Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमृद्धिका लागि गहुँ खेती कति प्रभावकारी ?

समृद्धिका लागि गहुँ खेती कति प्रभावकारी ?


नेपाल एक कृषिप्रधान देश हो । जहाँ कुल ३० लाख ९१ हजार हेक्टर जग्गा खेतीयोग्य छ । यहाँको कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान झण्डै २७ प्रतिशत छ । तर खेदको कुरा त के छ भने केही वर्षयता यहाँ खाद्यान्न आयात निरन्तररूपले बढिरहेको छ ।

यथार्थतः ६० देखि आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेकाले नेपालमा खाद्यान्न, फलफूल र सागपातको खेती गर्न सकिन्छ । यहाँको हावापानीले विश्वको हावापानीको प्रतिनिधित्व गर्ने हुनाले यहाँ विभिन्न किसिमका कृषि उपजहरू उत्पादन गर्न सकिन्छ । जसमध्ये गहुँ पनि एक हो ।

नेपालमा धानपछि बढी खेती गरिने खाद्यान्न गहुँ हो । केही वर्षयता यसको खेती नगण्य मात्रामा बढे पनि क्षेत्रफलको हिसाबले निरन्तर घटिरहेको छ । किनभने यहाँको प्रमुख खाद्य बालीहरूमा समान प्राथमिकताका साथ काम गर्नुपर्नेमा हालसम्म त्यस्तो गर्न सकिएको छैन ।

वस्तुतः गहुँबालीमा सरकारले हालसम्म पनि उत्पादन एवं उत्पादकत्व बढाउने परिपाटीबाट न त नीति निर्माण गर्न सकेको छ न त कार्यक्रम नै सञ्चालन गर्न सकेको छ । गहुँ बालीमा सरकारको प्राथमिकता नै कम छ । यहाँ आवश्यक गहुँ उत्पादन हुन नसक्दा छिमेकी राष्ट्रबाट आयात हुन नसक्दा छिमेकी राष्ट्रबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कहिलेकाँही भारतले उक्त बालीको आयातमा रोक लगाउँदा यहाँको सरकारले समस्या भोग्नुपरेको छ । परन्तु, हालसम्म पनि यसको समाधानको उपाय अपनाउन सकिएको छैन ।

पछिल्ला वर्षहरूमा नेपालमा गहुँ खेती गरिएको जमिनको क्षेत्रफल घटेको छ । उदाहरणको लागि आर्थिक वर्ष २०६९/७० मा यहाँको सात लाख ५९ हजार आठ सय ४३ हेक्टर जग्गामा गहुँ खेती गरिएको थियो भने आर्थिक वर्ष २०८८/८९ मा ४२ हजार आठ सय ६५ क्षेत्रफल घटेको एक आधिकारिक तथ्याड्ढले इङ्गित गरेको छ । फलतः यहाँको गहुँ उत्पादन घट्नाले आयातमुखी हुनुपरेको छ ।

नेपालमा बढ्दो बसाइँसराइ र यहाँका युवाहरू वैदेशिक रोजगारीमा जाँदाले यस्तो अवस्था सिर्जना भएको हो । योबाहेक केही किसानहरू गहुँखेती गर्न छाडेर अन्य बालीहरूको खेतीमा संलग्न हुनाले पनि यस्तो भएको हो । वास्तवमा गहुँको उत्पादन वृद्धि गर्न उन्नत बीउविजन, मल र सिँचाइको आवश्यकता पर्छ । तर, यहाँ यस्तो व्यवस्था नहुनाले गहुँको उत्पादन बढ्न सकेको छैन ।

नेपालमा गहुँको उत्पादन अभिवृद्धि गर्न यहाँका किसानहरूलाई गहुँखेती गर्न आकर्षित गर्नुपर्छ । यसका लागि यहाँ विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ जुन आजसम्म गरिएको छैन । उक्त बालीलाई आजसम्म प्राथमिकतामा पनि राखिएको छैन । तसर्थ, यो प्रत्येक वर्ष घट्दो क्रममा छ ।

गहुँ खेतीको लागि नेपालको हावापानी उपयुक्त छ । तर, सरकारले उन्नत बीउविजन, मल र सिँचाइ सुव्यवस्था गर्न नसक्दा यहाँ गहुँ उत्पादन बढाउन सकिएको छैन । परिणामतः प्रत्येक वर्ष यहाँ आवश्यक गहुँको लागि अन्य देशहरूमा निर्भर रहनुपरेको छ । जुन लज्जास्पद कुरा हो । वस्तुतः सरकारले गहुँ खेतीको उत्पादनको अनुपातमा अनुदान दिने, गहुँ पकेट क्षेत्रको विस्तार गर्ने र उपयुक्त कृषि औजारहरूको यथोचित समयमा व्यवस्था गर्ने हो भने भविष्यमा यहाँ गहुँको उत्पादन प्रचुर मात्रामा बढाउन सकिन्छ । तर, यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन नसक्दा यहाँ गहुँको उत्पादन बढाउन सकिएको छैन ।

