Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या’

‘अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या’


काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या देखिएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सहकारीका समस्या समाधानका लागि संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन र विकासको प्रक्रियालाई तीव्र पारेर अगाडि बढ्नका लागि निजी क्षेत्रको जत्ति नै सहकारीको समेत आवश्यकता रहेको उनले औँल्याए । नेपालमा सहकारी आन्दोलनलाई व्यवस्थितरूपमा अगाडि बढाएर मात्रै नेपालको आर्थिक विकासलाई तीव्र पार्न र सही दिशामा लैजान सकिने उनको भनाइ थियो । हाल सहकारीमा देखिएको समस्याले अर्थतन्त्र र जनजीवनमा समस्या पैदा गरेको उनले बताए । ‘सहकारीका साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन ? सहकारीविना नेपालमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन सक्छ ? नेपालको अहिलेको आवश्यकता आर्थिक वृद्धि र समृद्धिको प्रक्रिया सहकारीविना सम्भव छ त ? छैन भन्ने निष्कर्षलाई गहिरोगरी आत्मसाथ गर्नुपर्ने निष्कर्षमा हामी छौं’, उनले भने ।

सहकारी ऐनमा संशोधन गर्नुपर्ने, अनुगमन प्रभावकारी गर्नुपर्ने, बचत तथा कर्जा सुरक्षण कोष बनाउनुपर्ने, समस्या छिटो छानबिन गरेर बाँकी छानबिनका लागि सीआईबीलाई पठाइहाल्नुपर्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा प्रयाप्त जनशक्ति उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय समेत गरेको उनले जानकारी दिए । सहकारीमा समस्या आउनुमा राजनीतिको पनि भूमिका रहेको उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारीको बचत अनियमितता गर्नेविरुद्ध उच्च तहबाटै संरक्षण भएको दाबी गरे । राजनीतिक दलहरूले न्यायका लागि काम गर्न बन्द गरेकाले देशमा आर्थिक अराजकता बढेको उनले बताए । साथै, उनले ऋण असुली गर्न र पीडितको बचत फिर्ता गर्न सरोकारवालाहरू सबै लाग्नुपर्ने बताउँदै सहकारीको सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई जोगाउन अभियान लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी आफैं पिल्सिएको अवस्थामा रहेको बेला नियामक निकायले समेत अधिकार प्रयोगका नाममा डण्डा चलाउन खोजेको गुनासो गरिन् । केही सहकारीहरूले गलत गरे भन्दैमा सिङ्गो सहकारी अभियानप्रति नै पूर्वाग्रही हुन नमिल्ने उनको भनाइ छ । राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालले संयुक्त राष्ट्र संघले अगाडि सारेको दिगो विकास लक्ष्य हासिल गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सहकारी क्षेत्र संवेदनशील भएकाले गम्भीररूपमा उपचार गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले नेपालको सहकारी अभियानले राष्ट्रिय पुँजी निर्माणमा पु¥याएको योगदानलाई नजर अन्दाज गर्न नमिल्ने बताए । सहकारी संस्था सञ्चालनको अनुभव नै नभएकालाई सहकारीको नेता बनाउने व्यवस्था नै गलत रहेको उनको भनाइ थियो । कार्यक्रममा युएनडीपीको आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडालाबेले सहकारी क्षेत्र तल्ला वर्गको उत्थानका लागि महत्वपूर्ण क्षेत्र रहेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको शुद्धीकरणमा यस क्षेत्रका सङ्घसंस्था खरोरूपमा उत्रनुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्र प्राथमिकतामा परेको उल्लेख गर्दै उनले एकतिहाइ जनता आबद्ध अभियानलाई सहीरूपमा अघि बढाउनुपर्नेमा जोड दिए । जुलाई महिलाको पहिलो शनिबार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x