Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाढी पहिरोको डरलाग्दो स्थिति

बाढी पहिरोको डरलाग्दो स्थिति


विश्वनाथ खरेल
देशको खासगरी मध्यपहाडी क्षेत्रमा जाने पहिरो र तराईमा अविरल वर्षापछि हुने डुवान देशको लागि प्रमुख समस्याका रूपमा रहेको छ । गत शनिबारदेखि हाम्रो देशमा मनसुन सुरु भएको छ । प्रत्येक वर्ष नेपालमा मनसुन प्रवेशसँगै विपत्को सामना गर्नुपर्ने हुन्छ ।

यस देशमा पहाडै पहाडले घेरिएको र साना–ठूला गरी करिब छ हजार नदीनालाहरू उत्तर दक्षिण बगिरहेका छन् । हाम्रो देशमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । किनकी यसै अवधिमा मनसुनको प्रभाव रहन्छ । यो अवधिमा वर्षा हुन्छ र हाम्रो खासगरी प्रमुख बाली धान, जसलाई बढी पानी चाहिन्छ, यही अवधिमा रोपिन्छ र फल्न पनि थाल्छ । मनसुन मौसमी वायु हो, जसले हामी कहाँ वर्षा गराउँछ ।

बंगालको खाडीबाट पूर्वी नेपाल हुदै प्रवेश गर्ने मनसुनले झन्डै एक सय १० दिनसम्म मुलुकमा वर्षा गराउने गर्छ । यो खास गरीकन जेठ, असार, साउन र भदौ, नेपालमा पानी पर्ने महिना हुन् । तर, जलवायु परिवर्तनजस्ता कारणले यो क्रम बिस्तारै पछि धकेलिँदै गएको छ । यसलाई नै बाढीपहिरोको मूल कारक मानिन्छ र वर्षभरिमा औसत १६ सय मिलिमिटर वर्षा हुने गरेको छ । यहाँ औसत ८० प्रतिशत वर्षा वर्षायाममा नै हुन्छ । यसको मतलब बाढीपहिरोको जोखिम वर्षायाममै अधिक रहन्छ भन्ने नै हो ।

नेपाल विपद् प्रतिवेदन–२०७४ ले नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको कुरा सार्वजनिक गरिएको छ । त्यसैगरी विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ । यसर्थ प्राकृतिक प्रकोपका कारण वर्षेनी सयौं मानिसको मृत्यु हुनुका साथ साथै हजारौँ नागरिक बेपत्ता र घरबारविहीन भई विस्थापित भएका छन् । खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो भए पनि समग्रमा प्राकृतिक प्रकोप र विपत्बाट नेपालले वर्षेनी ठूलो क्षति बेहोर्नुपरेको छ ।

एक तथ्यांकअनुसार नेपाल बाढीपहिरो जोखिमका दृष्टिले विश्वमा तीसौँ, जलवायु परिर्वतन जोखिममा चौथो, भूकम्पीय जोखिममा एघारौँ र बहुप्रकोपिय विपद् जोखिमका हिसाबले बीसौँ स्थानमा छ । सरकारसँग जोखिममा खर्च गर्ने बजेट पनि छ । यसैअनुरूप चालू आव र आगामी आर्थिक वर्षका लागि समेत नेपाल सरकारले बजेट विनियोजन गरेको छ । तत्काल विपद् परेकाको उद्धार, सबै प्रदेशमा आपत्कालीन सामग्री पचासौँ वर्षदेखि नेपालमा विपद् कम गर्न प्रयास भइरहेका छन् । यसका नाममा हुने खर्च वर्षेनी अर्बको आँकडामा देखापर्ने गरेका छन् । आज यहाँ टाल्यो, भोलि अर्को ठाउँ भत्किन सक्छ । जसले गर्दा बालुवामा पानी हाले जस्तो भएको छ ।

तसर्थ विसं २०११ सालमा नेपालमा ठूलो बाढी आएको थियो । त्यो हाम्रा पिताहरूले भोगेका कुरा हुन् । अहिले पनि गाउँठाउँमा ११ सालको बाढीको कुरा कोट्याउनु भयो भने त्यो बेलामा भूस्वरूपमै परिवर्तन गर्ने गरी बाढी आएको थियो भन्ने बुझ्न र थाहा पाउन सकिन्छ । त्यसबेला अहिलेको तुलनामा जनसंख्या निकै कम हुँदा पनि करिब तीन सय ५० मानिसको मृत्यु भएको थियो । गाइवस्तु र धनहरूको पनि उत्तिकै क्षति भएको थियो । तीन हजार घर क्षतिग्रस्त भएको थियो भने दशौं लाख मानिस घरबारविहीन भएका थिए । त्यतिखेर बाढी पीडितलाई सहयोग गर्न राष्ट्रिय दुःख निवारण कोषको स्थापना गरी सहयोग संकलन गरिएको थियो ।

