Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररसुवाबाहेक सबै जिल्लामा कोभिड–१९ सङ्क्रमण, सङ्क्रमितको संख्या साढे नौ हजार नाघ्यो

रसुवाबाहेक सबै जिल्लामा कोभिड–१९ सङ्क्रमण, सङ्क्रमितको संख्या साढे नौ हजार नाघ्यो


काठमाडौं, असार ९
नेपालमा एकै दिन पाँच सय ३५ जना कोरोना संक्रमितको संख्या थप हुँदा संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ । सोमबारसम्म देशका ७६ जिल्लामा कोरोना देखिएको छ । अब रसुवा जिल्लामा मात्र कोरोना संक्रमित देखिएका छैनन् । चीनसँग सीमाना जोडिए पनि लकडाउनको सुरुवातदेखि नै आवतजावतमा कडाइ गरिएको कारण रसुवामा कोरोना संक्रमित नदेखिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको जानकारी दिँदै रसुवा अहिलेसम्म कोरोनामुक्त जिल्ला भएको बताएका हुन् । सङ्क्रमितको सङ्ख्या नौ हजार ५ सय ६१ पुगेकोमध्ये आठ हजार ६ सय ६७ पुरुष र ८ सय ९४ महिला रहेका छन् ।

यसैगरी एक लाख ८१ हजार ३ सय ७१ जनामा पीसीआर र दुई लाख ६८ हजार १ सय ३ जनामा आरडीटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पीसीआर छ हजार १ सय ९८ र आरडीटी पाँच हजार ९ नौ सय २९ जनामा गरिएको छ । यस्तै ९० हजार ३ सय ७० जना क्वारेन्टाइन र सात हजार ७ सय ८९ जना आइसोलेसनमा रहेका छन् ।

यसैबीच, कोभिड– १९ बाट निको भएर घर फर्किने सङ्ख्या सोमबार अहिलेसम्मकै धेरै रहेको छ । एकैदिन ३ सय ७० जना घर फर्किएका छन् । तीमध्ये ३ सय ३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् । आइतबार मात्र १ सय ९४ जना डिस्चार्ज भएका थिए । सोमबार डिस्चार्ज भएर घर फर्किनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २ सय ६५ जना रहेका छन् । तीमध्ये १९ महिला र २ सय ४६ पुरुष रहेका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन् । अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x