निचोड ज्ञान के हो ?
काठमाडौं । जीवनको अन्तिम समय वा जीवनको उत्तरार्धमा प्राप्त हुने ज्ञान नै निचोड ज्ञान हो । अथवा भनौं कुनै प्रयोगबाट प्रमाणित भएको तथ्यपूर्ण ज्ञान पनि निचोड ज्ञान नै हो । निचोड ज्ञान जीवनभरको तीतामीठा अनुभवबाट प्राप्त निष्कर्ष पनि हो । यस्तो ज्ञान समाजमा पुराना पुस्ताले नयाँ पुस्तालाई छोडेर जाने गर्दछन् । यसरी ज्ञान र अनुभव पनि पुस्तान्तरण हुने हुन्छ । यस्ता कुरामा नयाँ पुस्तालाई चासो र हेक्का हुनु जरुरी छ । यदि नयाँ पुस्ताले यस्ता कुरामा चासो राख्दैन भने पुराना पुस्ताले गरेका गल्तीहरू पनि नयाँ पुस्ताले दोहोर्याइरहन्छ । पुर्खाले गरेका कामको सबल पक्षबाट पनि नयाँ पुस्ताले केही पनि सिक्न सक्दैन । यसको अर्थ यो हो कि ज्ञान भन्ने कुरा सफलता र असफलता दुवैबाट प्राप्त निचोड नै हो । यहि निचोड ज्ञानको पुस्तान्तरणबाट कुनै पनि सभ्यताको विकास भएको हुन्छ । संसारका विभिन्न सभ्यताहरू यसका उदाहरणहरू हुन् । आर्य सभ्यता, द्रबिड सभ्यता, नाइल नदीको सभ्यता, सिन्धुघाँटीको सभ्यता, ग्रिक सभ्यता, युनानी सभ्यता आदि विश्वका बिभिन्न सभ्यताहरूलाई लिन सकिन्छ । पुर्खाका यस्तै निचोड ज्ञानहरूको पनि निचोड नयाँ पुस्ताले निकाल्दै जाने हुन्छ । यिनै निचोडहरूको पनि निचोडका कारण ज्ञानको स्तरीकरण हुन्छ । यही ज्ञानको स्तरीकरण र यसको कार्यान्वयनका कारण समाज विकासमा झन्पछि झन् उच्च प्रतिफल हासिल हुँदै गइरहेको छ । नभए त मानिस कसरी ढुङ्गेयुगबाट आजको अवस्थासम्म आइपुग्थ्यो र ?
यस्तै, अर्को तथ्य के हो भने ज्ञानको स्तरीकरणबाट खारिएको मानव मष्तिष्कको समेत स्तरीकरण हुँदै गयो भने त्यसको असर जिनमा देखापर्दै जान्छ । मानिसले सिकेका ज्ञान सिप र क्षमता पुस्तेनीरूपमा जिनमा विकास हुँदै जान्छ । जसको कारण मानिस बुद्धिमान प्राणीको रूपमा विकास हुँदै आइरहेको छ । जसबाट हरेक पछिल्ला पुस्ता पहिलेको भन्दा अझ बुद्धिमान भएर निस्कन्छन् । यसको अर्थ यो हो कि पुर्खाका ज्ञान त उसले जिनबाटै प्राप्त गरिसक्यो भने आफ्ना पुस्ताका नयाँ ज्ञान पनि उसले हासिल ग¥यो भन्ने हो । खुकुरीभन्दा कर्द लाग्ने बाबुभन्दा छोरा जान्ने भन्ने कुरा वास्तवमा व्यावहारिक तथ्य हो । नत्र मानिस जंगली युगको मानसिकताबाट माथि उठ्न सक्ने थिएन । नयाँ जन्मेको बालकले केही नसिकी उसले सबैकुरा जानीसक्यो भन्न खोजेको होइन । सिक्न प्रयास गर्दा आदिम मानवले भन्दा बढी छिटो उसले सिक्न सक्छ भन्ने हो ।
सात पुस्ताभन्दा बढी सिकर्मी काम गरेको अनुभव छ भने उसका सन्तानले सिकर्मी काम अरूले भन्दा छिटो सिक्न सक्छन् । सात पुस्ताभन्दा बढी आर्मीमा जागिर खाएको रहेछ भने उसको छोरो आर्मीमा जागिर नखाए पनि जिउडाल जागिर खाएजस्तो देखिन सक्छ । यो कुरा बुझ्न डार्बिनको सिद्धान्तले पनि हामीलाई सघाउँछ भन्ने यो सिद्धान्तबाट पुष्टि भइसकेको तथ्य हो ।
