Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित आठ हजार छ सय बढी

कोरोना संक्रमित आठ हजार छ सय बढी


काठमाडौं, असार ७
परीक्षण दर बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्नथालेको छ । शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा ४९ महिला र २ सय ८२ पुरुष छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये ७ सय ५६ महिला र सात हजार ८ सय ४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको छैन । पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा सात हजार ४ सय १६ वटा नमूना परीक्षण गरिएको छ । शुक्रबार जम्मा छ हजार २३१ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको थियो । सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पीसीआर विधिबाट परीक्षण गर्ने तयारी गरेको छ ।

हालसम्म पीसीआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४ सय २६ सहित हालसम्म दुई लाख ५२ हजार ३ सय जनाको आरडिटी परीक्षण गरिएको छ । मुलुकभरका क्वारेन्टाइनमा एक लाख दुई हजार २ सय ४५ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या सात हजार पाँच छ । पछिल्लो २४ घण्टामा १८ महिला र १ सय ५८ पुरुष गरी कुल १ सय ७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १ सय ४१ महिला र एक हजार ४ सय ३७ पुरुष गरी कूल एक हजार ५ सय ७८ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८÷१८ तथा पाल्पा र रुपन्देहीमा १७÷१७ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ÷आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात÷सात, बारा र दाङमा चार÷चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक÷एक जना थपिएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई सय बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । कुल ७७ मध्ये ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ । रसुवा, ओखलढुङ्गा र मुस्ताङमा सङ्क्रमण देखिएको छैन ।

यसैबीच, ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टाइनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिनथालेको छ । केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टाइन स्थापना गरी शङ्कास्पद मानिसलाई राख्दै आएको छ । जावलाखेलको क्वारेन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई राखिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x