Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशपोखरालाई चौबीसै घण्टा खुला गर्ने घोषणा कार्यान्वयनमा आउन सकेन

पोखरालाई चौबीसै घण्टा खुला गर्ने घोषणा कार्यान्वयनमा आउन सकेन


पोखरा । पोखरालाई चौबीसै घण्टा खुला गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको छैन । पोखरालाई चौबीसै घण्टा खुला गर्ने नीति कार्यान्वयन नभएकोमा व्यवसायी र स्थानीय प्रशासन एक अर्कालाई दोषारोपण गरेर बसेका छन् ।

व्यवसायीहरूले स्थानीय प्रशासन र प्रशासनले व्यवसायीहरू तयार नहुँदा पोखरालाई चौबीसै घण्टा खुला गर्ने विषय अलपत्र परेको दाबी गर्ने गरेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले पोखरा चौबीसै घण्टा खुलाउन व्यवसायी नै तयार नभएको बताए । उनले भने, ‘पर्यटनको राजधानी घोषणा गर्दै गर्दा पोखराका केही स्थान चौबीसै घण्टा खुला गर्ने भन्ने पनि घोषणा थियो । यसका पनि केही कार्यविधि र मापदण्ड हुन्छन् । कार्यविधि र मापदण्ड मान्न व्यवसायी नै तयार छैनन् ।’ चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न एउटा मापदण्ड फाराम भर्नुपर्नेमा सो फाराम भर्न व्यवसायीले नै आनाकानी गरिरहेको सहायक प्रजिअ क्षत्रीले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोख्रेलले पोखरालाई चौबीसै घण्टा खुला गर्न कुनै समस्या नभएको जिकिर गरे । पर्यटकको यथार्थ तथ्याङ्क राख्न व्यवसायी तयार भए पोखरा तत्कालै चौबीसै घण्टा खुला हुने उनले स्पष्ट पारे । राज्यको नीतिनियम पूर्ण पालना गरेर व्यवसाय सञ्चालन गर्न व्यवसायी तयार भए कुनै समस्या नहुने भन्दै उनले होटलको ग्रेडिङअनुसार एकरूपता हुनुपर्नेमा जोड दिए । पर्यटन व्यवसायीहले पनि पोखरा चौबीसै घण्टा खुला गर्नुपर्नेमा जोड दिएका छन् । होटल प्रतिनिधि समाजको २५औँ साधारणसभामा व्यवसायीले पर्यटनको राजधानी घोषणा गर्दै गर्दा पोखरालाई चौबीसै घण्टा खुला गर्ने घोषणा गरिएको भए पनि स्थानीय प्रशासनको असहयोगले त्यो कार्यान्वयनमा आउन नसकेको गुनासो गरे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले सबैले सहयोग गर्ने हो भने पोखरामा २० लाख पर्यटक भित्र्याउन कुनै कठिनाइ नहुने स्पष्ट पारे । पर्यटनमार्फत नै पर्यटकीय राजधानी पोखरा समृद्ध बन्ने भन्दै उनले पोखरा चौबीसै घण्टा खुला गर्नुपर्नेमा जोड दिए । विशेषगरी पोखरा आउने राजमार्गका कारण पर्यटक अन्यत्रै जाने गरेको उल्लेख गर्दै उनले राजमार्गहरू छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न दबाब दिइरहेको बताए । यस्तै, उनले सबैभन्दा पहिला पोखरा–दिल्ली उडान सुचारु गर्नुपर्ने खाँचो औँल्याए । अरू केही नसकिए पनि नेपाल वायु सेवा निगमको जहाजले यसको थालनी गर्नुपर्नेमा उनले जोड दिए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई चौबीसै घण्टा खुला गरेर राति १ बजे हवाईमार्ग हुँदै पोखरा भित्रिने पर्यटकले सुरक्षित महसुससहित खान र बस्न पाउनुपर्नेमा जोड दिए । उनले पर्यटकको जिउधनको सुरक्षाका लागि समाजसँग होटल संघले सहकार्य गर्ने प्रतिबद्धता जनाए । नाटा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले पोखरा आउने पर्यटकको सेवा र सुविधामा ध्यान दिन सकिए मात्रै पोखरा पर्यटनको राजधानी भएको सिद्ध हुने बताए । उनले पर्यटनको राजधानी पोखरालाई परिस्कृत सहरको रूपमा विकास गर्नुपर्ने र यसमा सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिरहँदा लेकसाइडलाई चौबीसै घण्टा खुला गर्ने घोषणा गरिएको भए पनि कार्यान्वयनमा आउन नसकेको बताए । उनले तुरुन्त कार्यविधि बनाएर लेकसाइलाई चौबीसै घण्टा खुला गर्ने वातावरण मिलाउन आग्रह गरे । साथै, पोखरा–भारत सिधा हवाई उडान सुचारू गर्नुपर्नेमा उनले जोड दिए । होटल प्रतिनिधि समाजका अध्यक्ष माधव लम्सालले पोखरामा पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ पोखरा’ अभियान सञ्चालन गर्ने बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x