Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप ४ सय २१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

थप ४ सय २१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि


काठमाडौं, असार ८
पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार ६४ महिला र ३ सय ५७ पुरुष रहेका छन् । योसँगै हालसम्म नौ हजार २६ जनाको पीसीआर पोजेटिभ आएको छ । तीमध्ये ८ सय २० जना महिला र आठ हजार २ सय ६ जना पुरुष छन् । हालसम्म देशका ७५ जिल्लामा कोभिड–१९ सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा आठ महिला र १ सय ८६ पुरुष गरी कुल १ सय ९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १ सय ४९ महिला र एक हजार ६ सय २३ पुरुष गरी कूल एक हजार ७ सय ७२ पुगेको छ ।

यसैबीच थप एक व्यक्तिको कोभिड–१९ सङ्क्रमितका कारण मृत्यु भएको छ । योसँगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको मन्त्रालयले जनाएको छ । आइतबार गुल्मी क्षत्रकोट गाउँपालिका–५ मैनडाडाँका ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी प्यारालाइसिस उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टिनमा बसेका थिए ।

पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा छ हजार आठ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नौ हजार ८ सय ७४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार १७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार १ सय ७४ नमूनाको परीक्षण गरिएको छ । मुलुकभरका क्वारेन्टिनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार २ सय ३१ रहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कुल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताए ।

अहिले दैनिक बढेको कोभिड सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै जाने उनले बताए । पछिल्लोपटक छदेखि आठ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सङ्ख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ ।

महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको छ ।

यसैबीच, कोरोना भाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १ सय ३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको राससले जनाएको छ ।

यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालका आठ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको छ ।

कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १ सय ८ जना नेपाली स्वदेश फर्किसकेका छन् । शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएईबाट ३ सय १७, कुवेतबाट ८ सय ९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बङ्गलादेशबाट २ सय ५८ जना, ओमानबाट ३ सय १३, माल्दिभ्सबाट ३ सय ५, कम्बोडिया र सिङ्गापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १ सय ५३ र दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

४० जनाको शव पनि ल्याइयो : यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शव नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट छ, ओमान, युएई र साउदीबाट एक/एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको सङ्घले जनाएको छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x