Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगोली प्रहारको घटनापछि जो बाइडन र डोनल्ड ट्रम्पले के भने ?

गोली प्रहारको घटनापछि जो बाइडन र डोनल्ड ट्रम्पले के भने ?


काठमाडौं,संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले डोनल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राजनीतिलाई “रणभूमि” वा “हत्याको मैदान” बनाउनु नहुने बताएका छन्।

पूर्वराष्ट्रपति तथा राष्ट्रपतीय निर्वाचनमा आफूसँग पुनः प्रतिस्पर्धा गर्न लागेका ट्रम्पको हत्याको प्रयास विफल भएपछि उनले “राजनीतिको तापक्रम” घटाउन आह्वान गर्दै ओभल अफिसबाट सम्बोधन गरेका हुन्।

उनको सम्बोधन टेलिभिजनबाट प्रसारित भएको थियो। “राजनीति कहिल्यै पनि रणभूमि बन्नु हुँदैन,” उनले भने।उनले अमेरिकालाई एकताबद्ध हुन र राजनीतिक मतभिन्नता “शान्तिपूर्वक” मतपेटिकाबाट टुङ्ग्याउन आग्रह गरे। शनिवार पेन्सिल्भेनिआ राज्यमा निर्वाचन प्रचारका क्रममा आयोजित एउटा सभामा एक सशस्त्र व्यक्तिले प्रहार गरेको गोली कानमा लागेर गएको भए पनि ट्रम्प गम्भीर घाइते भएनन्।

उक्त घटनामा सभामा सहभागी अर्का एक व्यक्तिको पनि मृत्यु भयो भने अरू दुई व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन्।सुरक्षाकर्मीको कारबाहीमा गोली प्रहार गरेको भनिएका सन्दिग्धको मृत्यु भएको छ।
सन्दिग्ध आक्रमणकारी को हुन्?सन्दिग्ध आक्रमणकारीको नाम टमस म्याथ्यू क्रूक्स भएको र उनी २० वर्षका भएको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाइएको छ।बाइडनले सन्दिग्ध आक्रमणकारीबारे धेरै कम कुरा मात्र थाहा भएको बताएका छन्। अन्लाइन माध्यमहरूमा उनीबारे धेरै भ्रामक सूचना फैलिएको छ।

क्रूक्सले कुनै परिचयपत्र बोकेका थिएनन्। डीएनएका आधारमा अनुसन्धानकर्ताहरूले उनको पहिचान गरेको एफबीआईले जनाएको छ। उनी घटनास्थलबाट झन्डै ७० किमि टाढा बेथल पार्कका बासिन्दा हुन्। उनले स्थानीय विद्यालयबाट सन् २०२२ मा विद्यालय तहको पढाइ पूरा गरेको देखिएको पिट्स्बर्ग ट्राइब्यून-रिभ्यू पत्रिकाले जनाएको छ।

राज्यको अभिलेखमा रिपब्लिकन मतदाताका रूपमा उनको नाम दर्ता भएको पाइएको अमेरिकी सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लिखित छ।

सन् २०२१ मा उनले उदारवादी समूह ‘एक्टब्लू’लाई निर्वाचन अभियानका लागि १५ डलर चन्दा पनि दिएको बताइएको छ। ट्रम्पमाथि भएको आक्रमणको उद्देश्य के हो?

एफबीआईका गुप्तचरहरूले उक्त आक्रमणमा सन्दिग्ध व्यक्ति एक्लै संलग्न भएको आफूले ठानेको जनाएका छन्।

यद्यपि आक्रमणको उद्देश्य स्पष्ट भइसकेको छैन। त्यसबारे अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।

अनुसन्धानका लागि निकै लामो समय लाग्न सक्ने एफबीआई पिट्स्बर्गका विशेष गुप्तचर केभिन रोजेकले बताए।

सीएनएनसँग कुरा गर्दै क्रूक्सका पिता म्याथ्यू क्रूक्सले खास के भएको हो त्यो जान्न आफूले खोजेको तर छोराको विषयमा बोल्नुअघि “कानुन कार्यान्वयनकारी निकायलाई कुर्ने” बताएका छन्। आक्रमणपछि के-के भयो?

घटना भएको केही घण्टापछि राष्ट्रपति बाइडनले ट्रम्पलाई फोन गर्दै उनको हत्याको प्रयासको निन्दा गरेका थिए

मञ्चमा ट्रम्पमाथि गोली प्रहार भएको र लगत्तै सन्दिग्ध व्यक्ति मारिएको घटनाप्रति आश्चर्य प्रकट गर्दै एफबीआईले ट्रम्पको सुरक्षार्थ खटिएको निकाय ‘सीक्रेट सर्भिस’ निगरानीमा रहेको जनाएको छ।

उक्त घटनापछि राष्ट्रपति निर्वाचन अभियानका राजनीतिक विज्ञापनहरू टेलिभिजनमा रोक्न थालिएको छ।

आफू सकुशल रहेको बताएका ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनमा सहभागी हुन मिल्वाकी पुगेका छन्। त्यहाँ उनलाई पार्टीले औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने छ। ट्रम्पले अन्तर्वार्तामा के भने?

पेन्सिल्भेनिआको घटनापछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले पार्टीको अधिवेशनका लागि तयार पारेको आफ्नो भाषण पूरै परिवर्तन गरेको बताए। उनले जो बाइडनको आलोचनाको साटो “एकता” को कुरा आफ्नो भाषण केन्द्रित हुने जनाए।

“बिहीवार मैले गर्ने सम्बोधन अभूतपूर्व हुनेवाला थियो,” उनले ‘वाशिङ्टन इग्ज्यामिनर’सँग भने।

आफूले बाइडनका नीतिहरूमा ध्यान केन्द्रित गर्ने गरेको योजना बनाएको सुनाउँदै उनले भने, “यो घटना नभएको भए त्यो एउटा अविश्वनीय भाषण हुने थियो।”

“इमान्दारीपूर्वक भन्नुपर्दा अहिले अब नितान्त अर्कै भाषण हुने छ। यो देशलाई एकजुट बनाउने अवसर हो। मैले त्यो अवसर पाएँ।” (बीबीसी)


क्याटेगोरी : बिबिध, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x