Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगक्रान्तिका लागि बीपीको ‘ज्यानै फाल्ने’ २९ दिने अनसन

क्रान्तिका लागि बीपीको ‘ज्यानै फाल्ने’ २९ दिने अनसन


काठमाडौं । सात सालको क्रान्ति हुनुअघि बीपी राणा शासनको जेलमा २९औँ दिन आमरण अनसन बस्नुभएको एउटा अध्याय आउँछ । २९ दिनसम्म केही नखाएर भोकै बस्नु भनेको एक प्रकारले ज्यान फालेरै लाग्नु हो । बीपी जीवनीको यो अध्यायबाट के शिक्षा मिल्छ भने ज्यान फालेर नलागि कुनै क्रान्ति हुँदैन । क्रान्तिको तयारीकै सन्दर्भमा बीपी राणाका जेलमा पुग्नुभएको थियो । बीपीको ‘अनसन अध्याय’ २००५ सालको हो ।

१५ कात्तिक २००३ सालमा सुब्बा देवी प्रसाद सापकोटा सभापतित्वको ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ खुलेको तीन महिना पूरा नहुँदै त्यो पार्टीको नामबाट ‘अखिल भारतीय’ हटाएर ‘नेपाली राष्ट्रिय कांग्रेस’ नामाकरण भयो । यस बखतसम्म बीपी आफैं तीन महिनाका अवधिमा दार्जिलिङ, कलकत्ता, लखनउ, बनारस, दिल्ली, बम्बैसम्म पुगेर धेरै नेपालीहरूसँग भेट गरिसक्नुभएको थियो । यस भेटघाट क्रममा गणेशमान सिंह, रामहरि जोशी, गोविन्दप्रसाद लोहनी, काशीराज उपाध्याय, डिल्लीरमण रेग्मीजस्ता धेरै नयाँ साथीहरू भेट हुनुभएको थियो । १२ माघ २००३ साल कलकत्तामा नयाँ भेटिएका सबै साथीहरू सम्मिलित एउटा अधिवेशन डाकियो । गणेशमानजीहरूले सल्लाह गर्नुभयो ‘पार्टीको नामबाट अखिल भारतीय शब्द हटाइदिउँ’ । बीपीले ‘हुन्छ’ भन्नुभयो । मान्नुभयो ।

त्यसपछि काठमाडौंको राणा जेलमा रहनुभएका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति बनाएर नेपाली राष्ट्रिय कांग्रेसको प्रथम केन्द्रीय समिति बन्यो । कार्यवाहक सभापति बीपी आफैँ बन्नुभयो । संगठन मन्त्री कृष्णप्रसाद भट्टराई हुनुभयो । गणेशमान सिंह त्यस प्रथम कमिटीमा सदस्य मात्र रहनुभएको थियो ।

बीपीलाई यो सबै दार्जिलिङदेखि बम्बैसम्म दौडेर संगठन शक्ति बढाउन डा राममनोहर लोहियाले सिकाउनुभएको थियो । त्यसैकारण नै २००७ सालको नेपाली क्रान्तिमा लोहियाको संलग्नता प्रत्यक्षजस्तै रहेको व्याख्या आउने गरेको हो । त्यसपछि लोहियाले बीपीलाई भन्नुभयो– ‘भारतमा यसरी संगठित भएको भरमा राजनीतिक शक्ति वृद्धि हुन्न । त्यसका लागि तपाईंले नेपालभित्रै जानुपर्छ र किसान आन्दोलन, मजदुर आन्दोलन उठाउनुपर्छ ।’