हाम्रा पूर्खालाई लाग्थ्यो पृथ्वी चेप्टो छ । पछिका पुस्तालाई लाग्न थाल्यो कि पृथ्वी त गोलो पो छ । पाइथागोरसले यो कुरा निचोड ज्ञानको रूपमा राख्दा दुनियाँलाई बुझाउन कति मुस्किल भयो होला ? कतिले खेदे पनि होला । विद्यालयका पाठ्यक्रममा राखेर अहिलेजस्तो पढाउने कुरा कल्पना पनि गर्न सकिँदैनथ्यो । पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने पहिलो वैज्ञानिक कोपर्निक्स हुन् । त्यस कुराले त्यस बेलाको समाजमा उथलपुथल ल्यायो । तत्कालीन वैज्ञानिकहरूले यो कुरालाई मान्न तयार भएनन् । उनको विचार सही हो र सही होइन भन्ने दुई खेमामा मानिसहरू विभक्त भए ।
यसै क्रममा इटालीका दुई महान् वैज्ञानिकहरू ग्यालिलियो र ब्रुनोले कोपर्निक्सकै कुरा सही रहेको अध्ययन अनुसन्धानबाट पुष्टि गरे । वैज्ञानिक ब्रुनोले त कोपर्निक्सको विचारलाई परिमार्जन गर्दै ‘ब्रह्माण्डको सीमा नै छैन । हाम्राजस्ता सौर्यमण्डल ब्रह्माण्डमा अरू पनि थुप्रै छन् ।’ भन्ने नयाँ सिद्धान्त पनि प्रतिपादन गरे । यसरी धर्मशास्त्रको विचारलाई ठाडै उल्टाउने बु्रनोलाई चर्चले राक्षस घोषणा गर्यो । चर्चको आदेशमा उनलाई सन् १६०० मा जिउँदै जलाइयो । ग्यालिलियोले माफी मागे तैपनि उनलाई आजीवन काराबासको सजाय भयो ।
परम्परा र अन्धाधर्ममा आधारित विचार सधैं टिक्न सकेन । सत्यसत्य नै थियो । यो साबित भएर छोड्यो । यसैलाई अहिले सबैले सही हो भनि स्वीकारेका छन् । आज आएर पादरीहरू पनि यसलाई स्वीकार्न बाध्य भएका छन् । जसले महान् वैज्ञानिकहरूलाई अनेक तरहले दुःख दिएका थिए । ४÷५ सय वर्ष अगाडि यस्ता महान् सिद्धान्तको प्रतिपादन गर्ने कोपर्निक्सलाई आधुनिक खगोलशास्त्रका पिता भनिन्छ ।
यसरी हेर्दा निचोड ज्ञानलाई सबैको मान्य बनाउन समय र संघर्ष पनि उत्तिकै आवश्यकता हुने रहेछ । कारण हो पुराना विचार मान्नेले नयाँ विचारलाई तुरुन्त ग्रहण गर्न चाहँदैनन् । दिल दिमागमा गडेर रहेको पुरानो विचार एकैपटक फाल्न पनि सकिँदैन ।
हामीलाई न्यूटनको सिद्धान्तहरू सही छन भन्ने लाग्छ, हो पनि । तर यो नै अन्तिम ज्ञानचाहिँ होइन रहेछ । आइन्सटाइन थ्योरी आइसकेपछि त्योभन्दा अगाडि पनि हासिल गर्नुपर्ने ज्ञान अनन्त रहेछन् भन्ने लाग्न थाल्यो । टाइपराइटरको आविष्कार भइसके पछि अब अन्तिम यही हो भन्ने लाग्थ्यो । तर कम्प्युटरको आविष्कारले टाइपराइटरलाई नै विस्थापित गरिदियो । रेडियोको जमानालाई टेलिभिजनले विस्थापित गर्यो । घडी त नाडीमा बाध्न कति राम्रो थियो ! समय हेर्न पनि सजिलो थियो । टिभी रेडियो घडी सबैलाई विस्थापित गरिदियो मोबाइलले । मानिसका ज्ञानको दायरा झन् पछि झन् फराकिलो हँुदैछ । यसमा निचोड ज्ञानको भूमिका महत्वपूर्ण छ । अब कुरा रह्यो हाम्रो समाजको विविध पक्ष र वातावरणको कुरो । जस्तैः कृषि, शिक्षा, उद्योग, व्यापार र राजनीतिका पक्षहरू । अझ छोटोमा भन्दा सामाजिक आर्थिक र राजनीतिक वातावरण समाजका तीन आयामहरू हुन् । यसमध्ये सबैलाई प्रभाव पार्न सक्ने राजनीति हो । यसै विषयमा हामी छोटो कुरा गरौँ । कुनै पनि देशको राजनीतिक पक्ष सुव्यवस्थित र राम्रो भयो भने आर्थिक र सामाजिक पक्ष पनि राम्रो हुन्छ ।
