सरकारले लगानी परिचालन गर्न नसक्दा अति आवश्यक दैनिक उपभोग्य सामग्री समेत आयात गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ कृषि प्रधान मुलुक भने पनि जमिनमा लगानी गर्न नसक्दा जमिन बाँझो रहने र उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्था छ । लगानी परिचालन नहुदाँ कृषि तथा औद्योगिक उत्पादनमा वृद्धि हुन सकेको छैन भने निर्यात व्यापार भन्दा आयात व्यापार उच्च हुँदा नेपालले वैदेशिक व्यापारमा घाटा ब्यहोर्दै आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप गत आर्थिक वर्ष २०८०÷८१ मा मुलुकको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा शून्य दशमलव ९६ प्रतिशतले कम हो । उक्त वर्ष व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षको व्यापार घाटालाई हेर्दा सोहि वर्षमा सरकारको आम्दानी भन्दा बढी व्यापार घाटा रहेको देखिन्छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक समृद्धि र परिवर्तन हुन्छ भन्नु सत्यता भन्दा बढी हल्ला मात्र हो भन्न सकिने विज्ञहरूको तर्क छ । गत आर्थिक वर्ष २०८०÷८१ मा सरकारको राजस्व आम्दानी १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ छ । समीक्षा अवधिमा आयात एक दशमलव १६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको हुँदा आर्थिक वर्ष २०७९÷८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको थियो । समीक्षा अवधिमा निर्यात तीन दशमलव शून्य तीन प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०÷८१ मा निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको रहँदा आर्थिक वर्ष २०७९÷८० मा एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबर थियो ।
समीक्षा अवधिमा नेपालले एक सय ७३ वटा मुलुकसँग व्यापार गर्दा एक सय ३८ वटा मुलुकसँग व्यापार घाटा व्यहोरेको छ । बाँकी ३५ वटा मुलुकसँगको व्यापारमा नाफा कमाएको छ । नेपालले सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, संयुक्त अरब इमिरेटस् (युएइ), यक्रेन, मलेसिया, अष्ट्रेलिया, अर्जेन्टिना लगायतका मुलुकसँग छ । समीक्षा अवधिमा भारतसँग आठ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ, चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ, युएइसँग २६ अर्ब ५० करोड रुपैयाँ, युक्रेनसँग १८ अर्ब ८८ करोड रुपैयाँ र मलेसियासँग १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतसँग नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको आयात हुदाँ निर्यात एक खर्ब तीन अर्ब १७ करोड रुपैयाँको रहेको छ । चीन सँग दुई खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँको आयात हुदाँ निर्यात दुई अर्ब ५८ करोड रुपैयाँ छ । युएइसँग २९ अर्ब आठ करोड रुपैयाँको आयात हुदाँ दुई अर्ब ५७ करोड रुपैयाँको निर्यात रहेको छ भने मलेसियासँग १७ अर्ब ९१ करोड रुपैयाँको आयात हुदाँ निर्यात २४ करोड चार लाख रुपैयाँमा सिमित रहेको छ ।
नेपालको सबैभन्दा उच्च व्यापार नाफा डेनमार्कसँग छ । त्यसपछि अफगानिस्तान, नर्वे, स्वीडेन, मौरीटानिया, लटिभा र आइसल्याण्ड लगायतका मुलुकसँग नाफा छ । डेनमार्कसँग ४६ करोड ७५ लाख रुपैयाँ, अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ, नर्वेसँग १५ करोड ३३ लाख रुपैयाँ र स्वीडेनसँग तीन करोड २४ लाख रुपैयाँ नाफाको व्यापार छ । डेनमार्कसँग ८२ करोड २१ लाख रुपैयाँँको निर्यात हुदाँ ३५ करोड ४५ लाख रुपैयाँको आयात रहेको छ । अफगानिस्तानसँग ४९ करोड ३६ लाख रुपैयाँको निर्यात हुदाँ दुई करोड ७६ लाख रुपैयाँको आयात छ । नर्वेसँग २० करोड ५० लाख रुपैयाँको निर्यात हुदाँ आयात पाँच करोड १७ लाख रुपैयाँको भएको छ ।
साढे २ खर्बको पेट्रोलियम पदार्थ आयात
गत आर्थिक वर्षमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागका अनुसार दुई खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा सबभैन्दा बढी डिजेल एक खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँ, पेट्रोल ६८ अर्ब १० करोड २० लाख रुपैयाँ र खाना पकाउने ग्यास (एलपीजी) ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । त्यसपछि फलाम तथा स्टीलजन्य सामग्री ७३ अर्ब ६० करोड ६६ लाख रुपैयाँ, स्मार्टफोन २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ, सुन २३ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ, हवाई इन्धन २० अर्ब ७८ करोड रुपैयाँ, विद्युतीय सवारी साधन (५१ किलोवाट देखि १०० किलोवाटका) १९ अर्ब ६७ करोड रुपैयाँ, कच्चा भटमास १३ अर्ब ८४ करोड रुपैयाँ र कच्चा पाम १० अर्ब ५९ करोड रुपैयाँको आयात गरिएको छ ।
१० अर्बको गलैचा“ निर्यात
समीक्षा अवधिमा सबैभन्दा बढी निर्यात गलैँचा, अलैचीँ, फलाम तथा स्टीलजन्य सामग्री, जुस लगायतका सामग्री भएको छ । गलैंचा १० अर्ब ५७ करोड रुपैयाँ, अलैचीँ सात अर्ब ९३ करोड ८१ लाख रुपैयाँ, फलाम तथा स्टीलजन्य सामग्री छ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ, जुस छ अर्ब २३ करोड ७८ लाख रुपैयाँ, पाम तेल पाँच अर्ब ६२ करोड रुपैयाँ, यार्न आठ अर्ब २३ करोड ९६ लाख रुपैयाँ, चिया तीन अर्ब ३४ करोड १८ लाख रुपैयाँ कुकुर र बिरालाका आहारा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ ।
१७ खर्बको वैदेशिक व्यापार
आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा व्यापार घाटा, आयात, निर्यात र वैदेशिक व्यापारमा कमी आएको विभागको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा वैदेशिक व्यापार एक दशमलव ३३ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ रहँदा आर्थिक वर्ष २०७९÷८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा वैदेशिक व्यापारमा आायातको हिस्सा ९१ दशमलव २७ प्रतिशत, निर्यातको हिस्सा आठ दशमलव ७३ प्रतिशत हुदाँ कुल आयात÷निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत छ ।
सरकारले उत्पादन बढाउने काम गर्न गर्न नसक्दा उच्च आयातको स्थिति छ भने आयातमार्फत् राजस्व संकलनको लक्ष्य राखेको पाइन्छ । सरकारले आफनो आम्दानीको स्रोत नै आयात राजस्व माथि निर्भर हुदाँ आयात व्यापार उच्च रहेको पाइन्छ । समीक्षा अवधिमा चार खर्ब २० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट राजस्व उठाइएको छ, जसमा डिजेलबाट ५६ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ, पेट्रोलबाट ३९ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ, एलपी ग्यासबाट १० अर्ब ३७ करोड ४९ लाख रुपैयाँ र विद्युतीय सवारी साधनबाट नौ अर्ब १९ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया