Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशत बढ्ने आईएमएफको अनुमान

विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशत बढ्ने आईएमएफको अनुमान


वासिङटन डिसी । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले सन् २०२४मा विश्वको आर्थिक वृद्धि तीन दशमलव दुई प्रतिशत पुग्ने पूर्वानुमान गरेको छ । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा मुद्रास्फीति जोखिम र व्यापार तनावको स्थिति रहनसक्ने चेतवनी दिँदै विश्वको आर्थिक वृद्धि स्थिर राखेको हो ।

आईएमएफले वल्र्ड इकोनोमिक आउटलुक अपडेट सार्वजनिक गर्दै गत अप्रिलमा प्रक्षेपण गरेको आर्थिक वृद्धि अनुमानलाई नै निरन्तरता दिएको छ ।

विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर बलियो भएको र एसियाबाट प्रविधि क्षेत्रमा भएको बलियो निर्यातले व्यापारलाई प्रोत्साहित गरेको आईएमएफले उल्लेख गरेको छ । कोषले सन् २०२५ का लागि तीन दशमलव तीन प्रतिशतको विश्वव्यापी वृद्धिको अपेक्षा गरेको छ ।

आईएमएफले विश्वका धेरै मुलुकको आर्थिक वृद्धि राम्रो भइरहेको देखिएकोे भए पनि जापान र अमेरिकामा आश्चर्यजनक देखिएको उल्लेख गरेको छ । वासिङ्टन–आधारित आईएमएफले मुद्रास्फीतिको माथिल्लो जोखिम बढेको र सेवाहरूको मूल्यले अपस्फीति रोकिएको भन्दै सचेत गराएको छ । यसबाट बढ्दो व्यापार तनाव र बढ्दो नीतिगत अनिश्चितताका सन्दर्भमा ब्याजदरहरू लामो समयसम्म उच्च रहने सम्भावनालाई बढाएको छ ।

आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले चिन्ताको क्षेत्र भनेको व्यापार र औद्योगिक नीति रहेको भन्दै देशहरूले सम्भावितरूपमा विश्वव्यापी अर्थतन्त्रको एकीकरणलाई असर गर्ने उपायहरू अपनाइरहेको बताए ।

नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासपछि जोखिम मूल्याङ्कन परिवर्तन भएको छ कि भन्ने प्रश्नमा गौरिन्चसले कोषले यसको प्रभावलाई विचार गर्ने उल्लेख गरेका छन् ।

विश्व विकास स्थिर प्रतीत भएका बेला आईएमएफले अमेरिका र जापानका लागि अनुमानलाई कम गरेको छ । कोषले भनेको छ, ‘वर्षको अपेक्षाबाट सुस्त सुरुआतका कारण सन् २०२४ मा अमेरिका विकासदरलाई घटाएर दुई दशमलव छ प्रतिशत बनाइएको छ, यो अप्रिलको पूर्वानुमानभन्दा शून्य दशमलव एक प्रतिशत अङ्क कम हो ।

जापानको अर्थतन्त्रमा यस वर्ष अपेक्षाभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्क कम अर्थात् शून्य दशमलव सात प्रतिशतले आर्थिक वृद्धि भएको देखिएको छ । यसको मुख्य कारण अस्थायी आपूर्तिमा अवरोध र पहिलो त्रैमासिकमा कमजोर निजी लगानी थियो । यसैबीच युरो क्षेत्रमा अपेक्षाकृत मजबुत सेवा गतिविधिका साथ सुधारको सङ्केत देखिए पनि निर्माण क्षेत्रमा कमजोरी देखिएको गौरिन्चसले बताए ।

चीन र भारतले एसियामा गतिविधि बढ्ने अपेक्षा गरिएको छ । चीनको सन् २०२४ प्रक्षेपणमा निजी खपतमा उछाल र बलियो निर्यातमा पाँच प्रतिशतसम्म परिमार्जन गरिएको छ । यसैबीच भारत उपभोगका लागि राम्रो सम्भावनाहरूमा आंशिकरूपमा सात प्रतिशत वृद्धि गर्न सक्नेछ ।

घरेलु माग कमजोर भएको अवस्थामा चीन बाह्य क्षेत्रमा बढी भर पर्नेछ । यो अवस्था हो जसका विरुद्ध संयुक्त राज्य अमेरिकाजस्ता देशहरूले पछि हटिरहेका छन् । आईएमएफले नयाँ शिराबाट व्यापार वा भू–राजनीतिक तनावका बीच टाँसिने मुद्रास्फीतिको जोखिम पनि रहने चेतावनी दिएको छ । यद्यपि यसले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा लक्ष्यमा फर्किने अपेक्षा गरेको छ ।

आईएमएफले व्यापार तनाव बढ्दा आयातित वस्तुहरूको लागत बढेर निकट अवधिमा मुद्रास्फीतिको जोखिम पनि बढ्नसक्ने बताएको छ । कोषले सावधानीपूर्वक मौद्रिक नीति समायोजन गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x