राजतन्त्रको खराब पक्ष मात्र औँल्याएर जनतामा प्रभाव पार्न सफल हाम्रा आदरणीय शीर्ष नेता गणमा राजतन्त्र ढलिसकेपछि कस्तो आर्थिक नीति बनाउने र कस्तो समाज बनाउने ? भन्ने विषयमा कुनै भिजन नभएको हो कि भन्ने सबैलाई भान भइरहेकै छ । बैशालु उमेरका सम्पूर्ण समय जनताका लागि गीत संगीतको माध्यमबाट जनजागरणमा खर्च गर्नुभएका जनताका कलाकार रामेशजस्ता व्यक्तित्वले आजको परिस्थितिलाई मूल्याङ्कन गरी ‘योभन्दा त राजा महेन्द्रमा कति हो कति दूरदृष्टि रहेछ’ भनी निचोड निकाल्नु चानचुने कुरा छैन । यसैले असफलता र गलत पक्षबाट हामीले शिक्षा लिनु जरुरी छ वा छैन ? नयाँ पुस्ता र पार्टीको कार्यकर्ताहरूले पुरानो अनुभव र निचोड ज्ञानलाई नजरअन्दाज गर्न मिल्छ जस्तो लाग्दैन । राजा महेन्द्रकै बाटो अपनाउनुपर्छ भन्ने भनाइ होइन । राजा महेन्द्रले गरेका राम्रा कामहरूको अनुशरण गर्दै समय परिस्थितिअनुसार त्योभन्दा उन्नत समाज कसरी बनाउन सकिन्छ सोच्नु आवश्यक छैन र ? राजतन्त्र फाल्न अथक संघर्ष गर्नेहरूले गलत पक्ष फाल्न पनि त्यति नै संघर्ष गर्नुपर्यो नि । चाकडी चाप्लुसी र जसोजसो बाहुन बाजे उसैउसै स्वाहाको मनस्थितिबाट नयाँ पुस्ता उठ्नु जरुरी छ । यसो भयो भने मात्र नयाँ पुस्ताले नवीन सभ्यताको सुरुवात गर्न सफल हुनेछन् भन्ने अलिकति चेतनशील सबैको ठम्याइ छ ।
२००७ शालको क्रान्तिपछि भारतले राजा त्रिभुवनका राजनीतिक र प्रशासनिक सल्लाहकार बनाई पठाएका गोविन्द नारायण सिंह त्यस समयमा उपराजाजस्तै नेपालमा ढलिमली गरी बसिरहेका थिए । त्यो समयमा नेपालको राष्ट्रिय सुरक्षासम्बन्धी बैठक दिल्लीमा गर्न थालिएको थियो । राजा महेन्द्रले अब नेपालबारे हामी आफैँ निर्णय गर्न सक्षम छौँ भनी गोविन्द नारायणलाई तपाईं घर जानुहोस् भनी बिदा गरी पठाए । राजा महेन्द्रले नै नेपालको पूर्वदेखि पश्चिमसम्म चिनियाँ नाकामा रहेका १७ वटा भारतीय चेकपोस्ट हटाए । मित्र राष्ट्रहरूको सहयोगमा काठमाडौं कोदारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग र अरू पनि थुप्रै राजमार्गहरू बनाए । उद्योगधन्दाहरू खोलिए ।
यसैले राम्रा कुरा सबैबाट सिक्नुपर्छ । आवश्यकताअनुसार पृथ्वीनारायण शाहबाट झन् धेरै सिक्नुपर्छ । संघीयता नेपालका लागि घाँडो साबित भएको छ । प्रदेशहरू हटाउनु आवश्यक भइसक्यो । संसद् संख्या र मन्त्रीहरूको संख्या अस्वाभाविकरूपमा ठूलो भयो । यसको आकार घटाउनु जरुरी छ । नेपालीले स्वदेशमा गरी खान पाउने वातावरण सिर्जना हुनुपर्छ । असंलग्न परराष्ट्र नीतिलाई कसिलो रूपमा लागू गर्नु आवश्यक छ । यो नै आजको नेपाली समाजमा सबैको मन–मनमा खट्केको निचोड ज्ञान हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया