नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ फोटो प्रदर्शनी
काठमाडौं । नबिल बैंकले स्थापनाको ४० औँ वर्ष पुगेको अवसरमा दरबारमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ ।
गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले तस्बिर प्रदर्शनीले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । ‘तस्बिर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो’, उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’ उनले पछिल्लो चार दशकमा राजनीतिकरूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताए ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैंकसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्बिर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताए । उनले भने, ‘नबिल बैंकसँग नयाँ ढाँचाको व्यावसायिक साझेदारीबाट दोहोरो व्यावसायिक प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो, त्यसबाहेक समाजले पनि मुलुकमा भइरहेको विकासलाई तस्बिरमार्फत नजिकबाट अनुभव गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।’
प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनुअघि माइतीघरमा रहेका घर भत्काउँदैका तस्बिरदेखि ५० सालतिर काठमाडौंको भरपर्दो यातायातको साधन विक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्बिर राखिएको छ । साथै, २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्बिर पनि देख्न सकिन्छ । भारतले तत्कालीन समयमा २०४५ चैत १० गतेदेखि २०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो ।
त्यसैगरी, नेपाल वायुसेवा निगमले २०४३ सालमा खरिद गरेको गण्डकी नामक बोइङ ७५७मा पहिलो पटक यात्रुहरू अवतरण गर्ने क्रमको ऐतिहासिक तस्बिरसँगै २०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्बिर पनि प्रदर्शनीमा राखिएको छ । कुपन्डोलका अमृत खड्गी आइतबार दिउँसो दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालय परिसरमा जारी तस्बिर प्रदर्शनी अवलोकनपछि निकै खुसी देखिन्थे । कामको सिलसिलामा बैंक आएका उनले सोही अवसरमा प्रदर्शनीमा ऐतिहासिक तस्बिर हेर्न पाउँदा रमाइलो लागेको सुनाए । ‘तस्बिर हेरेपछि पछिल्लो ४० वर्षमा मुलुकले ठूलो विकास गरेको रहेछ भन्ने लाग्यो, विभिन्न क्षेत्रमा भएका विकासलाई एकै ठाउँमा हेर्न पाउँदा निकै खुसी लाग्यो’, उनले भने । प्रदर्शनीमा नबिल बैंकको इतिहास सुरुवाती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैंकको पुरानो कार्यालय भवन र ग्राहकहरूले सेवा लिँदै गरेको देख्न सकिन्छ ।
बैंकले देशभर दुई सय ६८ वटा शाखा कार्यालय, २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १६ वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया