Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँछौँ’

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँछौँ’


काठमाडौं  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरूलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताएका हुन् ।

युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुने क्रम रोकिने उनले बताए । गभर्नर अधिकारीले ‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन’ भन्ने भाष्यको विकास गराउन खोजिएको प्रतिअसहमति जनाउँदै देश सम्भावनाले भरिपूर्ण भए पनि केही स–साना कुराहरूमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको बताए । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने उनले उल्लेख गरे ।

एक फरक प्रसंगमा गभर्नर अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको भन्ने विषयमा सत्यता नरहेको बताए । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दाबाहिर आलोचना भएजस्तो दुरुपयोग नदेखिएको र केही व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुल प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान बाँडिएको गभर्नर अधिकारीले दाबी गरे । उनका अनुसार हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका छन् । उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए ।

पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरूमा भने यस्तो समस्या नआएको उनको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताए । कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टाठाबाठाहरूले पहुँचको आधारमा दुरुपयोग गरेको उनको भनाइ थियो । विभिन्न सहुलियत कर्जा पनि लक्षित वर्गमा पुग्न नसकेको उनले बताए । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरूले लगानी गर्न नचाहेको उनले दाबी गरे ।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

संस्थाले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत् आन्तरिक उत्पादन बढाउन ठूलो योगदान गरेको उनको भनाइ छ । संस्थाबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको उनले जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसंख्याका सेवा पु¥याएको उनको भनाइ छ ।

२३औँ स्थापना दिवसका अवसरमा संस्थाले देशभरबाट दुई वटा संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको छ । सुर्खेतको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था पुरस्कृत भएका छन् । यी दुई संस्थाले आफ्नो लगानीमा रहेको सम्पूर्ण कर्जाको असुली दर शतप्रतिशत पूरा गरेका छन् । युवा, महिला, दलित, जनजाति, पिछडिएको वर्गलगायतलाई उत्पादन र उद्यमसँग जोडेको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x