Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिष्क्रिय कर्जा दुई खर्ब चार अर्ब

निष्क्रिय कर्जा दुई खर्ब चार अर्ब


बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा बढ्दै गएको छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा ऋणीले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् । यही कारण बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । गत जेठ मसान्तसम्म निष्क्रिय कर्जा तीन दशमलव ९८ प्रतिशत पुगेको छ । जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६२ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ५१ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये करिब चार प्रतिशत अर्थात् दुई खर्ब चार अर्ब ११ करोड रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ६४ प्रतिशत विन्दु अर्थात् ४१ अर्ब ९४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा औसत निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशत थियो ।

एक वर्षअघि बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ६८ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब रुपैयाँ थियो । त्यसबेला निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशत अर्थात् एक खर्ब ६२ अर्ब रुपैयाँ थियो । गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले ५५ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल प्रवाह भएको कर्जामध्ये तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७६ अर्ब रुपैयाँ निष्क्रिय कर्जा छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव ६६ प्रतिशत विन्दु अर्थात् ३७ अर्ब ४८ करोड रुपैयाँ बढी हो । एक वर्षअघि वाणिज्य बैंकहरूले ४९ खर्ब १० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४२ खर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला निष्क्रिय कर्जा तीन दशमलव २३ प्रतिशत अर्थात् एक खर्ब ३८ अर्ब रुपैयाँ थियो ।

विकास बैंकहरूले गत जेठ मसान्तसम्म पाँच खर्ब ९४ अर्ब रुपैयाँबराबरको निक्षेप सङ्कलन गरी चार खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जेठ मसान्तमा विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ६३ प्रतिशत अर्थात् १८ अर्ब छ करोड रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव २३ प्रतिशत अर्थात् दुई अर्ब २४ करोड रुपैयाँले बढी हो । गतवर्ष जेठमा विकास बैंकहरूको निक्षेप सङ्कलन पाँच खर्ब ४९ अर्ब रुपैयाँ र कर्जा प्रवाह चार खर्ब ६५ अर्ब रुपैयाँ थियो भने निष्क्रिय कर्जा तीन दशमलव ४० प्रतिशत अर्थात् १५ अर्ब ८१ करोड रुपैयाँ थियो ।फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा गत जेठमा १० दशमलव ४० प्रतिशत अर्थात् १० अर्ब २६ करोड रुपैयाँ छ । जेठसम्म फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब २६ अर्ब र कर्जा लगानी ९८ अर्ब ६९ करोड रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको यो निष्क्रिय कर्जा एक वर्षअघिको तुलनामा दुई दशमलव २१ प्रतिशत विन्दु अर्थात् दुई अर्ब ७० करोड रुपैयाँ बढी हो । एक वर्षअघि २०८० जेठमा फाइनान्स कम्पनीहरूको निक्षेप एक खर्ब नौ अर्ब रुपैयाँ र कर्जा लगानी ९२ अर्ब ३३ करोड रुपैयाँ थियो । त्यसबेला फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा आठ दशमलव १९ प्रतिशत अर्थात् सात अर्ब ५६ करोड रुपैयाँ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x