नेपालमा बैंकिङ पहुँच : चुनौती र अवसरहरू
नेपालले विगत केही दशकहरूमा बैंकिङ पहुँच विस्तार गर्न उल्लेखनीय प्रगति गरेको छ । यद्यपि यो प्रगति सन्तोषजनक भने रहेको छैन । परम्परागतरूपमा नेपालको बैंकिङ क्षेत्र सहरी क्षेत्रमा केन्द्रित थियो, ग्रामीण क्षेत्रमा सीमित उपस्थिति थियो । सन् १९३७ मा नेपाल बैंक लिमिटेडको स्थापनाले देशमा औपचारिक बैंकिङको सुरुवात भएको हो । धेरै वर्षसम्म बैंकिङ सेवाहरू सहरी क्षेत्रका जनताहरूको लागि मात्र हो भन्ने रहेको थियो । ग्रामीण र दुर्गम क्षेत्रहरूमा न्यून मात्रामा मात्र बैंकिङ सेवा पुगेको थियो । पछिल्लो समय भने नेपालमा बैंकिङ संस्था र शाखाहरूको संख्यामा वृद्धि देखिएको छ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक (एनआरबी) का अनुसार देशमा हाल २० वटा वाणिज्य बैंक, १७ वटा बिकास बैंक, १७ वटा फाइनान्स, ५५ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंकसहित कुल एक सय १० वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । यी सबैको अहिले सात वटा प्रदेशका ७७ वटै जिल्लाहरूमा कुल ११ हजार पाँच सय २८ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । अहिले देशभर सात सय ५३ वटा स्थानीय तहहरू रहेकोमा बझाङको साइपाल गाउँपालिकाबाहेक सबै स्थानीय तहहरूमा वाणिज्य बैंकहरूको शाखा पुगिसकेको छ ।
बैंकिङ क्षेत्रको यो प्रगतिका बाबजुद, धेरै चुनौतीहरू रहेका छन् । नेपालको दुर्गम भूभाग र छरिएका बस्तीहरूले बैंकिङ पूर्वाधार स्थापना र मर्मत सम्भार गर्न गाह्रो बनाएको छ । बैंकिङ पहुँच विस्तारको लागि विकास पहिलो सर्त हो, जहाँ विकासका पूर्वाधाहरूको कमजोर रहेका छन् । अहिले पनि ती क्षेत्रहरूमा बैंकहरू पुग्न सकेका छैनन् । अर्कोतर्फ मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ बढ्दै जाँदा पनि ग्रामीण क्षेत्रमा प्राविधिक पूर्वाधारको अभाव छ । सीमित इन्टरनेट प्रवेश र अविश्वसनीय बिजुली आपूर्तिले ठूलो समस्या उत्पन्न गराएको छ । अहिले पनि जनसंख्याको ठूलो हिस्सामा वित्तीय साक्षरताको अभाव रहेको छ । यो अभावले बैंकिङ क्षेत्रको सेवाहरूको प्रभावकारी प्रयोगमा बाधा पु¥याएको छ ।राष्ट्र बैंकले बैंकिङ पहुँच विस्तार गर्ने नीतिहरू लागू गरेको भए पनि यसमा पनि धेरै समस्याहरू रहेका छन् । जसले गर्दा लक्ष्यअनुसारको वित्तीय पहुँचको विस्तार हुन सकेको छैन । मोबाइल फोनको पहुँचले बैंकिङ सेवाहरू विस्तार गर्ने ठूलो अवसर प्रदान गरेको छ । मोबाइल बैंकिङले भौतिक शाखाहरू सम्भव नभएका क्षेत्रहरूमा विद्युतीयरूपमा भुक्तानी गर्न सहयोग पुग्छ । लघुवित्त वित्तीय संस्था र सहकारीहरूले पनि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न निकै ठूलो भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूलाई सुदृढ पार्दा थप जनसंख्यामा ऋण र बचत सुविधाहरूमा पहुँच विस्तार गर्न सकिन्छ । लक्षित कार्यक्रममार्फत वित्तीय साक्षरता बढाउनाले मानिसहरूलाई बैंकिङ सेवाहरू प्रभावकारीरूपमा प्रयोग गर्न सशक्त बनाउन सक्छ ।
