Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएमजी ब्रान्डका गाडी बजारबाट अविलम्ब हटाऊ

एमजी ब्रान्डका गाडी बजारबाट अविलम्ब हटाऊ


काठमाडौं । अचेल दिनहुँ एमजी ब्रान्डका विद्युतीय गाडीमा अप्रत्यासित खराबी देखिइरहेका छन् । तीमध्ये कतिपय घटना त ज्यानै जाने खालका साबित भएका छन् । तर, यस्ता दुर्घटनाहरु गाडीको प्राविधिक खराबीबाट भइरहेका छन् भन्ने कराचाहिँ भर्खर खुल्दैछन् । अधिकांंश सहरी क्षेत्रमा प्रयोग हुने यी गाडीका खराबीबाट प्रयोगकर्ता पीडित भएका भन्ने भर्खरभर्खर मात्रै छानबिनबाट देखिन थालेको हो । त्यसअघि कतिपय चालकले आफ्नै कमजोरी हो कि भनेर त्यसलाई सामसुम पारेका पनि हुनसक्छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठूलो दुर्घटनाको छानबिनका क्रममा जे देखियो त्यो धेरै भयावह छ । त्यसलाई आधार मान्ने हो भने यो ब्रान्डका गाडीहरु यही अवस्थामा सडकमा गुडाउनै मिल्दैन । राज्यले यस्ता अप्रिय घटनालाई रोक्ने हो भने सूचना नै जारी गरेर बजारबाट हटाउनै पर्छ । यही हप्ताको विमानस्थलको दुर्घटनाका क्रममा जे देखियो त्यो कम्तीमा सडकमा गुड्ने गाडीहरुका लागि अक्ष्यम्य नै हो । अझै पनि यसलाई बजारमा चल्न दिने हो भने त्यसबाट हुने दुर्घटना र क्षतिको जिम्मा राज्यले लिनुपर्छ ।

विमानस्थलमा भएको त्यो दुर्घटना एमजी ब्रान्डको गाडीको गम्भीर प्राविधिक त्रुटिका कारण भएको भन्ने पुष्टि भइसकेको छ । सामान्यतया सवारी दुर्घटना चालकको कमजोरीले भएको मानिन्छ तर यो घटना त्यस्तो होइन । त्यसबाट पीडित एकजना अहिले गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका छन् । चालकले पछाडि लाने भनेर त्यस्तो गियर समेत लगाइसकेको अवस्थामा गाडी अगाडि हुत्तियो र यति तीव्र गतिमा दौडियो कि के भइरहेको छ भन्ने चालकले भेउ नै पाएनन् । पर्खालको भित्तोमा गएर मात्र गाडी रोकियो । त्यसबेला गाडीमा एक महिला मात्रै थिइन् । उनी अहिले गम्भीर घाइतेका रुपमा उपचाररत छिन् । उनले गाडी पछि सार्न खोज्दा अगाडि हुत्तिएको कुरा अनुसन्धानले नै देखाएको हो ।

बताइएअनुसार एमजी कम्पनीका यी विद्युतीय गाडीमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विश्वका विभिन्न मुलुकमा प्रतिबन्धित छन् । गाडीभित्रको आन्तरिक गडबडीले पटक–पटक यस्ता घटना दोहोरिएका, आगलागी भएको अवस्था बढ्दै गएपछि बिक्रीवितरण नै बन्द गरिएको हो । नेपालमा जस–जसले यी गाडी प्रयोग गरिरहेका छन् तिनका पनि अनुभव उही हुन् । चालकले अगाडि लान खोज्दा पछाडि दौडन्छ र पछाडि लान खोज्दा अगाडि जान्छ भने यस्ता प्राविधिक त्रुटि रहेका गाडीलाई किन सडकमा छाड्ने भन्ने प्रश्नको जवाफ राज्यले अविलम्ब दिनुपर्छ । यो घटनाको केही दिनअघि मात्रै विद्युतीय चार्जमा राखिएकै ठाउँमा गाडी पड्किएको थियो । प्राविधिकरूपमा देखिएका यस्ता घटना सवारीका लागि घातक रहेको र समस्या समाधान नहुँदै बिक्रीवितरण गर्न दिँदा आम नागरिकको जिउधन नै जोखिममा परेको देख्न सकिन्छ । सर्वसाधारणले प्रयोग गर्ने वस्तुमा यस्ता प्राविधिक समस्या देखा परेपछि पहिले त्यसको समाधाान भएको ग्यारेन्टी हुनुपर्छ । अनि मात्र बजारमा बिक्रीवितरणका लागि योग्य हुन्छन् । यी ब्रान्डका गाडीमा यस्तो सामान्य कुरा पनि लागू भएको पाइएन । यो गम्भीर आपत्तिको विषय हो । नागरिकको जिउधनसँग जोडिएका विषयमा यस्तो खेलबाड गर्न पाइँदैन । यसमा राज्यसञ्चालकहरुको तुरुन्तै ध्यान जानुपर्छ र यो ब्रान्डका गाडीलाई बजारबाट हटाउनुपर्छ । यसमा जति आलटाल गरियो मान्छे मारिने खतरा त्यहीरुपमा बढ्दै जानेछ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x