Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास’

‘आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास’


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै उनले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ’, उनले भने । सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य नेपाल भएको उनले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य ठमेलभित्र रहेका व्यापारिक र अन्य चुनौतीलाई चिर्नका लागि परिषद् लाग्नुपर्ने उनले बताए । ठमेल पर्यटन गुरुयोजना र व्यावसायिक आचारसंहिताले ठमेललाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने अध्यक्ष दाहालले बताए । सफा सुरक्षित व्यवसायमैत्री ठमेल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

खरिद ऐनले विकासमा बाधा पुर्याएकाले यसलाई संशोधन गर्ने काम भइरहेको अध्यक्ष दाहालले बताए । ठमेलमा सक्षम, योग्य र दूरदर्शी नेतृत्व चुन्न उनले परिषद्का सदस्यहरुलाई आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले ठमेललाई गुनासोरहित रुपमा सञ्चालन गर्न परिषद्ले काम गर्नुपर्ने बताए । उनले पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा परिचत ठमेलभित्रको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउनुपर्ने उल्लेख गरे । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले देशको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासमा लाग्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल आउने ८० प्रतिशत विदेशी पाहुना ठमेल आउने भएकाले यसको नेपालको पर्यटन क्षेत्रमा ठूलो महत्व रहेको उल्लेख गरे । उनले वडा र स्थानीय सरकारसँगको सहकार्यमा ठमेललाई व्यवस्थित बनाउन वर्तमान कार्यसमितिले गरेको पहलप्रति धन्यवाद दिए । नेपाल सरकारले ठमेललाई प्राथमिकतामा राख्न नसकेको उनको भनाइ थियो । पर्यटन क्षेत्रको विकास गर्न सरकारले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले ठमेललाई व्यवस्थित बनाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । नेपाल पर्यटन बोर्ड नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा लाग्ने बताए ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र गर्न बाँकी रहेका काम आगामी दिनमा पूरा हुने विश्वास व्यक्त गरे । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकीय हबका रुपमा विकास गर्न परिषद्ले काम गर्दै आएको उल्लेख गरे । परिषद्को आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x