Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर


काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्सविना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका हुन् ।

कम्पनीका अनुसार एकदमै राम्रो ब्रोडब्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिलेकाहीँ मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुनेगरी दुई प्रोडक्टहरू फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको हो । विशेषगरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक रहेको कम्पनीले जनाएको छ ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरूमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागू हुने जनाइएको छ । यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउने कम्पनीको दाबी छ । यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्ने एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले बताए ।

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामग्री उपलब्ध हुँदैन । यसैगरी स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकहरूले आफ्नो स्टाटस्, पोस्टहरू राख्ने, फोटोहरू हेर्ने र राख्नेजस्ता कामहरू गर्न सक्छन् । डेटा खरिद गरेपछि उनीहरू स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x