Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयलास भेटिँदा खुसी हुनुपर्ने दुःखद् अवस्था !

लास भेटिँदा खुसी हुनुपर्ने दुःखद् अवस्था !


काठमाडौं । गएको शुक्रबार चितवनको सिमलताल पहिरोमा परेर त्रिशुलीको भेलमा बगेका दुई वटा बसमा सवार बेपत्ता भएका करिब ७० जना यात्रुमध्ये बिहीबारसम्म एकतिहाइको पनि लास भेटिएकोे छैन । बिहीबार रातिसम्म बीस जनाको मात्र लास भेटिएको छ । तीमध्ये सबैको पहिचान पनि हुन सकेको छैन । लासको त कुरै छाडौँ ५०/६० जना बोक्ने त्यति ठूलाठूला दुई बस नै भेटिएको छैन । झण्डै चार सयको हाराहारीमा गोताखोरहरू उर्लिँदो नदीमा हेलिएकोहेलियै छन् । तर पनि न बस नै भेटिए र न जीवित मानिस वा मृत भएको भए तिनको लास पनि भेटिएन । भेटिएका लासहरू पनि धेरै टाढा भेटिएका छन् । कतिपय अवस्थामा सर्वसाधारणले प्रहरीलाई खबर गरेको आधारमा प्रहरीले भेटेको छ । बस र बेपत्ता यात्रुको खोजी कार्य गएको शुक्रबारबाटै भएको हो । त्यसदिन राति दुई/तीन बजेको आसपासमा यी बस त्रिशुलीमा खसेको भन्ने रिपोर्ट आएका थिए  । त्यसकारण पनि त्यस दिन बिहानैदेखि खोजी कार्य थालिएको प्रहरीको भनाइ छ । बेपत्ताका आफन्तहरू शनिबार बिहानैदेखि त्यस क्षेत्रमा भेला हुन थालेका थिए । अहिले त उनीहरू लास पाए पनि हुन्थ्यो बरु भन्ने अवस्थामा पुगिसकेका छन् । अर्थात् उनीहरूले अब आफन्त जीवितै भेटिने आस गर्न छाडिसके । यसले राजधानीको लाइफलाइन मानिएको राजमार्ग कति दुरुह रहेछ भन्ने बुझाउँछ ।

काठमाडौंबाट गौरका लागि र वीरगञ्जबाट काठमाडौंका लागि छुटेका दुई वटा एकै ठाउँमा पहिरोमा परी बेपत्ता भएका थिए । यता र उता पार गर्ने अवस्था नहुँदा केही क्षण सिमलतालको त्यो ठाउँमा रोकिएको अवस्थामा सो दुर्घटना भएको थियो । प्रत्यक्षदर्शीका अनुसार यी दुई वटै बस दुर्घटनामा पर्नुमा चालकहरूको प्रतिस्पर्धा पनि मुख्य कारण रहेको छ । बगेका बसका चालक पनि बेपत्ता नै छन् । तीन जना यात्रुले भने पौडिएर ज्यान जोगाए । दुवै बसका चालक र उनका सहयोगी समेत बेपत्ता भएको अवस्थाले घटना कति भयावह थियो भन्ने बुझाउँछ । प्रहरीले दिएको जानकारी अनुसार सिमलतालमा हिलोसहितको पहिरो शुक्रबार रातिदेखि नै आएको थियो । यसले बाटो पनि अवरुद्ध भइरहेको थियो । राति १ बजे मात्रै बाटो खुलाएर डोजर फर्किएको थियो । एकजना चालकका अनुसार यसैबेला हराइरहेका दुवै बसका चालकहरूले त्यही बाटोमा एक अर्कोलाई पालो नदिई आ–आफैैँले बाटो पार गर्न खोजेका थिए । ती चालकका भनाइअनुसार उनी एन्जल बसको पछाडि थिए । उनको गाडीलाई एन्जल बसका चालकले ओभरटेक गरेर अघि पुगेको थियो । उनी पछि परेका थिए । तर पहिरो आएको ठाउँमा काठमाडौंबाट आएको गाडी र एन्जल बस दोहोरो भेट भयो । दुवै पास हुन सकेनन् । त्यहीबेला जालीमा भरिएको पानी र लेदो फुटेर दुवै बस बगाएको हो ।

यो विवरण यहाँ उल्लेख हुनुको कारण के हो भने चालकहरू सर्तक भए र उछिनापाछिनको होडलाई त्यागे भने सम्भावित दुर्घटनाबाट जोगिने सम्भावना धेरै हुन्छ । कम्तीमा सिमलतालको यो अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना चालकको अस्वस्थ प्रतिस्पर्धाका कारण उब्जिएको भन्ने त यी चालकको भनाइले नै बुझाउँछ । जोखिमयुक्त बाटोमा यस्तो प्रतिस्पर्धालाई रोक्न प्रहरीले विशेष पहल गर्नुपर्ने देखिन्छ । हराइरहेका दुवै बस र त्यसका यात्रु हप्ता दिन पुग्नलाग्दा पनि फेला नपरेपछि बाह्य सहयोग खोजिएको अवस्था देखियो । अहिले बंगलादेश र भारतसँगको सहयोगमा थप गोताखोर तथा प्रविधि ल्याइयो । तर यसो गर्न ढिला भएको छ । त्यसकारण पनि बेपत्ताका परिवारजनले लास पाए हुन्थ्यो भनेर दुःखद् प्रतिक्रिया दिइरहेको अवस्था देखियो । नेपालसँग पानीभित्रको आकृति देखिने प्रविधि र विज्ञ टोली नभएको भन्ने बुझाइ ढिलोगरी भएको छ । तत्काल गर्नुपर्ने उद्धारका लागि यस्तो ढिलाइ पनि दुःखद् पक्ष जनाउने कुरा नै हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x