Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकमा पैसा थुप्रियो ऋण माग्न कोही आएनन्

बैंकमा पैसा थुप्रियो ऋण माग्न कोही आएनन्


बैंकिङ प्रणालीमा निक्षेप ६४ खर्ब ५७ अर्ब रूपैयाँ पुगेको छ । असार लागेपछि मात्रै प्रणालीमा सवा दुई खर्ब रूपैयाँ थपिएको छ । जेठ मसान्तमा ६२ खर्ब ४२ अर्ब रहेको निक्षेप २६ दिनपछि ६४ खर्ब ५७ अर्ब रूपैयाँ पुगेको छ । आर्थिक वर्षको अन्तिम महिनामा सरकारी भुक्तानी बढेपछि बैंकिङ प्रणालीमा पनि पैसा थुप्रिन पुगेको हो । एक वर्षमा निक्षेप छ खर्ब ८६ अर्ब रूपैयाँ बढेको छ । २०८० असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्ब रूपैयाँ थियो ।बैंकमा पैसा जम्मा हुने क्रम जारी रहे पनि ऋण माग्नको संख्या अति न्यून छ । असार महिनाको २६ दिनमा बैंकहरूको कर्जा १६ अर्ब रूपैयाँ बढेको छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा निजी क्षेत्रबाट कर्जाको माग निकै कम छ । यही कारण कर्जा विस्तार सुस्त भएको देखिन्छ । यस आर्थिक वर्षमा बैंकहरूको कर्जा दुई खर्ब ७९ अर्ब रूपैयाँ बढेको छ । २०८० असारमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ४८ खर्ब ७८ अर्ब रूपैयाँ थियो भने २०८१ असार २६ गते ५१ खर्ब ५० अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ७५ प्रतिशत छ । सीडी रेसियोअनुसार वित्तीय प्रणालीमा अहिले छ खर्ब ६१ अर्ब रूपैयाँ लगानीयोग्य रकम छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य प्राप्त गर्न वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने प्राथमिकता राखेको थियो । विस्तृत मुद्राप्रदाय १२ दशमलव पाँच प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलप पाँच प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य राखेको थियो । तर, कर्जा प्रवाह लक्ष्यअनुसार हुन सकेको छैन । अधिक तरलताको स्थिति हुँदा बैंकहरूलाई तरलता व्यवस्थापनमा सकस परेको छ भने केन्द्रीय बैंकले अहिले पनि तीन खर्ब ५७ अर्ब ३० करोड रूपैयाँ प्रणालीबाट प्रशोचन गरेको छ ।मौद्रिक नीतिको लक्ष्य हासिल गर्न कर्जा विस्तार तीव्र हुनुपथ्र्यो । तर, बजारमा कर्जाको माग नै छैन । निजी क्षेत्रले कर्जा लिएर उद्योग व्यवसाय गर्ने अवस्था नरहेकाले कर्जाको माग गर्न नसकेको बताउँदै आएका छन् । ब्याजदर सस्तो भएको छ । बैंकरहरूले यही अवस्था रहिरहे अझै ब्याजदर घट्ने बताउन थालेका छन् । आगामी आर्थिक वर्षको सुरुका महिनामा कर्जाको माग भएन भने ब्याजदर थप घटाउनुको विकल्प नहुने बैंकहरू बताउँछन् ।

प्रणालीमा अधिक तरलता हुन थालेपछि बैंकहरूबीच हुने कारोबार पनि घटेको छ । यही कारण अन्तरबैंक कारोबारको औसत ब्याजदर तीन प्रतिशतभन्दा कम नै छ । असार २६ गतेसम्मको तथ्याङ्कअनुसार अन्तर बैंक कारोबारको ब्याजदर दुई दशमलव ९८ प्रतिशत छ । वाणिज्य बैंकहरूको कुल निक्षेप ५७ खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ भने यस अवधिमा ४५ खर्ब ५५ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सात खर्ब २८ अर्ब पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीले असार २६ गतेसमम प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ९५ अर्ब रूपैयाँ छ ।बैंक तथा वित्तीय संस्थाले एकातिर प्रणालीमा निक्षेप तीव्र बढ्ने र कर्जाको माग नहुने स्थितिको सामना गरिरहेका छन् भने अर्कोतिर पुरानो कर्जाको साँवाब्याज उठाउन सकस परिरहेको छ । यस्तो अवस्थामा खराब कर्जा बढेको छ भने त्यसबापत बढी रकम प्रोभिजनिङ गर्नु परिरहेको छ । जसले गर्दा बैंकहरूको नाफामा असर पार्ने देखिन्छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा यी विषयमा ध्यान दिनुपर्ने माग बैंकरहरूको छ । निजी क्षेत्रले पनि कर्जा विस्तारमा लचक बन्न केन्द्रीय बैंकलाई आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x