Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअविरल वर्षाबाट देशभर जनजीवन प्रभावित

अविरल वर्षाबाट देशभर जनजीवन प्रभावित


काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा नदी तथा खोलामा जलसतह बढेको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएर जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रका केही ठाउँमा पहिरोले क्षति पुगेको छ ।

शनिबार साँझसम्म बाढी, पहिरो र डुवानमा परी आठ जनाको मृत्यु भएको छ । छ जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन् । विपत्मा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौंमा एक र काभ्रेमा दुई जनाको मृत्यु भएको छ । दाङमा दुई जना, तनहुँमा तीन जाना, दोलखामा एक जना गरी छ जना बेपत्ता भएका छन् भने तनहुँ, गुल्मी र ओखलढुंगामा गरेर सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

कैयौँ ठाउँमा घर, सडक, पुललगायत धनजनमा क्षति पुगेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । शनिबार सडकमा पानी जमेर आवागमन प्रभावित भएको थियो ।

काठमाडौंमा वाग्मती नदीको कुपन्डोल क्षेत्रभन्दा तलको भाग बल्खुसम्म बस्ती डुवानमा परेको छ । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शंखमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्र जोखिमयुक्त बनेको छ ।

भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ५६ जनाको उद्दार गरिएको छ । त्यस क्षेत्रमा मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको हो । भक्तपुरका विभिन्न स्थानमा रहेका अस्पताल, विद्यालयलगायत बस्तीमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ । मकवानपुरको हेटौंडामा पनि २५ भन्दा धेरै घर डुवानमा परेका छन् ।

देशभर ४५ भन्दा बढी क्षेत्रमा सडक आवागमन अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । यसैगरी कोशी, नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । नारायणीको जलसतह बढेर आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा पसेको छ । गैँडाकोटमा चार सयभन्दा बढी प्रभावित भएका छन् । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव परेको छ । बाँकेमा राप्ती नदीले खतराको तह पार गरेको छ । शनिबार अपराह्न साढे चार बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको थियो ।

लगातारको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि पोखराको गोष्टि बस्ती जोखिममा परेको छ । वर्षाका कारण पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु समस्यामा परेका छन् । बागलुङ–बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ ।

बाढीका कारण विद्युत् उत्पादन गृहहरू पनि प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृहरू बन्द भएका छन् । जल तथा मौसम विज्ञान विभागले कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक÷दुई स्थानमा आइतबार भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएकोे छ ।

विभागले भारी वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x