लोहियाको सल्लाह बीपीलाई उचित लाग्यो । उहाँले नेपाल आएर इतिहासमा बहुचर्चित ‘विराटनगर मजदुर आन्दोलन’ उठाउनुभयो । महात्मा गान्धीको ‘वन्दे मातरम्’बाट सिको लिएर बीपीले प्रथम पटक ‘जय नेपाल’ सम्बोधनबाट मजदुर आन्दोलनको उद्घोष गर्नुभएको इतिहासमा वर्णन आउँछ । यही मजदुर आन्दोलनकै क्रममा गिरफ्तार भएर बीपी काठमाडौं राणा जेल पु¥याइनुभएको थियो । यस गिरफ्तारीमा गिरिजाप्रसादलगायत कोइराला परिवारका सबै सदस्य र भेट्रान कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि पर्नुभएको थियो । त्यस बखत श्री ३ पद्मशमशेर प्रधानमन्त्री थिए । उनी अलिक उदार प्रकृतिका भएकाले त्यहाँबाट छुटेर बम्बै पुगेर क्यान्सरको उपचार गराउनुभयो । यसै बखत बीपीलाई पहिलो पटक क्यान्सरले घाँटीमा समातेको थाहा लागेको भन्ने पनि विवरण आउँछ । क्यान्सरको उपचारपछि उहाँ फेरि दोस्रोपटक राणा जेल पुग्नुभयो । यो पटक निस्कन भने बीपीलाई २९ दिन अनसन बस्नु पर्यो । यो पटक अलिक उदार प्रकृतिका पद्मशमशेर लखेटिएर मोहनशमशेर प्रधानमन्त्रीमा आसिन थिए ।

यो पटकको बीपीको गिरफ्तारी अलिकति रोमाञ्चक र दुस्साहसी प्रकृतिको थियो । त्यसैकारण रिहाई हुन ज्यान फालेरै संघर्ष गर्नुपर्यो । भयो के भने क्रान्तिको सुरुवात गर्नुअघि एकपटक राजधानीको आफैँले नाडी छाम्ने विचार लिनुभयो । केदारमान व्यथितलाई भैंसी व्यापारी, आफूलाई कर्मकाण्डी टपरे पुरेत बाजे र कृष्णप्रसाद भट्टराईलाई आफ्नो सहयोगी बाहुनबाजेको भेष धारण गरेर सिन्धुली भीमानको ठेगाना बताउँदै उपत्यका काठमाडौं प्रवेश गर्नुभयो । त्यस यात्राको क्रममा बाटोमा परेका प्रहरी चौकीलाई छलेका र राजनीतिक भेटघाटका क्रममा झेलेका दश थरीका रोचक कामलाग्ने वर्णनहरू पनि आउँछन् । जस्तो एक ठाउँमा बीपीले भन्नुभएको छ– ‘काठमाडौंका सम्भ्रान्त नेवारहरूको घरमा बैठक कक्ष त एकदम साफ सुग्घर राखेर सजाएको भेटिन्छन्, तर चर्पी भने एकदम फोहोर गन्हाउने । मलाई काठमाडौं बस्दाका ती दिनमा सबैभन्दा ठूलो कष्ट र सकस दिसापिसाब फेर्नमै भयो’ बीपीको यो कथन काठमाडौंको समाजशास्त्रीय अध्ययनका लागि एउटा सुत्रजस्तो काम लाग्ने खालको छ । ‘खान जान्ने मलमूत्र व्यवस्थापन गर्न नजान्ने’ बीपीले काठमाडौंलाई भनेको एउटा साहित्यिक अभिव्यक्ति हो । लुक्दै छिप्दै अब बनारस फर्किने सल्लाह गर्दागर्दै कृष्णप्रसाद, केदारमान भाग्न सफल पनि भए । तर बीपी समातिनुभयो ।

बीपी थुनिएपछि उहाँलाई कसरी राखिएको थियो भन्ने वर्णन डा सूर्यमणि अधिकारी लिखित ‘नेपाली कांग्रेसको इतिहास’ (प्रकाशन भुँडी पुराण–२०५१) नामक पुस्तकमा संक्षिप्त विवरण आएको छ– ‘बीपीलाई एक्लै छुट्टै कोठामा थुनिएको थियो । त्यो कोठा सात फिट लम्बाई र छ फिट चौडाइ (एउटा ठूलो पलङ्गजत्तिकै) को थियो । कहिल्यै घाम छिर्न पाउँदैन थियो । खाना बनाउने, सुत्ने, भाँडा माझ्ने आदि त्यसैमा गर्नुपर्दथ्यो । चार पैसाको चामल, एक पैसा नगद र एक चिम्टी नुन दैनिक सिधा दिइन्थ्यो ।’ पुस्तकमा वर्णित उल्लेखित हरफबाट बीपी कति कष्टकर जेलमा पर्नुभएको अनुमान लगाउन सकिन्छ ।

