Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतीन स्टार्टअपलाई जनही एक लाख रुपैयाँ अनुदान

तीन स्टार्टअपलाई जनही एक लाख रुपैयाँ अनुदान


काठमाडौं । युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ काठमाडौंमा सम्पन्न भएको छ ।

सो प्रतियोगितामा उत्कृष्ट भएका तीन स्टार्टअपलाई जनही एक लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको थियो । विजेता स्टार्टअपहरू सतत्व फुड प्रोडक्ट्स, टावरगानिक्स नेपाल र ज्योति हेल्थी स्न्याक्स रहेका छन् । यी तीन संस्थाहरू अन्तिम आठ समूहमा छनौट भएका स्टार्टअपहरूले गरेको प्रस्तुतिको आधारमा छनौट भएका थिए । छनौटकर्तामा पहाडी फुड्सका सह–संस्थापक सञ्जय काफ्ले, खेतीपातीका संस्थापक प्रकृति गौतम, एफएओ नेपालका कार्यक्रम विशेषज्ञ अरुण जीसी र यूएनडीपी नेपालका कार्यक्रम प्रबन्धक (वातावरण तथा अनुकूलता) प्रज्ञाजन यलम्बर राई रहेका थिए ।

युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा उद्यमीको सहभागिता रहेको थियो । युवा कृषि उद्यमीलाई कृषि र खाद्य प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउन सहयोग गर्ने उद्देश्यका साथ आयोजित बुटक्याम्प तीन दिनसम्म सञ्चालन भएको थियो । युवा कृषि नवप्रवर्तन प्रतियोगिताका लागि कुल ५८ आवेदनहरूमध्ये २१ कृषिमा आधारित स्टार्टअप प्रतिनिधित्व गर्दै ३८ उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी सहभागीले कृषि तथा प्रविधि, खाद्य प्रणालीदेखि व्यवसाय योजना र अन्य महत्वपूर्ण सवालमा छलफल गरेका थिए ।

प्रतियोगितामा नेपालका सातै प्रदेशका १८–३० उमेर समूहका युवा नवप्रवर्तक एकै ठाउँमा भेला हुँदै कृषि, जैविक मल, कृषि–प्रविधि र नेपाली मौलिक उत्पादनसँग जोडिएका नवप्रवर्तनहरू प्रदर्शनीमा राखिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x