विद्यालय, सामुदायिक सङ्गठन र बैंकहरू आफँैले यी शैक्षिक प्रयासहरूमा भूमिका खेल्न सक्छन् । सरकारी र निजी क्षेत्रबीचको सहकार्यले बैंकिङ सेवामा पूर्वाधार विकास र नवप्रवर्तनलाई उत्प्रेरित गर्न सक्छ । सार्वजनिक–निजी साझेदारीले बैंकिङ सञ्जाल विस्तार गर्न र सेवा वितरण सुधार गर्न सहयोग गर्न सक्नेछ । प्रविधिको उपयोग गरेर, वित्तीय साक्षरतालाई बढावा दिएर, र नवीन बैंकिङ मोडेललाई प्रोत्साहित गरेर, नेपालले आफ्ना सबै नागरिकहरूका लागि वित्तीय समावेशीकरणको दिशामा निरन्तर प्रगति गर्न सक्छ । सरकार, वित्तीय संस्था र समुदायहरू बीचको सहकार्य वित्तीय क्षेत्रको चुनौतीलाई कम गरी वित्तीय पहुँच विस्तार गर्न निकै नै फलदायी हुन सक्छ ।सहरी र ग्रामीण क्षेत्रहरूबीचको महत्वपूर्ण आर्थिक असमानताले वित्तीय पहुँच विस्तारलाई असर पार्ने गरेको छ । बैंकहरू जहाँ बढी रकम कारोबार बढी हुन्छ, जहाँको बजार, जनसंख्या र सडकलगायतका अन्य भौतिक पूर्वाधारहरूको अवस्था राम्रो त्यहाँ नै जाने गरेका छन् । यस अर्थमा नेपालमा बैंकहरूको पहिलो रोजाइ बनेको सुविधासम्पन्न सहर र सुगम क्षेत्र नै हो । यसबाहेक ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच विस्तार गर्नमा भने राष्ट्र बैंकको निकै ठूलो भूमिका रहेको छ । बैंकहरू नाफामुखी मात्र होइन, सेवामुखी पनि हो भन्दै राष्ट्र बैंकले सबै क्षेत्रमा समानरूपमा वित्तीय पहुँच विस्तार गर्न सोही किसिमको प्रोत्साहन नीति अवलम्बन गरेकाले पनि नेपाली बैंकिङ क्षेत्र आजको दिनमा यो अवस्थामा आइपुगेको हो । अहिले देशभर वाणिज्य बैंकहरूको पाँच हजार ३२, विकास बैंकहरूको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय ११ वटा शाखाहरू रहेका छन् । तीन करोडको हाराहारीमा जनसंख्या रहेको यो मुलुकको बैंक तथा फाइनान्स कम्पनीहरूको यो संख्या यथेष्ट हो । यसलाई नेपाली बैंकिङ क्षेत्रको प्रगति नै मान्नुपर्छ ।
नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशनमा अहिले नेपालको वित्तीय क्षेत्र पूर्णरूपमा नाफामुखी मात्र छैन । यो क्षेत्रले आवश्यक पर्दा केन्द्रीय बैंकको निर्देशनमा सरकारको लागि ठूलो परिमाणमा आन्तरिक ऋणको जोहो गरिदिने, मुलुकको सिंगो अर्थतन्त्र, उद्योग, व्यापार व्यवसायलाई चलायमान बनाउने काम गरेको छ । सोही कारण पछिल्लो समय मुलुकले आन्तरिक उत्पादन र रोजगारी दुवैमा प्रगति गर्दै गइरहेको छ । अहिले नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्स नै हो । यसलाई वैधानिक च्यालनबाट स्वदेश भित्र्याएर सिंगो मुलुकको अर्थतन्त्रसँगै मुलुकको ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि बैंकिङ क्षेत्रको भूमिका निकै ठूलो रहेको छ ।बैंकिङ क्षेत्रले अहिले नेपालको ठूलाठूला जलविद्युत् आयोजना, विकासका अन्य पूर्वाधारहरूमा लगानी गर्दै आएका छन्, लगानीका लागि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा स्रोत जुटाइरहेका छन् । यसले गर्दा पनि नेपालको समग्र आर्थिक विकासमा बैंकिङ क्षेत्रको निकै ठूलो भूमिका र योगदान रहेको छ । यद्यपि नेपालको बैंकिङ क्षेत्रमा अझै धेरै समस्याहरू रहेका छन् । वित्तीय साक्षरता, पूर्वाधारको विकास, डिजिटल कारोबारको लागि भरपर्दो साइबर सुरक्षा आदिको व्यवस्था हुन सके नेपालको बैंकिङ क्षेत्र यो मुलुकको दिगो आर्थिक विकासको लागि कोशेढुङ्गा सावित हुन सक्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया