडाकारबाही हुने स्पष्ट पारे । उनले लागुऔषध दुर्व्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुर्व्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको बताए । उनले लागुऔषध दुर्व्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री लामिछानेले पुनःस्थापना केन्द्रले उपचार सेवालाई व्यापार बनाउन नहुनेमा जोड दिदै लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुर्व्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनःस्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । लामिछानेले लागुऔषधको अवैध ओसारपसार नियन्त्रण तथा सेवनकर्तालाई समाजमा पुनःस्थापना गराउन क्रियाशील सङ्घसंस्थालाई सम्मान गरेका थिए ।

लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले यसको दुरुपयोगका विरुद्ध लड्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने बताए । लागुऔषधको अवैध ओसारपसार तथा सेवन अन्त्यका लागि गृह मन्त्रलायसँग समन्वय गरेर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिलाई समाजमा पुनःस्थापित गराउन सिङ्गो राष्ट्र, समाज र परिवारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भावनात्मक रिक्तताको अवस्था परिपूर्ति गर्न युवा विद्यार्थी लागुऔषधको शरणमा पुग्ने गरेकातर्फ आमअभिभावक र साथीसङ्गी सचेत हुनुपर्ने बताइन् ।

युवालाई समाजका विभिन्न पक्षसँग जोडिराख्नुपर्ने बताउँदै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले समाज, संस्कृति र परिवारबाट टाढिएका युवा दुर्व्यसनमा फस्ने गरेको उल्लेख गरे । उनले लागुऔषधको अवैध ओसारपसार र सेवनविरुद्धको अभियानलाई राष्ट्रिय मुद्धा बनाई सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए ।

नेपालमा विविध कार्यक्रमका साथ साताव्यापी रूपमा दिवस मनाइएको छ । यसवर्षको राष्ट्रिय नारा ‘लागुऔषध दुरुपयोगविरुद्ध लडौँः रोकथाममा जोड दिऔँ’ तय गरिएको छ । सो अवसरमा लागुऔषधको सेवनबाट राष्ट्र, समाज र परिवारलाई पर्ने असरबारे जनचेतना जगाउने विभिन्न नाटक, प्रहसन तथा सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो ।

समारोहमा मन्त्रालयद्वारा प्रकाशित लागुऔषध दुरुपयोग नियन्त्रणका विविध आयाम समेटिएको ‘सुरक्षित जीवन’ पत्रिका विमोचन गरिएको थियो । कार्यक्रमअघि भृकुटीमण्डपबाट लागुऔषधको अवैध ओसारपसार र सेवनविरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x