Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास खर्च भुक्तानी गर्ने बेला सरकारको ढुकुटी रित्तै

विकास खर्च भुक्तानी गर्ने बेला सरकारको ढुकुटी रित्तै


काठमाडौं, असार ८
विकास निर्माणको कामको भुक्तानी दिने बेलामा सरकारको ढुकुटी रित्तो देखिएको छ । लकडाउनको कारण सबै व्यवसाय बन्द हुँदा सरकारले राजस्व उठाउन नसकेको कारण सरकारी ढुकुटी ऋणात्मक देखिएको हो । सरकारसँग नगद अभाव भएपछि कयौं विकास निर्माणको कामको भुक्तानी रोएिको छ । ‘कागजमा पैसा छ तर नगद छैन’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘पैसा उठाउन नपाएपछि कसरी भुक्तानी दिने भन्ने चिन्तामा छौं ।’

नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी १० महिनाको प्रतिवेदनअनुुसार चालू आर्थिक वर्षको १० महिनाको अवधिमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति एक खर्ब २९ अर्ब १८ करोड रुपैयाँले घाटामा देखिएको छ  ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४४ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेक संघीय सरकारको कुल खर्च सात खर्ब २५ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च छ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलनअन्तर्गत प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत गरी छ खर्ब छ अर्ब ८२ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन छ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सरकारले एक खर्ब ३५ अर्ब आन्तरिक ऋण र ७४ अर्ब ६१ करोड रुपैयाँबराबरको बाह्य ऋण परिचालन गरेको छ । २०७७ वैशाख मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत गरी कुुल दुुई खर्ब चार अर्ब ३३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । चालू आवको १० महिनामा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च ६५ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब दुुई करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ६६अर्ब ३३ करोड रुपैयाँ हस्तान्तरण भएको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट ३३ अर्ब ६९ करोड रुपैयाँ परिचालन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैबीच, कुुल आन्तरिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार कुल आन्तरिक कर्जा १० दशमलव तीन प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा यस्तो कर्जा १६ दशमलव सात प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७ दशमलव छ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४ दशमलव चार प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ को १० महिनामा विस्तृत मुद्राप्रदाय १० दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १० दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १६ दशमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति भने एक खर्ब २० अर्ब ९० करोड अर्थात् १२ दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ६८ अर्ब २० करोड रुपैयाँ अर्थात् छ दशमलव पाँच प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा सञ्चित मुद्रा दुई दशमलव सात प्रतिशतले घटेकोे छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा आठ दशमलव एक प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा सञ्चित मुद्रा चार दशमलव तीन प्रतिशतले बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x