यो अध्यायमा स्वयं बीपीले ‘आत्मवृतान्त’मा गर्नुभएको वर्णन झन् मर्मस्पर्शी छ । ‘त्यसपछि जेलरले मलाई थुनामा राख्ने ठाउँमा लिएर गयो । त्यहाँ बत्ति छैन । धुवाँले भरिएको एउटा लालटिन छ । त्यसले एउटा क्षीण प्रकाश दिन्छ । म कहाँ आएँ, मलाई नै थाहा छैन । काठको एउटा चौकी छ । भर्खरैको हरियो काठको पानी चुहिएलाजस्तो छ, त्यो चौकी । कोठाको आधार भित्तासम्म निलो काई जमेको छ । त्यसको चिसोले त्योचाहिँ म देख्छु । माथिपट्टिको छत छोइएलाजस्तो छ र भर्खर बनाएको हुनाले सिमेन्टहरू चिसै छन् । भित्तातिर चिसो ड्याम छ । त्यहाँ मेरो राडी ओछ्याइएको छ । जेलरले आएर भन्यो ‘यहाँ हो तपाइँ बस्ने घर । डेढ माना चामल, एक पैसा र तीन वटा रातो खुसार्नी, अलिकति नुन र दुई मुठा साग सरकारले दिन्छ । पकाएर खाने ।’

कोठाको कुनामा एउटा प्वाल थियो । फलामको पाइप थियो, अलि तेर्सो पारेर राखेको दिसापिसाब त्यहीँ गर्ने भन्यो । जेलको जमदार्नीको दिसाजाने लोटा, अल्म्युनियमको कुच्चिएको र कुच्चिएको ठाउँमा साफ नभएर पहेँलापहेँला दाग भएको, त्यसैमा पकाएर खानुपर्यो ।

बीपीले भन्नुभएको जमदार्नीले दिसा धुने गरेको सिल्भरको भाँडोमा भात पकाएर खानुपरेको माथि उल्लेखित वर्णनले नेपाली साहित्य अवश्य धनी भएको छ ।

यसरी बीपीको २९ दिनको मरणासन्न अनसनपछि जेल रिहाइ सम्भव भयो । त्यसमा बीपीकी आमा दिव्या कोइरालाले मोहन शमशेरलाई दिएको जवाफको सन्दर्भ नेपाली नारीको सम्मान बढाउने खालको छ ।

मोहनशमशेर प्रधानमन्त्रीले दिव्या कोइरालालाई बोलाएर भने– ‘तिम्रो छोरो केही नखाएर जेलमा मर्दैछ । छिटो जाउ र केही खुवाएर बचाऊ ।’

‘मैले निरंकुश राणा शासनको जेलबाटै आफ्नो पतिको मृत्यु हुँदा यहीँ पशुपति आर्यघाटमा दागबत्ती गराएकी थिएँ । त्यसैगरी छोराको पनि यसै आर्यघाटमा दागबत्ती गर्न पर्खेर बसेकी छु ।’ दिव्या कोइरालाको यस्तो जवाफ पाएपछि मोहन शमशेर तिलमिलाएका थिए । यहाँ यस्तै चलिरहेको थियो । उता दिल्लीमा डा राममनोहर लोहियाले नेपाली दूतावास घेर्ने, महात्मा गान्धी, प्रधानमन्त्री जवाहरलाल नेहरूको दबाब मोहन शमशेरसम्म पुर्याउने निर्णायक काम गर्नुभयो । प्रधानमन्त्री जवाहरलाल नेहरूले हकारेपछि मोहनशमशेर डराउनु स्वाभाविक थियो । गान्धी र नेहरूको दबाबमा बीपी छुटेपछि अनसन तोडियो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x