गहुँको उत्पादन बढाउन नसक्दा यहाँ सञ्चालित झन्डै तीन दर्जन मैदा मिल बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । वर्तमान समयमा यहाँ गहुँ उत्पादन पर्याप्त नभएकोले छिमेकी राष्ट्र भारतबाट गहुँ आयात गरेर मैदा मिलहरू सञ्चालन गर्नुपर्ने भएको छ । तर भारतमा गहुँको उत्पादन न्यून भएमा निर्यातमा प्रतिबन्ध लगाउने भएकाले यहाँको खाद्य सुरक्षामा चुनौती थपिनु स्वाभाविक हो ।

नेपालमा गहुँ खेती प्रवर्द्धनका लागि सरकारले पुराना कार्यक्रमलाई नै निरन्तरता दिएको छ । जसबाट गहुँको उत्पादन बढाउन सकिएको छैन । वास्तवमा यहाँ गहुँ उत्पादन वृद्धि गर्न उपयुक्त नयाँ कार्यक्रमहरू बनाई यथाशीघ्र कार्यान्वयन गर्न जरुरी छ । यसको लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ ।

नेपालमा बेमौसम र विभिन्न रोगका कारण गहुँ उत्पादन वृद्धि गर्न समस्या सामना गर्नुपरेको छ । यसको समाधान गर्न समयमै कीटनाशक तथा अन्य घरेलु औषधीको प्रयोगमा जोड दिनुपर्छ । जलवायु परिर्वतन एवं विभिन्न कारणले गर्दा गहुँ खेतीबाट फाइदा नहुन सक्छ । फलतः किसानहरू हतोत्साही हुन सक्छन् । गहुँ खेतीको बीमा गर्न सके उनीहरू हतोत्साही हुने छैनन् र गहुँ उत्पादन बढाउने सम्भावना हुन्छ ।

कोभिड–१९ ले थला पारेको विश्वको अर्थतन्त्र हालसम्म पनि शिथिल अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहनेछ भने सन् २०२४ मा केही सुधार हुनेछ । तर केही समयअघि रुस र युक्रेनबीच भएको युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवं आपूर्तिमा कमीजस्ता कारण मुद्रास्फ्रीति उच्च रहनुका साथै बैंकहरूको ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा प्रक्षेपण गरेअनुसार विश्व अर्थतन्त्र सन् २०२२ मा दुई दशमलव सात प्रतिशतले विस्तारै भएकोमा सन् २०२३ दुई दशमलव तीन प्रतिशत र सन् २०२४ मा तीन प्रतिशतले विस्तार हुने अनुमान छ ।

यसैगरी, उक्त कोषको प्रक्षेपणअनुसार विकासोन्मुख मुलुकहरूको अर्थतन्त्र सन् २०२२ मा चार प्रतिशतले वृद्धि भएकोमा सन् २०२३ मा दुई दशमलव तीन प्रतिशत र सन् २०२४ मा चार दशमलव दुई प्रतिशतले वृद्धि हुनेछ । हालसम्म पनि विश्व अर्थतन्त्रमा मुद्रास्फीति उच्च रहेको र विद्यमान भूराजनीतिक तनावका कारण इन्धन तथा अन्य वस्तुहरूको मूल्यवृद्धि कायम छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ र यस सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेको छैन ।

केही समयअघिदेखि सुरु भएको रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवं आयातमा कमीजस्ता कारणले मुद्रास्फीति उच्च रहनुका साथै बैंकहरूमा ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सन्तोषजनक हुन सकेन । विश्व अर्थतन्त्रमा विद्यमान नकारात्मक प्रभावको कारण नेपालको अर्थतन्त्रमा पनि प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभाव परेकाले भविष्यको यहाँको अर्थतन्त्रमा क्रमिक सुधार ल्याउन गहुँ खेतीले केही योगदान पुर्याउन सक्छ । त्यसैले यसको खेती प्रवर्द्धन गर्न भविष्यमा सरकारले यहाँको किसानहरूलाई विशेष सुविधा प्रदान गर्न जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x