नेपाल प्राकृतिक प्रकोपको दृष्टिले अत्यन्त जोखिममा रहेको छ । प्राकृतिक प्रकोपले हरेक वर्ष मानवीय र भौतिक क्षति पु-याउँदै आएको छ । यसैले हामी सधैं नै सजग र होसियार हुनुपर्छ । वन विनाश र प्रकृति दोहन नै यस विपित्तको प्रमुख कारक हो । हिमालदेखि तराईसम्मै हामीले सचेतनामूलक अभियान सञ्चालन गर्न सकेमा र सबैले अनुशासित भई प्रकृतिको संरक्षण गर्नका लागि परेमा मात्र यस्ता विपित्तबाट हुने क्षति न्यूनीकरण सम्भव हुन्छ । किनकी, सरकारी प्रयासले मात्र यो सम्भव हुँदैन ।

नेपाल कृषिप्रधान देश हो । दुई तिहाइभन्दा बढी नेपाली कृषि पेसामै निर्भर रहेका छन् । अर्थतन्त्रमा यसको ठूलो योगदान छ । तर, पर्याप्त सिँचाइको सुविधाको अभावमा खेतीपातीका लागि आकासे वर्षामै भर पर्नुपर्ने भएकाले नेपालमा मनसुनी वर्षाको आफ्नै महत्व छ ।

यसपालि मनसुन सामान्यभन्दा एक/दुई दिन ढिलो गरी भित्रियो । तर, मनसुनलगत्तै दुई/तीन दिन लगातार वर्षा भयो । यसर्थ रोपाइँले गति पनि सुरु हुन लागेको छ । तर, गत वर्षको जुलाई महिनाको दोस्रो साता अर्थात् गत वर्षको असार २३ गतेदेखि भएको केही दिनको लगातार वर्षाले बाढी, पहिरो र डुवानको समस्या उत्पन्न गरिदियो । यसैगरी बाढीप्रभावित क्षेत्रमा करोडौं मूल्यको सडक, पुल, विद्युत् र दूरसञ्चारलगायत भौतिक संरचनाहरू ध्वस्त भए । प्रभावित जिल्लाहरूमध्ये तराईका ११ जिल्लाको ८० प्रतिशत भू–भाग डुवानमा परे । बाढीप्रभावित क्षेत्रमा पशु, माछा, फलफूल, कुखुरासहित ८० प्रतिशन कृषिजन्य उपज नोक्सान भयो । बाढीपहिरोबाट २ अर्ब ७६ करोडको कृषिजन्य वस्तुको क्षति भयो ।

समग्रमा भन्नुपर्दा जनतालाई बाढी पहिरोसम्बन्धी पूर्वसूचना दिने कार्य बेलैमा सचेत गराउन सकियो भने विपद्बाट हुने ठूलो जनधनको क्षतिमा कमी ल्याउन सकिने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी छ । मूलतः नेपाल सरकारले विपद्अघि गर्नुपर्ने पूर्वतयारीमा ध्यान नदिँदा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी प्रत्येक वर्ष विपद्को सामना गर्नुपर्ने देशले पूर्वतयारीमा ध्यान दिन नसक्नुलाई बिडम्वना मान्नुपर्दछ । अतः देशमा विपद्ले च्यापेपछि मात्रै हतारमा तयारी गर्ने नेपालको बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ ।

विकासको नाममा मुलुकभरि गरिएको अवैज्ञानिक तवरबाट खनिएका सडक हाल पहाड, मध्यपहाड, हिमाल, तराई क्षेत्रमा बसोबास गर्ने मानिसको लागि काल बन्दै गएको प्रमाण एकातिर छ भने अर्कोतिर छिमेकी देश भारतले सीमा क्षेत्रको दशगजामा सडक विस्तार गर्न थालेपछि नेपाली भू–भाग बाढीपहिरोमा पर्दै गएको कुरा सर्वविदितै रहेको छ ।

हाम्रो देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको देखिन्छ । मनसुनकै पानीले हाम्रो जीवन र अर्थ व्यवस्था चल्छ । मनसुन राम्रो भएको वर्ष हाम्रो आर्थिक वृद्धिदर र उत्पादन पनि राम्रो हुन्छ । जुन बेला मौसम गडबड हुन्छ, पहिरो जान्छ अनि आर्थिक वृद्धिदर पनि तल झर्छ । आखिर मनसुन नभए घाटा हुन्छ । पछिल्ला वर्षहरूमा मनसुनले किन क्षति गरिरहेको छ ? गम्भीर हुन जरुरी छ । तसर्थ विपद्लाई सदाका लागि विदाइ गर्न जरुरी छ । विपद् व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको विकास गरी सबै संयन्त्र परिचालन गर्न सके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ । यसर्थ घटना हुनुभन्दा अगाडि केही सचेत भए धेरै जनधनको क्षति हुन पाउने थिएन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x