Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशदुगड स्पाइसेसद्वारा सेन्चुरी ग्रुपको २५ प्रतिशत सेयर बिक्री

दुगड स्पाइसेसद्वारा सेन्चुरी ग्रुपको २५ प्रतिशत सेयर बिक्री

अमेरिकी डोल्मा कम्पनीद्वारा सञ्चालक दुगडलाई एक सय पाँच करोडको भुक्तानी


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुुँदैआएको दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट सेन्चुरी ग्रुपले २५ प्रतिशत सेयर अमेरिकन कम्पनीलाई बिक्री गरेको छ ।

दुगड स्पाइसेस एन्ड फुड प्रोडक्ट उद्योग सञ्चालन गर्दै आएका उद्योगी मोतीलाल दुगडले आफू व्यावसायिकरुपमा टाट पल्टने सम्भावना बढ्दै गएपछि सेन्चुरी ग्रुपको चलअचल सम्पत्ति चार सय २० करोड मूल्याङ्कन गराएर अमेरीकी कम्पनीलाई २५ प्रतिशत सेयर बिक्री गरेको हो । अमेरिकन लगानीमा सञ्चालन हुुँदै आएको डोल्मा कम्पनीले उद्योगी मोतीलाल दुगढलाई उक्त उद्योगको सेयरबापत २५ प्रतिशतले हुनआउने एक सय पाँच करोड दिने भएको छ । डोल्मा कम्पनीले तत्काल ७० करोड रकम उद्योगी मोतीलाल दुगढलाई भुक्तानी गरिसकेको छ ।

उद्योगी मोतीलाल दुगढले उद्योगको सेयर अमेरिकी डोल्मा कम्पनीलाई बिक्री गरेपछि भ्याट बक्यौतादेखि आयकरलगायतको लामो समयदेखिको करोडौँको बक्यौता रकम पनि बुझाएको छ । अझै बैंकदेखि फाइनान्स कम्पनीसँगको फरफारक गर्न बाँकी नै रहेको जनाइएको छ । विशेषगरी एनआरएनहरुको लगानीमा सञ्चालन हुँदै आएको डोल्मा कम्पनीको मुख्य कार्यालय काठमाडौंमा रहेको छ । उक्त कम्पनीमा नेपाली एनआरएनहरुको लगानी रहेको जनाइएको छ । अब उक्त डोल्मा कम्पनीले राजनीतिक पहुँचका भरमा छिटै सेन्चुुरी ग्रुपका नामबाट आईपीओ जारी गराउने र सर्वसाधारणलाई सेयर बिक्री गरी आफ्नो लगानी हत्याउने प्रयासमा रहेको स्रोतको दाबी छ ।

दुगडले एक सय पाँच करोडमा आफ्नो कम्पनीको सेयर डोल्मा कम्पनीलाई बिक्री गरेपछि दिन दुना र रात चौगुनाले फड्को मार्ने योजनामा छन् । विगतमा केपी ओलीको सरकार विस्थापित भएसँगै ओरालो लाग्न थालेका उद्योगी मोतीलाल दुगडले विराटनगर बजारबाट मात्रै सरकारी काम सम्पन्न गरिदिने भन्दै उद्योगी तथा व्यवसायीहरुबाट करोडौँ रकम उठाएको दाबी पनि स्रोतले गरेको छ । अहिले फेरि केपी ओलीको सरकार गठन भएसँगै उद्योगी दुगडको चुरीफुरी निकै बढ्न थालेको स्थानीय उद्योगी तथा व्यवसायीको दाबी छ । स्रोतले दिएको जानकारीअनुसार विराटनगर बजारबाट मात्रै उद्योगी दुगडले व्यवसायी तथा उद्योगीसँग ठूलै रकम लिएर हिसाब मिलान नगरेको दाबी गर्न थालिएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x